राउटेलाई घर !

राउटेको बारेमा सुने पनि साक्षत भेटने अवसर जुरेको थिएन् । शहरी विकासमन्त्री रामकुमारी झाक्रीको राउटेका लागि घर बनाउने योजना रहेछ । त्यही टोलीमा जाने अवसर मिल्यो । राउटे जंगलमा बस्छन्, भन्ने सुनेको मात्र थिएँ । मन्त्री झाक्रीसँग करिव दुई घण्टा उनीहरुको बस्तीमा बिताउन पाइयो । राउटेहरु आफूलाई जंगलको राजा ठान्छन् रे । तर, अहिले भने उनीहरुको बसोबास र खानपिनमा निकै परिवर्तन आएको रहेछ । राउटेको जीवन शैलीलाई रुपान्तण गर्नुपर्छ भन्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ । तर, कुरा जति सजिलै गरिन्छ, त्यसलाई व्यवहारमा पूरा गर्न त्यति सजिलो छैन । यसमा प्रमुख समस्या हो, उनीहरु संस्कार र संस्कृति ।

राउटेको जीवन शैलीमा केही रुपान्तरण भने देखियो । पुसको कठांग्रिने जाडोमा उनीहरुको बस्ती पुग्दा यस्तै अनुभव भयो । धेरैजसो राउटे केटाकेटी र युवाका टाउकोमा मयलले कट्कटिएको ढाका टोपी देखियो । युवतीहरुको पहिरन भने प्रौढ राउटे महिलाको भन्दा फरक थियो । सायद, उनीहरुको बस्ती नजिकै रहेको शहरी संस्कृतिको प्रभाव परेर होला !
राउटेको कष्टकर जीवन शैलीमा रुपान्तर गर्ने आकंक्षा लिएर सुर्खेतस्थित सिम्ता गाउँपालिका–४ मा पुगेकी मन्त्री झाक्रीले राउटेका मुखियासँग प्रस्ताव राखिन्, ‘मुखिया वा हामी तपाइहरुसँग केही कुरा गर्न चाहन्छौँ । मितेरी साइनो गाँस्न अनि तपाइँहरुको छोरी बन्छौं ।’


मन्त्री झाक्रीले हुनेबाला मितिनीका लागि काठमाडौंबाटै कोसेलीका पोका पनि बोकेर लगेकी थिइन् । मगरकी छोरी मन्त्री झाक्री मगरकै भेषमा त्यहाँ पुगेकी थिइन् । पहिरन हेर्दा अपरिचित ब्यक्तिका लागि उनी नै मन्त्री हुन् भनेर लख काट्न कठिन थियो ।

झण्डै तीन घण्टाको यात्रापछि हामी हाल राउटेहरु बसोबास गरिरहेको भेरी नदीको तीरनजिकै रहेको चौरमा पुग्यौं । राउटेका तीन भाई मुखिया हातमा माला लिएर मन्त्रीको स्वागतमा ठिंग उभिएका थिए । स्थानीय एक युवाले भने, ‘उहाँ मन्त्री रामकुमारी झाक्री ।’ यति भनिसक्न नभ्याउँदै झाक्रीले उनीहरुलाई जुम्लेहात गरिसकेकी थिइन् ।

त्यसपछि मुखियाले मन्त्री झाक्री, कर्णाली प्रदेशका पूर्वमन्त्री प्रकाश ज्वाला र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीलाई माला लगाएर स्वागत गरे । स्याउलाले बनाएको छाप्रामा बसेका उनीहरु मन्त्रीको वरीपरि झुम्मिएका थिए । टोलीमा सहभागी एक युवाले पाल ओछ्याउँदै भने, ‘अब बसेर कुरा गरौंन त’ ।

लगत्तै मन्त्री झाक्रीले जवाफ फर्काइन्, ‘यो पाल बस्नलाई ल्याएको होइन त । अस्ति कस्को घर जलेको छ भन्ने सुनेर उहाँलाई नै ल्याइदिएको हो । हामी सबैजना चौरमै बसौँ ।’ मन्त्री झाक्रीले भनिन् । केही दिनअघि एक राउटेको छाप्रो जलेको सुनेर उनका लागि एक थान पाल लगिएको थियो । मन्त्रीको जवाफपछि सबैजना चौरमा बसे । एकातिर मन्त्रीको टोली, अर्कोतिर राउटे समुदाय ।


मन्त्री झाक्रीका अगाडि थिए, राउटेका मुखिया सुर्यनारायण शाही, दिलबहादुर शाही, बिरबहादुर शाही र पूर्वमुखिया महिनबहादुर शाही । ‘मुखिया बा, हामी तपाइको छोराछोरी जस्तै हो । अब हामी तपाइँहरुका लागि घर बनाइदिन्छौं । अब घाम÷पानी छेक्ने घरमा बस्नु प¥यो’, कुराकानीकै क्रममा मन्त्री झाक्रीले प्रस्ताव राखिन्, ‘तपाईँहरुले चाहेकैजस्तो र भनेकै ठाउँमा सरकारले घर बनाइदिन्छ ।’

मन्त्रीको प्रस्ताव भुइँमा झर्न नपाउँदै काधँमा कपडाको मैलो झोला बोकेका एक राउटे युवा बोले, ‘हुँदैन, त्यसो गुर्न पर्देन । हामी जहाँ गए पनि आफै घर बनाउँछ, बस्छ । मन्त्री जी, कुनै मान्छे अग्लो हुन्छ, कसैको पेट ठूला हुन्छ, कोही दुब्ला हुन्छ अनि तपाइँहरुले बनाएको घरलाई काटेर मिलाउन मिल्छ त ? हुँदैन, हामी आफ्नो घर आफै बनाउँला ।’ समग्रमा मन्त्रीको घर बनाइदिने प्रस्तावलाई उनले ठाडै अस्विकार गरिदिए ।


आफ्नै संसारमा रमाएका उनीहरुलाई सरकारले घर बनाइदिएर आफुहरुलाई पनि अन्य समुदायमा मिलाउलान वा त्यही घरमा पछि अरु पनि आएर बस्लान भन्ने चिन्ता रहेछ । त्यो कुरा बुझेकी मन्त्री झाक्रीले जवाफ फर्काइन्, ‘तपाइँहरुको घरमा तपाइहरु मात्रै बस्ने हो, अरु कोही बस्दैन । तपाइँहरुलाई पनि अरु मान्छेको घरमा लगेर राख्दैनौं । एकजना मास्टर राखिदिन्छौं केटाकेटी बाठा बनाउनु प¥यो, नत्र अरुले हेप्छन् । एकजना डाक्टर राखिदिन्छौं बिरामी हुँदा दवाइ दिन्छन् ।’
यति सुनेपछि तीनजना मुखिया र एक पूर्वमुखिया आफ्नै भाषामा केही सल्लाह गर्न ब्यस्त भए । सोही मौकाको फाइदा उठाउँदै छेउमै उभिएकी राउटे युवती गाजलुले भनिन्, ‘मन्तरीले भनेको कुरा ठिक छ त ।’ केही क्षणको अपसी सल्लाहपछि मुखिया सुर्यनारायणले औँला पड्काउँदै भने, ‘ल अब पहिला हाम्रो भक्ता दिन प¥यो त्यसपछि मन्त्रीले भनेको कुरा हुन्छ । यो राउटेको जीब्रोले बोलेपछि बोल्यो बोल्यो, फरक पर्दैन ।’


राउटेका लागि घर बनाउने लक्ष्य लिएर गएकी मन्त्री झाक्री र महानिर्देशक मैनालीसहित सबैको अनुहार उज्यालो भयो । आफूले देखेको सपना र राखेको प्रस्ताव स्वीकार गरेकोमा मन्त्री पनि निकै खुसि देखिइन् । सबैले ताली बजाए । उनले राउटेको छाप्रे वस्ती अवलोकन गरिन् । हालखबर सोधिन । कुराकानीका क्रममा राउटे भन्थे, ‘हामी पनि परिवर्तन हुन्छ । समय त लाग्छ नि ।’

फिरन्ते जीवन बाँच्दै आएका राउटे समयक्रममा जंगलबाट बस्तीका छेउमा बस्न थालेका छन् । बस्तीका छेउमा बस्नु र अन्य समुदायका मान्छेसँग बोलचाल गर्नु पनि उनीहरुमा आएको एउटा परिवर्तन हो । संघीय सरकारले राउटे समूदायका लागि आधारभूत पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउँदै आएका राउटे पहिले त स्थायी बसोबास गर्न फिटिक्कै तयार थिएनन् । सरकारी स्तरबाट भएको पछिल्लो प्रयासले भने अब उनीहरुको बसोबास स्थायी होला भन्ने झिनो विश्वास पलाएको छ ।

घर बनाउने लगायतका प्रस्ताव स्वीकार गरेपछि मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग मित पनि लगाइन् । यसैगरी भवन विभागका महानिर्देशक मैनालीले लोकेन्द्र शाशी तथा कर्णाली प्रदेशका पूर्वमन्त्री प्रकाश ज्वालाले प्रकाश शाहीसँग मित लगाए ।

मन्त्री झाक्रीले आफ्ना दुई मितीनीलाई कपडालगायतका सामाग्री उपहार दिइन् । एकआफसमा टोपी, कपडा र सरसामान साटासाट गरी मितेरी साइनो गाँसिएको घोषणा गरियो । मित लगाउने सबैले एकआपसमा माला लगाएर अंकमाल पनि गरे । समुदायमा केहीबेर खुशीयाली छायो ।


भेरीको तीर कालीखोलामा मन्त्रीसहितको टोलीले करिब दुई/तीन घण्टा बिताए । राउटे समुदायका तीनैजना मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखिन् । राउटे अगुवाहरूले पनि सरकारले बनाइदिने घरमा बस्ने वचन दिए । राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्यांकेट र एक थान त्रिपाल पनि दिइन् । उनीहरले मन्त्रीसमक्ष तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरे । गाउँपालिकाका कर्मचारी पनि साथैमा भएकाले मन्त्रीले छिटो भक्ता उपलब्ध गराउन आग्रह गरिन् ।

पालैपालो बस्ती सरेर जंगलमा फिरन्ते जीवन विताउने ४१ घरपरिवारका एक सय ४५ जना राउटे त्यहाँ स्याउलाले बनाएको छाप्रोमा बस्छन् । उनीहरु गत मंसीर ८ गतेदेखि यहाँ बस्दै आएका हुन् । सानो छाप्रोमा सिंगो परिवार बस्छन्, त्यहीँ पकाएर खान्छन् ।

सिलाएको लुगा नलगाउने राउटेका आधाआधि शारिरमात्र बस्त्रले ढाकिएका थिए । त्यसले उनीहरुलाई चिसोबाट कति सुरक्षीत राखेको होला भनेर सहजै अनुमान गर्न सकिन्थ्यो । थुप्रै राउटेले लामो समयदेखि नुहाएको जस्तो पनि देखिँदैन थियो । तर, पछिल्लो समय युवतीहरुमा भने नुहाउने, ब्यक्तिगत सरसफाई गर्ने र सिलाएको लुगा लगाउने संस्कार विकास हुँदै गएको रहेछ ।

राउटेको जीवनमा रूपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने मन्त्री झाक्रीले उनीहरुको मौलिकता नमासिने गरी सरकारले घर बनाइदिन खोजेको बताइन् । उनी बोल्दै गर्दा छेउमा बसेका मुखिया सुर्यनारायणले काँधे झोलाबाट सानो डायरी झिकेर मन्त्री झाक्रीतिर बढाउँदै भने, ‘मन्त्री जी हजुरको फोन लम्बर यहाँ लेखि दिनु त ।’

मन्त्री झाक्रीले उनलाई सोधिन्, ‘मोबाइल बोक्ने हो त ?’, मुखिया सुर्यनारायणले जिब्रो टोक्दै जवाफ फर्काए, ‘बोक्दैन हरायो, बिग्रियो भने बर्बाद हुन्छ । मोबेल त बोक्ने होइन ।’ उनीहरुले नयाँ हरेक मान्छेसँग यसैगरी मोबाइल नम्बर माग्ने गरेको टोलीका एक युवाले बताए । मन्त्रीसँग मीतीनी लगाएकोमा राउटे युवती पनि दंग थिए । ‘हामी मितीनी भेट्न आउँछ । उस्को फून लम्बर दे त, म फून गर्छ’, गाजलुले मसँग आफ्नी मीतीनी मन्त्रीको नम्बर मागिन् ।

मन्त्रीको प्रस्ताव :
‘मुखिया बा, हामी तपाइँको छोराछोरी जस्तै हो । अब हामी तपाइँहरुका लागि घर बनाइदिन्छौं । अब घाम÷पानी छेक्ने घरमा बस्नु प¥यो । तपाईँहरुले चाहेकैजस्तो र भनेकै ठाउँमा सरकारले घर बनाइदिन्छ ।’

राउटेको जवाफ :
‘हुँदैन, त्यसो गुर्न पर्देन । हामी जहाँ गए पनि आफै घर बनाउँछ, बस्छ । मन्त्री जी, कुनै मान्छे अग्लो हुन्छ, कसैको पेट ठूला हुन्छ, कोही दुब्ला हुन्छ अनि तपाइँहरुले बनाएको घरलाई काटेर मिलाउन मिल्छ त ? हुँदैन, हामी आफ्नो घर आफै बनाउँला ।’

मन्त्रीको प्रस्ताव :
‘मोबाइल बोक्ने हो त ?’
राउटेको जवाफ :
‘बोक्दैन हरायो, बिग्रियो भने बर्बाद हुन्छ । मोबेल त बोक्ने होइन ।’

मुखिया सुर्यनारायणले औँला पड्काउँदै भने, ‘ल अब पहिला हाम्रो भक्ता दिन प¥यो त्यसपछि मन्त्रीले भनेको कुरा हुन्छ । यो राउटेको जीब्रोले बोलेपछि बोल्यो बोल्यो, फरक पर्दैन ।’

प्रतिक्रिया