साढे ४६ अर्ब आन्तरिक ऋण उठाइने

काठमाडौं । माघ मसान्त भित्र सरकारले ४६ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सोही कार्यको लागि नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो । राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत माघ मसान्त सम्म १७ अर्ब र विकास ऋणपत्र मार्फत २९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । आगामी १० माघमा २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, १७ मागमा ९१ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपैयाँ र आगामी २४ माघमा ९१ ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ गरी कुल १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

तेस्रो त्रैमासीक अवधिमा राष्ट्र बैंकले ट्रेजरी बिलबाट ४४ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा फागुनमा १२ अर्ब र चैतमा १५ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरी रहेको छ । त्यसैगरी, राष्ट्र बैंकले आगामी ११ माघमा जारी गर्ने २ वर्षे विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ र २५ माघमा जारी गर्ने २ वर्षे विकास ऋणपत्रबाट ९ अर्ब ५० करोड रुपैयाँ र १७ माघमा जारी गर्ने ४ वर्षे विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ गरी कुल २९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ ।

तेस्रो त्रैमासमा विकास ऋणपत्रबाट कुल ५४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा बाँकी २५ अर्ब रुपैयाँ फागुनमा उठाउने तयारी गरिएको छ । आगामी ४ फागुनमा जारी गर्ने ४ वर्षे विकास ऋणपत्रमार्फत १५ अर्ब रुपैयाँ र ११ फागुनमा जारी गर्ने ५ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको छ । यसैगरी, आगामी ३० चैतमा राष्ट्र बैंकले नागरिक वचतपत्रमार्फत २ अर्ब रुपैयाँ ऋण उठाउन लागेको छ ।

३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चमा बजेट विनियोजन गरिएकोमा हालसम्म ५२ अर्ब ६२ करोड रुपैयाँ अर्थात १३ दशमलव ९२ प्रतिशत मात्रै खर्च भएको छ । यदि सरकारले आन्तरिक ऋण उठाएर पुँजीगत खर्च बढाउन नसके बजारमा तरलता अभाव थप चर्किन सक्ने देखिएपछि राष्ट्र बैंकले ऋण उठाउन लागेको हो ।

तेस्रो त्रैमासमा राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋण पत्र र नागरिक वचतमार्फत १ खर्ब २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले पुसमा मात्रै आयक र भन्सारबाट गरी १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । आन्तरिक करबाट सरकारले ७० अर्ब ११ करोड रुपैयाँ कर उठाएको छ । माघमा सरकारले उठाउने ४६ अर्ब ५० करोड आन्तरिक ऋणसहित सरकारको ढुकुटीमा डेढ खर्ब रुपैयाँभन्दा बढी रकम जाने देखिन्छ ।

सरकारले आन्तरिक ऋण उठाएर पुँजीगत खर्च बढाउन नसके बजारमा तरलता अभाव थप चर्किन सक्ने भन्दै राष्ट्र बैंकले यसरी ऋण उठाउन लागेको जनाएको छ । हालसम्म सरकारले ५२ अर्ब ६२ करोड रुपैयाँ अर्थात १३.९२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले उठाउने आन्तरिक ऋण पुँजीगत खर्चका लागि मात्रै उपयोग गर्न पाउने व्यवस्था गत आर्थिक वर्षको बजेटमा समावेश गरिएको थियो ।

प्रतिक्रिया