टीट्वेन्टी विश्वकप क्रिकेट : श्रीलंका र नामिबियाबीच उद्घाटन खेल

काठमाडौं । यसै वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नामिबियाबीच भिडन्त हुने भएको छ । टीट्वान्टी विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने अस्ट्रेलियामा आयोजना हुँदैछ । पहिलो चरणअन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ तारिखमा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा खेलिने छ । पहिलो चरणको समूह ‘ए’ मा नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टोली पनि सहभागी हुनेछन् ।

यसैगरी समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टोलीको सहभागिता रहने छ । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ । ग्लोबल छनोटबाट चार टोली आगामी विश्वकपमा छनोट हुनेछन् । उद्घाटन खेलको दिन नै छनोट चरण पार गरिआउने दुई टोलीबीच पनि खेल हुनेछ । विश्वकपको प्रारम्भिक चरणमा प्रत्येक दिन दुई खेल खेलाइने छ । अक्टोबर १७ तारिखमा वेस्टइन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन क्वालिफायर १ र क्वालिफायर चारबीच खेल हुनेछ । प्रतियोगिताको सुपर १२ चरणका खेलहरु भने अक्टोबर २२ तारिखबाट सुरु हुनेछ । आयोजक राष्ट्र अस्ट्रेलियाले भने अक्टोबर २२ तारिखमा आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्नेछ । उक्त खेल सिड्नीमा खेलिने छ ।

सुपर १२ चरणको समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित छनोट चरण पार गरी आउने दुई टोली रहनेछन् । १ ‘बी’ मा भने बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् । समूह ‘बी’ अन्तर्गत वहुचर्चित भारत र पाकिस्तानबीचको खेल मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा खेलिने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ र दोस्रो सेमिफाइनल खेल एड्लेइट ओभलमा नोभेम्बर १० तारिखमा हुनेछ । प्रतियोगिताको फाइनल भने मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ तारिखमा खेलिनेछ ।

प्रतिक्रिया