मन्त्री झाक्रीका राउटे मितिनी सम्झना र गाजलु

सल्यान । शुक्रबारको मध्यान्ह राउटे बस्तीमा नौलो चहलपहल थियो । सल्यानको सिम्ता गाउपालिका ४ भेरी नदी तिरमा रहेको चौरमा स्याउलाले बनाएको छाप्रो नजिकै राउटेहरुबाट घेरिएकी थिइन् शहरी विकास मन्त्री रामकुमारी झाक्री । त्यही हुलमा मिसिएकी राउटे युवती सम्झनाले लजाउँदै भनिन् ‘मीत लगाया क्या हुने हो ? त्यसपछि मन्त्री झाक्री बोलिन,‘मीत लाए माया बडछ नि ।’ त्यतिबेलासम्म अर्की राउटे युवती काजलुपनि आइन् । मन्त्रीले झोलाबाट माला झिकिन् दुबैलाई लगाइदिइन र ‘अबदेखि हामी मितिनी भयौं’ भन्दै गम्लङग अंगालो हालिन् । एक अर्कालाई नमस्कार गरे । मन्त्रीले केही उपहार राउटे मितिनीलाई दिइन् अनि उनीहरुले पनि आफ्नी मन्त्री मितिनीलाई कोसी (काठको कलात्मक भाँडा) उपहार दिए । त्यही मेसोमा झाक्रीलाई मुखिया वीरबहादुर शाही, दिलबहादुर शाही र सुर्यनारायण शाहिले मालाले स्वागत गरे, मन्त्री ज्यु नमस्कार भन्दै । राउटे मुखियालाई साक्षी राखेर मितेरी कार्यक्रम सकियो ।

‘मन्त्री रामकुमारी बहिनी, राष्ट्रिपति विद्या भण्डारीको खबर के छ कुन्नी ?’ एक राउटेले सोधीखोजी गरे । मन्त्री झाक्रीले उत्तर दिन नपाउँदै मुखिया सुर्यनारायण शाहीले भने, ‘हामीलाइ भत्ता कहिले दिने मन्तरी ? तीन महिना देखि उनिहरुले भत्ता पाएका छैनन् । पहिला खाने बेवस्ता हुन पर्याे, भत्ता चाहियो ।’ खासमा शहरी विकास मन्त्री झाक्री राउटेका घर बनाइदिने प्रस्ताव लिएर त्यहाँ पुगेगी थिइन् । पालैपालो बस्ती सरेर जंगलमा फिरन्ते जीवन विताउने राउटेको टोली अहिले सल्यानको सिम्ता गाउपालिका ४ मा छ । अहिले यहाँ ४१ घर परिवारका १४५ राउटे यहाँ स्याउलाले बनाएको छाप्रामा बस्छन । उनिहरु मसिर ८ देखि यहाँ बसेका हुन ।

राउटेको जीवनमा रूपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने मन्त्री झाक्रीले उनिहरुको मौलिकता नमासिने गरी सरकारले घर बनाइदिन खोजेको बताइन । राउटे मुखियालाइ उनले भनिन, ‘हामी तपाइहरुको छोरी हो,अब पानी पर्दा ओत लाग्ने घर बनाउन प¥यो । तपाइहरु जस्तो चाहानुहुन्छ, त्यस्तै घर बनाउने हो, जहाँ जहाँ भन्नू हुन्छ त्यहीँ त्यहीँ तीन ठाउमा बनाउला ।’ झाक्रीले थपिन्, ‘सिमेन्ट इट्टा केही प्रयोग नगरौंला ।’ मन्त्रीको कुरा सुन्ने बित्तिको मुखिया तिनै जना खास खुस गरे । पुराना मुखिया महिनबहादुर शाही पनि संगै थिए ।

मन्त्री झाक्रीले आफ्नो कुरा राख्दै भनिन, ‘हामी तपाईंहरुलाइ ओत लाग्ने घर, यहि आएर केटाकेटी पढाइ दिने मास्टर र बिरामी पर्दा औषधि दिने डाक्टर दिन्छौ हुन्छ ? केटाकेटी बाठा बनाउन प¥यो अरुले हेप्दैन । ’ मुखियाले छोटो र छिटो उत्तर दिए, ‘समुदायमा सल्लाह गरेर भनुम्ला ।’ छलफल चल्दैजाँदा उनिहरुले भने अनुसार का घर सरकारले बनाउने र केही भएर सर्नु पर्दा भत्काइ दिने भने पछि उनिहरु राजी भए । ‘पहिला हामीले भत्ता पाउन प¥यो, अनि मन्तरीले भने जस्तै घर बनाउनु ।’ राउटेहरुको समुहिक आवाज आयो,‘ हाम्रा मान्छे मरेर बस्ती सर्यो भने आफै भत्काइ दिनु । लौ यो जिब्रोले बोले पछि बोल्यो ।’

घर बाउने कुरामा उनिहरु सहमत भएपछि मीत लगाउने कार्यक्रम भएको थियो । छेउमा बसेर सबै कुरा सुनिरहेकी गाजलिने भनिन, झ मन्तरी जिले भन्याको हुन्छ । मितिनी कस्तो लाग्यो त ? भन्ने प्रश्नमा गाजलुले भनिन्, ‘राम्रो लाग्यो तर एउटा कुरा भन्नै पाएन । ’ उनले थपिन् नास्ता खाने पैसा भन्न डार लाग्यो।’ के नास्ता खाने ? उनले थपिन्,‘ बजार गएर ममो, चाउमिन खाने नि । राउटे मुखियालाई ७५ थान कम्मल र मितिनीलाई नास्ताका लागि अलिकति पैसा र केही उपाहार दिदै मन्त्री विदा मागिन् ‘फेरि भेटौंला, काठमाडौ आउनु है मितिनी ।’

मन्त्री झाक्रीसँगै शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र शाहीसँग र कर्णाली प्रदेशका पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वलाले प्रकाश शाहीसँग मीत लगाए ।

प्रतिक्रिया