चौधरी–थारू समुदायमा माघी पर्वको चहलपहल सुरु

कैलाली । पश्चिमी तराईका कैलालीलगायत जिल्लाहरूमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रूपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ । विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई २ माघसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा १ माघलाई नयाँ वर्षको रूपमा स्वागत गर्दै हर्सोल्लास वातावरणमा मनाइने गरेको थारू अगुवा एवं थारू कल्याणकारीका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले जानकारी दिए ।

वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रूपमा भलमन्सा, अघरिया, चौकीदरवा लगायतका पदहरूमा ककसलाई चयन गर्ने भन्ने विषयमा पनि चौधरी थारू बस्तीहरूमा छलफल चलिरहेको छ । माघी मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा सुँगुर र बंगुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिरहेको उनको भनाइ छ । मासुका लागि बंगुर, सुँगुर काट्नेलाई जिता मार्ने भनिन्छ । शुक्रबार राती नै थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बंगुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको केन्द्रीय सदस्य चौधरीको भनाइ छ ।

‘माघे संक्रान्तिका दिन आज विशेष गरी बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरेर घरका महिलाले छुट्याइएको चामल र मासको दाल छुने र त्यो छोएको चामल र मासको दाल घरका चेलीबेटी वा ब्राह्मणलाई दिई टीका लगाउने चलन छ’, चौधरीले भने, ‘त्यसपछि घरका आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने परम्परा रहिआएको छ ।’ पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।
थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाइरहेको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका सुन्दरलाल चौधरीले बताए । उनले भने, ‘थारू गाउँ अहिले माघीमय भएका छन् ।’ यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गंगेटालगायत स्थानीय खानाका पकवान पकाइ खाने चलन छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरूपमा मनाइरहेको धनगढी–२ का प्रेमबहादुर चौधरीले बताए । ‘गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीहरू मिलेर रमाइलो गरिरहेका छौँ’, उनले भने, ‘माघीको चहलपहल विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।’ यति मात्र नभएर थारूबस्तीमा माघौटा, सखिया, झुमरा, लाठी नाचलगायत लोकगीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ ।

माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो । विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको देखिँदैन ।

प्रतिक्रिया