१५४७ जना माध्यमिक शिक्षकको विज्ञापन आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक प्रदेशगत रूपमा माध्यमिक शिक्षकको विज्ञापन आह्वान गरेको छ। तीन वर्षपछि आयोगले शिक्षकको खुला पदमा विज्ञापन गरेको हो । यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेको थियो । त्यसपछि कार्यरत अस्थायीलाई स्थायीका लागि विज्ञापन खुलाइए पनि खुलाका लागि विज्ञापन गरिएको थिएन ।

आयोगले बुधबार प्रदेशगत रूपमा विज्ञापन खुलाएको हो। आयोगले नेपालीमा २३१, अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि विज्ञापन गरेको छ। यस्तै विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१ र अर्थशास्त्रमा १० जनाका लागि विज्ञापन मागिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कार्यालय सञ्चालन र लेखामा ५१, शिक्षामा १, शुक्लयजुर्वेदमा २, स्वास्थ्यमा २, संस्कृत व्याकरणमा २ जना मागिएको छ। संस्कृत भाषामा २, संस्कृत साहित्यमा १, कम्प्युटर विज्ञानमा ६, न्यायमा १ जनामा विज्ञापन खुलाइएको छ।आयोगले परिवर्तित पाठ्यक्रमअनुसार परीक्षा लिन लागेको हो। प्रत्येक तहमा वस्तुगत प्रश्न ९सामान्य परीक्षा० १०० पूर्णाङ्क र विषयगत १०० पूर्णाङ्क तोकिएको छ ।

आयोगले पहिलोपल्ट २०० पूर्णाङ्कको परीक्षा लिन लागेको हो । यसअघि ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको विषयगत परीक्षा लिइन्थ्यो । विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामो र विश्लेषणात्मक उत्तर आउने प्रश्न सोधिनेछ ।

सामान्यततर्फ सामान्य ज्ञान राखिएको छ। सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ । सामान्य परीक्षा १०० पूर्णाङ्कको हुनेछ । सामान्य परीक्षा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया