कृष्णका बहुआयामिकता

गोविन्द पौडेल

अर्थका दृष्टिकोणले कृष्ण भन्नाले कालो, गहिरो नीलो, श्याम वर्णको, अँध्यारो साथै कलियुग समेतलाई जनाउने शब्द बुझिन्छ । भारतीय पुराणअनुसार कृष्ण ज्यादै लोकप्रिय, रसिक, तार्किक, छली, दार्शनिक व्यक्तित्व बोकेका नायक थिए । उनी देवताहरूमा सर्वप्रिय र सर्वोच्च अवतार मानिन्छन् । उनलाई विष्णुका आठौँ अवतारसमेत मान्ने गरिन्छ । उनी जैविक रूपमा वसुदेव र देवकीका पुत्र हुन् । यसो हुँदा उनी नातामा कंसका भान्जा पर्छन् । उनलाई व्यावहारिक रूपमा चाहिँ नन्द र यशोदाका पुत्रका रूपमा मानिन्छ । यमुना नदी किनारमा उनको बाल्यकाल बितेको देखिन्छ । उनको चरित्र र जीवनी लेखिएका शास्त्रहरूमा उनले गरेका असाधारण काम, पौरख र पराक्रमहरूको उल्लेख भएको पाइन्छ । जसलाई काव्यकारहरू कृष्णलीला भन्न मन पराउँछन् र त्यसै अनुसार वर्णन पनि गर्छन् ।

मध्ययुगीन सामन्तवादी उत्पादन व्यवस्था सुरु भएदेखि नै उनलाई नायकका रूपमा पुज्न थालिएको ठान्न सकिन्छ । जे जसरी आज हामीलाई उनका कर्म, लीला, पुरुषार्थ र जीवन कहानी उपलब्ध छन् । तिनका अध्ययनपछि कृष्ण सम्पूर्णमा कुनै एक व्यक्ति नभई कम्तीमा अरू एक व्यक्तिको चरित्रसमेत थपेर आज बुझिने कृष्ण बनाएको प्रतीत हुन्छ । वैदिक साहित्यमा कृष्णको स्पष्ट उपस्थिति र वर्णन पाइँदैन । महाकाव्य र पौराणिक साहित्यका आदिपुरुषका रूपमा चित्रण गरिएका वसुदेव इस्वीको पाँचौँ र छैटौँ शताब्दीपूर्व संस्कृत साहित्यमा देखा परेका छन् । यी वसुदेव वास्तवमा कृष्णभन्दा भिन्न चरित्र बोकेका वृष्णी कबिलाका मुखिया वा नायकका रूपमा देखिन्छन् ।

यिनलाई पनि देवत्वकरण नै गरिएको शास्त्रहरूमा पाइन्छ । महाभारत महाकाव्यमा आइपुग्दा वसुदेवलाई द्वारकाका यादववंशी नायक मुखिया कृष्णसँग मिश्रण गरिएको अनुभव गर्न सकिन्छ । महाभारतपछि वसुदेव र कृष्ण एकै चरित्र र व्यक्तित्वका रूपमा वासुदेव कृष्ण निर्मित भएका देखिन्छन् । यसपछि नै वासुदेव कृष्ण विष्णुका आठौँ अवतारका रूपमा सम्पूर्ण भारतीय महादेशमा स्तुत्य बन्न पुगेका छन् । यसैगरी हेर्दा त वासुदेव कृष्ण फेरि करिब इस्वीको चौथो शताब्दीपछि यमुना तटमा रसिक जीवन बिताइरहेका ग्वाला र उनका दाजु बलराम समेत बालगोपाल कृष्णका रूपमा महाभारतमा समाविष्ट भएका देखिन्छन् । त्यतिबेला कृष्ण र बलराम पूर्ण रूपले कृषिप्रधान समाजमा प्रवेश नगरेका र उनीहरू अर्ध घुमन्ते पशुपालन युगको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

कृष्णको सम्पूर्ण जीवन चरित्रको वर्णनचाहिँ हरिवंश पुराण र यसैको तेस्रो खण्ड विष्णु पुराणमा गरिएको छ । कृष्ण र बलरामका कथा र कहानी अध्ययनपछि हामी तत्कालीन समाजको उत्पादन प्रणालीका बारे केही अनुमान गर्न सक्दछौँ । गाईपालन, पशुपूजन, दूध प्रशोधन, मक्खन प्रशोधन, वन विचरण, बाँसुरीको माधुर्य, गोपिनीसँगका क्रिडा र रसिकता, खेलकुद आदि जीवनशैली र घटनाहरूले त्यतिबेला कृष्णको समाजमा ठुल्ठूला नगर र त्यस अनुसारको सभ्यता थिएन भन्न सकिन्छ । गाईवस्तुका ठुल्ठूला बथान र तिनीहरू चर्ने वृन्दावन, साथी संगीनीहरूसँगका खेल र क्रिडाका अनेक लोकसाहित्य धर्मग्रन्थमा पढन पाइन्छ ।

कृष्ण र बलरामका अनेक बहादुरीका किस्सा पनि उत्तिकै लोकप्रिय छन् । भागवत पुराण र विष्णु पुराणमा वर्णित घटनाहरूले कृष्णका कर्महरूलाई दिव्य, अलौकिक र ईश्वर जनित मानी अरू धेरै कृष्ण साहित्य लेखिएका छन् । भागवत पुराणमा कृष्णलाई विष्णुको आंशिक अवतार मात्र मानिएको छैन, उनलाई सम्पूर्णमा एक ईश्वरका रूपमा बताइएको छ ।
महाभारत वा भागवद्गीतामा देखापरेका कृष्ण एक रणनीतिकार, चलाख राजनीतिज्ञ, दार्शनिक परामर्शदाता लाग्छन् । यिनी बालगोपाल कृष्णभन्दा बिल्कुलै भिन्न लाग्छन् । यिनले गीतामा अर्जुनलाई दिएको उपदेश र सही बाटो देखाउन जे जस्ता दर्शनको आधारमा तर्क वितर्क गरे । त्यो वास्तवमा ज्यादै आश्चर्यजनक छ । यसलाई सामान्य रूपमा लिन सकिन्न ।

यमुनातटका बालगोपाल कृष्ण मूलतः कृषिप्रधान समाज निर्माणका नायक प्रतीत हुन्छन् । उनी र उनका दाजु बलराम समेतलाई साथमा लिई तत्कालिन समाज एउटा स्थायी बसोबास र जीविकोपार्जनका साधनको खोज गर्न मरिमेटेर लागिरहेको थियो । यसको नेतृत्व कृष्ण र बलरामहरू गर्दथे । बलरामको हतियार भनेर हलो देखाइन्छ । हलो के को प्रतिक मानिन्छ ? कृषि सभ्यताको ! तसर्थ त्यो समाजको स्तर जे थियो जस्तो थियो, के त्यतिबेला कृष्णको मुखबाट गीताको दर्शन बोल्न सम्भव थियो कि थिएन ? गीताको माध्यमबाट जुन दर्शन सुनाइएको छ, त्यो मूलतः सांख्य दर्शन हो भनिन्छ । कृष्णहरू जुन उत्पादन प्रणालीमा बाँचिरहेका थिए, त्यस बेला लेख्ने कलाको वा लेखनप्रणालीको विकास भएको थियो कि थिएन ? अथवा कृष्णले कुनै माध्यम वा गुरुपरम्पराद्वारा नै सही गीता बोल्न सक्ने सम्भावना कति थियो ?

यी सवालहरूको आलोकमा हेर्दा फेरि पनि कृष्ण एक नभई, अनेक स्वरूपमा देखिन आउँछन् । यसरी महाभारतमा गीता राख्ने काम कुन समयमा भयो ? र सांख्य दर्शनको उत्पत्तिको समय कहिले हो भन्ने प्रश्नको सही जवाफ दिन नसक्दासम्म कृष्णको सही परिचय पनि पाउन सजिलो हुन्न । कृष्ण जो भए पनि, जे भए पनि उनको लीलामय जीवनकथा पढ्दा हामी उनको बहुआयामिक व्यक्तित्व देखेर आश्चर्यमा पर्छौं । जीवनमा असजिला र अप्ठ्याराहरू आइरहन्छन् ! पीर र कष्टहरू छाइरहन्छ्न, तर तिनलाई खेल खेले जस्तै, तमासा हेरेजस्तै सरल रूपमा रमितामय बनाउन सकिन्छ भन्ने दर्शन र दृष्टिकोण कृष्णले हामीलाई दिएका छन् । गम्भीरता केही होइन, बरु यो एउटा मनोरोग हो । जीवनमा रसिकता र लीला कति जरुरत छ भन्ने कुरा उनले जिएको जुनी देखेर बुझ्न सकिन्छ । दुनियाँका सबै धर्महरूले पीडा सहने, आपूmलाई सताउने, बलिदान गर्ने, भोकभोकै बस्ने जस्ता शरीर प्रताडनाका नाना बेहुदा कर्मकाण्ड बोकेका छन् । तर कृष्ण ठट्यौली पारामा जगतको दर्शन बुझाउन खोज्छन् ! नाच गान गर्छन्, बाँसुरी बजाउँछन् र खेल खेल्छन् । जीवन उत्सवमय बनाउँछन् । मानौँ समस्या र तनाव केही छैन जीवनमा ।

सामाजिक आर्थिक उत्पादन प्रणालीका दृष्टिकोणले हेर्ने हो भने उनको समय घुमन्ते पशुपालन युगबाट स्थायी कृषि प्रणालीको युगतर्फ संक्रमित हुँदै थियो । सामाजिक पारिवारिक सम्बन्धहरू बदलिँदै थिए । कृष्णको युग सुरु हुनुभन्दा अघि मातृसत्ता बलियो थियो ! खेतीपातीको तीव्रता बढेसँगै पारिवारिक सम्बन्ध र शक्ति सन्तुलनमा परिवर्तन आउन लाग्दै थियो । आमा र छोरीहरूको प्रभाव बिस्तारै कमजोर बन्दै थियो र अब पितृसत्तात्मक व्यवस्थातर्फ समाज क्रमशः अघि बढ्दै थियो । आफ्ना मामासँग कृष्णको संघर्ष र मामाको बध यही पितृसत्ताको विजययात्राको एउटा कडी थियो ।

शास्त्रीय कोणले हेर्दा पनि कृष्णको मृत्युपछि कलियुग सुरु भएको मानिन्छ । महाभारतमा उनको भूमिका, चातुर्य, रणनीति र दार्शनिकताले पाण्डवहरूलाई राज्य दिलाए पनि उनलाई यसका आधारमा ईश्वर वा महान व्यक्ति मान्नुपर्ने कारण देखिन्न । महाभारतको युद्धले बहुसंख्यक मानिसलाई विनाश र पीडाबाहेक केही दिएन । यसको छुट्टै बहस पनि होला । त्यसो त विद्वानहरू महाभारतलाई एउटा धार्मिक साहित्यबाहेक अरू केही ठान्दैनन् । कतिपय चाहिँ महाभारतको युद्धलाई संसारको पहिलो विश्वयुद्ध पनि मान्छन् ।

प्रतिक्रिया