गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी कोरोना संक्रमित

कास्की । पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

उनले भने, ‘पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा सङ्क्रमित हुने क्रम बढ्दो छ, कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित हुनुभएको छ ।’

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको उनको भनाई छ ।

यसैगरी तनहुँमा ४२, लमजुङमा २०, नवलपरासीपूर्वमा १७, स्याङ्जामा १२, बागलुङमा ११, पर्वतमा १०, म्याग्दीमा ९, गोरखा ६ र मुस्ताङमा ३ जनास्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको बताइएको छ ।

हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रतिक्रिया