बाढीपहिरापीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

डडेल्धुरा । जिल्लाका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ । पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासन मात्रै पाउँदा उनीहरू झन् पीडित बनेका हुन् । गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन् । तिनातिनासहित ६ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका उनी बढ्दै गएको चिसोले झन् पीडा बल्झाएको दुःखेसो पोख्छन् । उनको पहिराले लगााउने लुगादेखि खाद्यान्न र गोठमा रहेका गाईवस्तुसमेत अत्तोपत्तो चलेको थिएन ।

उनले भने, ‘तत्कालका लागि राहातस्वरूपको २० हजारबाहेक अन्य सहयोग भएको छैन । तीन महिना बढी भइसक्यो पुनःस्थापनाका लागि कुनै सुनुवाइ भएको छैन ।’ त्यसैगरी जिल्लाका अन्य क्षेत्रका बाढीपीडितको अवस्था पनि त्यही छ । गन्यापधुरा–१ का दर्जन बढी परिवार पनि घरवारविहीन बनेका थिए । अमरगढी–१ का दर्जन बढी परिवार पहिरा जोखिमले गर्दा गाउँ नै अन्यन्त्र सानुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी परशुरामका बाढीपहिरो पीडितको अवस्था पनि ज्यूँका त्यूँ छ ।

सरकारले गत असोज–कात्तिकमा आएको बाढीबाट प्रभावितलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्दै १० जिल्लाका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गरेको पनि महिनौँ बितिसक्यो । २१ मंसिरमा माघभित्रै कार्यक्रम सञ्चालन गर्ने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । अहिलेसम्म स्थानीय तहको राम्ररी तथ्यांकसमेत संकलन हुन सकेको छैन भने पुनर्निर्माण र पुनःस्थापनाको कुनै पनि सुरुआत हुन सकेको छैन ।

बाढीपहिरापीडित अहिले पनि टहरामै बस्न बाध्य छन् । माथिबाट आएको राहत वितरण तत्कालै भइसकेको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, अन्य काम पनि चाँडै सुरुआत हुुन्छ । उनले मृतका घरपरिवारलाई दुई लाखका दरले र घर पूर्ण क्षति भएका मानिसको अवस्था हेरी २० हजारसम्म नगद राहत उपलब्ध गराएको जनाए ।

सरकारले यहाँका पाँच पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनःनिर्माण सुरु हुन सकेको छैन । घोषणाअनुसार विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पीडितलाई पुनःस्थापना गरिनुपर्नेमा कुनै काम सुरु भएको छैन । स्थानीय तहमा पुगेको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम, घर, सडक, खानेपानी, सिँचाइ, विद्यालय आदि निर्माण गरिने प्राधिकरणले बताएको थियो ।

विपद्ग्रस्त घोषणा भएपछि क्षतिग्रस्त संरचना पुनर्निर्माण हुने भन्दै स्थानीयवासी उत्साहित भएका थिए । तर घोषणा अवधि (माघ मसान्त) सकिन एक महिना मात्रै बाँकी हुँदासम्म पनि पुनर्निर्माणको काम सुरु हुने कुनै छाँटकाँट नदेखिएको पहिराले क्षति पु¥याएको गाणेशपुर मावि वडालका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मालीले बताए । घोषणा कागजमै सीमित हुने देखिएको छ, बाढीपहिरापीडितले पनि कष्टपूर्ण जीवन जिउन बाध्य रहेको गन्यापधुरा–१ अशिग्रामका पहिरापीडित पदमबहादुर देउवाको भनाइ छ । उनी भन्छन्, ‘पुनःस्थापनाको काम चाँडै गरिनुपर्छ, अब धेरै पीडा सहन सकिँदैन ।’

जिल्लाभर पहिराका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । अजयमेरु–१ मुद्राड खोली बस्ने केशव पार्की पनि मुक्त हलिया हुन् । उनी ‘क’ वर्गको परिचय प्राप्त मुक्त हलिया हुन् । पहिरामा परेको उनको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएका हुन् । तर उक्त घर नै पहिराले लगेपछि उनको कुनै सम्पत्ति बाँकी छैन ।

पहिरामा परी जिल्लाका तीन जनाको ज्यान गएको थियो । जिल्लाभर तीन दर्जन बढी घर पूर्ण क्षति भएका थिए भने पशुचौपायाका साथै अन्य गरी करोडौँ क्षति भएको थियो । पीडित अहिले पनि पुनःस्थापनाको आशामा कष्टकर जीवन निर्वाह गरिरहेका छन् । हिउँदो चिसो छल्न र स्थायी बासका लागि सरकारसँग अपिल गरिरहेका छन् ।

प्रतिक्रिया