अस्ट्रेलियन ओपन टेनिस : अजारेन्का चौथो चरणमा

मेलबर्न । बेलारुसकी प्रभावशाली खेलाडी भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् । हाल विश्व वरीयताको २४औं स्थानमा रेहकी अजारेन्काले शुक्रबार भएको तेस्रो चरणको खेलमा युक्रेनकी एलिना भितोलिनालाई हराइन् । अजारेन्का अस्ट्रेलियन ओपनको दुई पटककी विजेता हुन् । उनले यसअघि सन् २०१२ र सन् २०१३ मा अस्ट्रेलियन ओपनको उपाधि चुमेकी थिइन् । अजारेन्काले अनुभवी युक्रेनी खेलाडी भितोलिनालाई ६—०, ६—२ को सोझो सेटमा पराजित गरिन् ।

अजारेन्काले अर्को खेलमा चेक गणतन्त्रकी बार्बोरा क्रेजसिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् । बार्बोरा अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनकी विजेता हुन् । बार्बोरा भने तेस्रो चरणको खेलमा लात्भियाकी एलेना ओस्टापेन्कोलाई हराउँदै चौथो चरणमा पुगेकी हुन् । प्रतिस्पर्धात्मक खेलमा बार्बोराले ओस्टापेन्कोलाई २—६, ६—४, ६—४ ले पराजित गरेकी थिइन् । अस्ट्रेलियाकी आस्लिघ बार्टी पनि प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छन् । उनले तेस्रो चरणको खेलमा क्यामिला जर्जीलाई ६—२, ६—३ को सोझो सेटमा पराजित गरिन् ।

यसैगरी प्रभावशाली जापानी खेलाडी नाओमी ओसाका भने तेस्रो चरणको खेलमै पराजित भएकी छन् । उनलाई अमान्डा आनिसिमोभाले ४—६, ६—३, ७—६ अंकले पराजित गरिन् । २४ वर्षीया ओसाका अस्ट्रेलियन ओपनकी साविक विजेता पनि हुन् । हाल विश्व वरीयताको १३औं स्थानमा रहेकी ओसाकाले हालसम्म दुई पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । साविक विजेता ओसाकाले सन् २०१९ मा पनि महिला एकलतर्फको उपाधि चुमेकी थिइन् ।

यसदेखि वाहेक उनले सन् २०१८ र सन् २०२० मा अर्को ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेकी थिइन् । ओसाकाले बाँकी दुई ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र विम्बल्डनको उपाधि भने जित्न सकेकी छैनन् । अमेरिकाकी माडिसन किज पनि प्रतियोगिताको चौथो चरणमा पुगेकी छन् । उनले तेस्रो चरणको खेलमा चिनिया प्रतिद्वन्द्वी वाङ् क्विङलाई पराजित गरिन् । प्रतिद्वन्द्वीमाथि ४—६, ६—३, ७—६ को जित हात पार्दै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिएकी हुन् ।

यसैगरी पुरुष एकलतर्फ एलेक्जेन्डर जेरेभ चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो वरीयतामा आसिन जेरेभले राडु अल्बोटलाई ६—३, ६—४, ६—४ अंकले हराए । अनुभवी खेलाडी गेल मोनफिल्स भने क्रिस्टियन गारिनलाई हराउँदै प्रतियोगिताको चौथो चरणमा पुगेका छन् ।

प्रतिक्रिया