लोकबाजा प्रशिक्षण

काठमाडौं । नेपालमा प्रचलित विभिन्न मौलिक लोकबाजाको प्रशिक्षण सकिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण गरेको हो । पुस १६ गतेदेखि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दुई हप्तासम्म सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको दौरान कम्तिमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारंगी बाजाबारे प्रशिक्षण लिने अवसर पाएका थिए । च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारंगीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए । यस कार्यलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग आवश्यक परामर्शसहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, सांस्कृतिक सम्बन्धबारे जानकारी दिने,बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पूर्वीय तथा पश्चिमी संगीत प्रारम्भिक ज्ञान, मेट्रोनममा बाद्यवादन अभ्यास सुरुवात्, बाजा अनुसारको संगीत संयोजन गरी त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो । प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले संगीत संयोजनबारे जानकारी, सामूहिक वादन विधि तथा अभ्यास, व्यवसायिक वाद्यबादक बन्न हुनुपर्ने पूर्वाधार ज्ञानसमेत प्रशिक्षण दिएको बताए । उनले अन्य बाजासँग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शन, आधुनिक प्रविधि तथा रेकर्डिङबारे जानकारी, संगीतका विज्ञबाट संगीतिक अन्तक्र्रिया तथा कार्यशालाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिएको जनाए ।

यसै अवसरमा पुस ३० गते राष्ट्रिय नाचघर जमलमा सांगीतिक प्रस्तुतिसहित प्रशिक्षण समापन गरिएको राईले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रशिक्षार्थीले प्रशिक्षणका क्रममा सिकेका संगीतका विविध पक्ष प्रस्तुत गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न प्रशिक्षणले निरन्तरता पाउनुपर्नेमा जोड दिए । प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक संगीतसँग जोड्न, लोकसंगीतको स्वरलिपि तयार गरी, त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादक तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षण सञ्चालन गर्ने प्रतिबद्धता जनाए । साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी गराए ।

प्रतिक्रिया