अपराधीलाई संरक्षण गरेको भन्दै प्रहरीका सई र गाउँपालिका अध्यक्षमाथि आरोप

लहान । सिरहाको नवराजपुर गाउँपालिका– ४ का १५ वर्षीय किशोर रामरिझन यादवमाथि छुरा प्रहार भएको घटनाका आरोपीलाई सीमा प्रहरी चैकी झाझपट्टिका प्रमुख प्रहरी नायव निरीक्षक राजिवकुमार यादवले संरक्षण गरेको आरोप लागेको छ ।

स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत यादवमाथि पुस २९ गते साँझ छुरा प्रहार भएको थियो । पिठ्यूमा छुरा लागेर गम्भीर घाईते उनको उपचार जिल्लामा सम्भव नभएपछि विराटनगर लगिएको थियो ।

विराटनगरमा उपचार पश्चात फर्केका उनका परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका हुन् । यादवका काका जागेश्वर यादवले भने, ‘घटनामा संलग्न ६ जनामाथि प्रहरीमा उजुरी दिएका छौँ, तर प्रहरीले उजुरी दर्ता गर्न मानेका छैनन्, दुई जनालाई पक्राउ गरे पनि छाडियो ।’

उनले अपराधीलाई कारबाही गर्न प्रहरीले नचाहेकाले बाध्य भएर न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए । साथै, उनले अपराधीलाई बचाउन प्रहरी नै लागेपछि आश्चर्य लागेको बताए । राजनीतिक दलको दबाबमा प्रहरी परेर अपराधीलाई संरक्षण गरिरहेको उनको गुनासो छ ।

पीडित विद्यार्थीका नातामा दाई पर्ने दिपेन्द्र यादवले नेपाली कांग्रेसका नेता र सोही पार्टीबाट निर्वाचित रहेको गाउँपालिका प्रमुख विश्वमोहन यादवले अपराधीलाई बचाउन लागिपरेको बताए । उनले भने, ‘अपराधी जो रहे पनि प्रहरीले कारबाही गर्नुपर्छ ।’

छुरा प्रहारबाट घाईते यादवले अहिले पनि नियमित औषधि खाइरहेका छन् । उनको पिठ्यूको घाउ निको भएको छैन । उनले भने, ‘नवराजपुरमै भोज खाएर दुई जना घर फर्किदै थिए, विद्यालय नजिक आएपछि अचानक ८–१० जना आएर मोटरसाइकलबाट उतारेर सन्तोष नामका व्यक्तिले मलाई छुरा हाने, म बेहोस भएर त्यहीँ लडेँ, त्यसपछि के भयो, थाहा छैन ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिको चुनाव हुने भएकाले पुस २९ गते विद्यालयमा विद्यार्थीको नामांकन भइरहेको थियो । ‘गलत ढंगले गरिरहेको नामांकनको विरोधमा मैले बोलेपछि विनोद यादवलगायतले धम्की दिएका थिए, त्यही दिन ममाथि छुरा प्रहार भयो’, उनले भने ।

प्रतिक्रिया