कांग्रेस महामन्त्रीमा डा.प्रकाशशरण महतकाे उम्मेदवारी किन ?

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ, ब्यवस्थित गर्दै, पार्टीलाई कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् ।

कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन् । कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन् ।

महामन्त्री पदका उम्मेदवार डा.महतका पार्टी तथा संगठन निर्माणका कार्यक्रमहरु यस्ता छन्ः

विचार

· वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको पार्टीको आदर्श, मार्ग निर्देशक सिद्धान्त र विचारको समयानुकूल सही ब्याख्या गर्दै वर्तमानमा तिनको सान्दर्भिकतालाई थप पुष्टि गर्ने

· नेपाली कांग्रेसको मार्ग निर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिंदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गर्ने

प्रशिक्षण

· केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई अझ सुदृढ र प्रभावकारी बनाउदै प्रदेश र जिल्ला स्तरमा पनि विस्तारित गर्ने

· केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कार्य समितिलाई प्रशिक्षणको बार्षिक क्यालेण्डर निर्माण गर्न लगाउने

· पार्टीका सिद्धान्त, विचार, नीति, रणनीति र कार्यक्रमका बारेमा हरेक तहका कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण दिने

· विभिन्न तहमा प्रशिक्षण गर्ने जनशक्ति निर्माणको लागि प्रशिक्षक प्रशिक्षण TOT कार्यक्रम सञ्चालन गर्ने

· हरेक तहका कार्यकर्ताको प्रशिक्षणका लागि आवश्यक पाठ्यक्रम,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरु तयार गर्ने

· विभिन्न संस्थाहरुसंग सहकार्य गरी नेतृत्व विकासको विशेष प्रशिक्षण दिने

· संगठन निर्माण र सञ्चालन तथा नेतृत्व विकासको प्रशिक्षणको साथसाथै नेपाली कांग्रेसबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्ना तहमा नीति तथा कार्यक्रम निर्माण,कार्यान्वयन र नागरिकको सेवाका पक्षमा पर्याप्त जानकारी दिन विशेष प्रशिक्षणको व्यवस्था समेत गर्ने

· नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्तालाई विचारमा अब्बल,तार्किक,आफ्ना कुराको पुष्टि गर्न सक्ने तथा आफ्नो सरकारले गरेका कार्यहरुको प्रतिरक्षा गर्नसक्ने र विपक्षीले सिर्जना गरेका भ्रमलाई चिर्न सक्ने सक्षम बनाउने

कार्यक्रम

· पार्टीका हरेक तहका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पार्टीलाई जनताका बीचमा लैजाने कार्यक्रम तयार गर्न प्रेरित गर्ने ।

· स्वतन्त्रता सेनानी र ज्येष्ठ नागरिकको सम्मान, युवाहरुबीच खेलकूद,विद्यालयस्तरमा हाजिरी जवाफ,नेपाली कांग्रेसका संस्थापक नेताहरुको स्मृति दिवसमा प्रवचन, दिवंगत स्थानीय नेताहरुको स्मृतिमा कार्यक्रम गर्न र प्राकृतिक प्रकोप तथा घट्ना÷दुर्घटनामा स्वयंसेवा गर्न पार्टीका कार्यकर्ताहरुलाई परिचालन गर्ने।

· श्रावण र भाद्र महिनामा पर्ने वीपी कोइराला स्मृति दिवस र जन्मजयन्तीमा वगैचा निर्माण, वृक्षारोपण तथा चौतारो निर्माण जस्ता रचनात्मक र सिर्जनात्मक कार्य गर्न उत्प्रेरित गर्ने । पार्टीका संस्थापक,अग्रज र राष्ट्रिय नेताहरुको स्मृति दिवसमा उपयुक्त कार्यक्रम तर्जुमा गरी सञ्चालन तथा कार्यान्वयन गर्न अभिप्रेरित गर्ने ।

· आ–आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने, नेतृत्वमा विजयी हुने,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान सम्मान प्राप्त गर्नेहरुलाई सम्मान गर्ने परम्पराको प्रारम्भ गर्ने ।

· अग्रजहरुको विश्वास नटुट्ने र युवा तथा नयाँ पुस्ताको आकर्षण बढाउने कार्यक्रम गरी पार्टी सदस्यता अभिबृद्धि गर्ने कार्यक्रमलाई बिशेष अभियानको रुपमा अगाडि बढाउने ।

सञ्चार

· आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पार्टीको संगठन विस्तार र सुदृढीकरणको अभिन्न अंगको रुपमा विकास गर्ने

· सबै तहका संगठनलाई आफ्नो क्षेत्र अन्तर्गतका आम सञ्चारमाध्यमको सूची अद्यावधिक गरी सञ्चारमाध्यमसंग राम्रो र कार्यमूलक सम्बन्ध स्थापित गर्न प्रेरित गर्ने नीति लिने

· पार्टीका औपचारिक कार्यक्रमहरुलाई जनतासमक्ष पु¥याउने माध्यमका रुपमा संबन्धित क्षेत्रका सञ्चार माध्यमको सहयोग लिने सहज अवस्था सिर्जना गर्ने

· विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीको दृष्टिकोण, पार्टीले गरेका कामहरु, विपक्षी पाटीहरुले लगाएका भ्रामक लाञ्छनाहरु चिर्ने कामलाई आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालबाटै औपचारिक रुपमा सार्वजनिक गर्ने

· पार्टीका हरेक तहमा आवधिक रुपमा पत्रकार सम्मेलन गर्ने परिपाटी आरम्भ गर्ने

· पार्टीका हरेक कार्यकर्ता र हरेक तहका पदाधिकारीहरुका बीचमा आपसी सम्बाद हुने अवस्था विकसित गर्ने

· गोपनीयताको श्रेणीमा पर्ने बाहेकका सूचनाहरु वेभसाइटमार्फत सार्वजनिक गर्ने परम्पराको थालनी गर्ने

· केन्द्रीय कार्यालयको सब–डोमेनमा पार्टीका केन्द्रीय विभागहरु, प्रदेश, जिल्ला तह तथा भातृसंगठनहरुको सूचना अद्यावधिक रहने पद्धति स्थापित गरिने छ भने केन्द्रीय विभाग,प्रदेश कार्य समिति, जिल्ला तथा नगर र गाउँ कार्यसमितिलाई तल्लोतहको सूचना प्राप्त गर्न सकिने गरी सबडोमेन सहितको वेभसाइट निर्माण गर्न लगाउने ।

मूल्यांकन र अनुशासन

· पार्टीका विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्य र प्रतिनिधिहरुलाई पार्टीको विधानले दिएको जिम्मेवारी सम्बन्धित क्षेत्रका अग्रजहरुको समन्वयमा पूरा गर्न प्रेरित गर्ने,

· सबै तहका कार्यसमितिलाई आफू अन्तर्गतका विभाग निर्माण गर्दा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गर्ने,

· भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि आफू अन्तर्गतका विभाग गठन गर्दा योग्यता, क्षमता, दक्षता, अनुभव र विगतको कार्य सम्पादनको आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गर्ने ,

· हरेक तहका कार्यकर्ताको मूल्यांकन एक तहमाथिबाट बार्षिक रुपमा हुने पद्धति विकास गर्ने,

· उत्कृष्ट काम गर्ने विभिन्न तहका कार्यसमिति,विभाग,पदाधिकारी र कार्यकर्तालाई पुरस्कृत गरिने परिपाटी विकास गर्ने

· पार्टीको अनुशासन कायम गर्ने पद्धतिको संस्थागत विकास गर्ने,

· विभाग,भातृ एवम् शुभेच्छुक संस्थाहरुको गतिशीलता

· महाधिवेशन सम्पन्न भएपछि समयमै सबै तहका कार्यसमितिहरुलाई मनोनित गर्नुपर्ने पदहरुमा पदाधिकारी र सदस्य मनोनित गरी पूर्णता दिन अग्रसर गराउने

· महाधिवेशन सम्पन्न भएपछि यथाशीघ्र केन्द्रदेखि वडातहसम्म विभागहरु गठन गरी उपयुक्त व्यक्तिलाई योग्यता,अनुभव,कार्यक्षमता र दक्षताका आधारमा उपयुक्त जिम्मेवारी दिइने

· सबै भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अविलम्ब नियमित अधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लगाउने

· निजी क्षेत्र प्रभावशाली र सशक्त बन्दै गएको वास्तविकतालाई आत्मसात गर्दै सबै पेशागत संघ संगठनहरुमा आबद्ध नेपाली कांग्रेसका शुभेच्छुकहरुलाई पार्टीप्रति प्रतिबद्ध शुभेच्छुक संस्था स्थापित गरी विस्तारित गर्न प्रेरित गरिने छ र निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर पार्टीबाट यथाशीघ्र मान्यता दिने,

· पार्टीका सबैतहका संगठन र भातृसंस्थाहरुमा अल्पमत वा फरकमतलाई समेटेर लैजाने उदार र सहमतिमुखी नीति लिने

युवा तथा महिला

· नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेका नेपाल तरुण दल र नेपाल महिला संघलाई थप क्रियाशील गराउने,

· पार्टीको स्थायी विभागको रुपमा रहेका महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग र युवा तथा खेलकुद विभागलाई थप परिचालन गर्न प्रोत्साहित गर्ने,

· युवा र महिलाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रम तय गर्ने

· युवाहरुलाई नेपालभित्रकै रोजगारीका अवसरलाई उपयुक्त हुने गरी सीपमूलक तालीम दिने,

· महिलाहरुलाई आर्थिक तथा सामाजिक विकास र राजनीतिक जीवनमा सहभागिता अभिबृद्धि गराउने कार्यक्रम तय गर्ने,

· युवाहरुलाई खेलकूद, गीत–संगीत र नृत्य जस्ता सिर्जनात्मक काममा पनि प्रोत्साहित गर्ने,

· युवाहरुलाई स्वरोजगार, रोजगार र आर्थिकोपार्जनका काममा लाग्न उपयुक्त कार्यक्रमहरु तर्जुमा गर्ने ।

समाजवादी नीतिको मूल लक्ष्य ः समृद्धि र समृद्धिको पहुँचमा आम जनता

· वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको र संविधानसभाबाट निर्मित वर्तमान नेपालको संविधानले पनि अंगीकार गरेको लोकतान्त्रिक समाजवादको माध्यमबाटै नेपालको आर्थिक–सामाजिक रुपान्तरण गर्न हरेक नेपालीलाई सुखी,समृद्ध र समुन्नत बनाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्न पार्टीले तीन वटै तहका सरकारलाई अभिप्रेरित गर्ने

· समृद्धिमा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई प्रेरित गर्ने

· उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र आधारभूत तहमा नपुगेको वर्गलाई न्यायोचित वितरणको माध्यमबाट स्तरोन्नति गर्दै जाने कार्यमा राज्यलाई जिम्मेवार बनाइने नीति अबलम्बन गर्न लगाउने,

· लोकतान्त्रिक समाजवादको लक्ष्य हासिल गर्न सञ्चार र विज्ञान तथा प्रविधिका अत्याधुनिक साधनहरुको उपयोग गर्न राज्यलाई प्रेरित गर्ने नीति लिने तथा सूचना र प्रविधि आधारित उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने,

· जयवायु परिवर्तनका प्रतिकूल असरबाट नेपाललाई जोगाउन वातावरण र दीगो विकास मैत्री विकास नीति अवलम्बन गर्न राज्यलाई प्रोत्साहित गरिने छ । जल तथा सौर्य विद्युतको अधिक उत्पादन गरी घरेलु इन्धन र सवारी इन्धनमा उपयोग गर्ने नीति अबलम्बन गर्न लगाउने र विद्युत निर्यात गरी मुलुकको अर्थतन्त्रलाई सबल बनाउने,

· निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक बनाउने, कृषिको उत्पादन र उत्पादकत्व बढाउने, रसायनिक मल र विषादिरहित कृषि पद्धति अबलम्बन गर्ने, वर्णशंकर बीउको सट्टा रैथाने बीउ उपयोग गर्ने र रैथाने अर्गानिक बालीको व्यवसायिक खेती गर्ने कार्यलाई प्रोत्साहित गर्ने

· आर्थिक क्षेत्रमा सहकारी,विद्यालय र वन संरक्षणमा अबलम्बन गरिएका सामुदायिक प्रयासहरुलाई दिगो बनाइने छ ।

· कृषि,जलस्रोत,जनशक्ति,जडिबुटी र पर्यटन हाम्रो आर्थिक विकासको दीगो आधार भएकोले देशको प्राकृतिक तथा मानवीय स्रोत–साधनमा आधारित भएर आर्थिक नीति,योजना र कार्यक्रम तय गर्ने परम्परा थालनी गर्न प्रेरित गर्ने

· हरेक पालिकाका पर्यटकीय स्थल, स्थानीय बासिन्दाका चाडपर्व,मेला जस्ता मौलिक संस्कृति र परम्परालाई सूचिबद्ध गरिनेछ र आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने कार्यक्रम तर्जुमा गर्न लगाउने,

· नेपालमा ठूला उद्योगहरुको भन्दा साना तथा मझौला उद्योगहरुको संभावना राम्रो भएकोले स्वदेशी कच्चा पदार्थमा आधारित,आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगहरुको स्थापना गरी आन्तरिक रोजगारी अभिबृद्धि गराउने तथा विदेशी मुद्रा आर्जन गर्ने उद्योग खोल्ने नीति लिन राज्यलाई प्रेरित गर्ने,

· स्वरोजगारमुखी कार्यक्रमलाई प्रोत्साहन दिइने र वैदेशिक रोजगारीलाई सुरक्षित र सुव्यवस्थित गर्ने ।

धर्म र संस्कृति

· नेपाल बहुजातीय,बहुधार्मिक,बहुसांस्कृति,बहुभाषिक देश भएकोले सबै जातजातिका मौलिक भाषा,धर्म, संस्कृति र परम्पराको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धन गर्दै धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धि गर्न नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्ने,

· राज्य धर्मकाप्रति निरपेक्ष हुन नसक्ने भएकोले नेपाल कांग्रेसले जनताको भावना अनुरुप धार्मिक स्वतन्त्रतालाई प्राधन्यता दिने,

· नेपालका हरेक जातजाति तथा समुदायका आ–आफ्नै भाषा,भेष–भूषा, मौलिक परम्परा तथा संस्कृति ,अद्धितीय र विशिष्ट रहेकोले सबै धर्म, भाषा, भेषभूषा, रीति, परम्परा र संस्कृतिको संरक्षण र विकास गर्ने,

· नेपाली कांग्रेस र यसका भातृ संगठनहरुका हरेक तहका कार्य समितिका पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुलाई धार्मिक सद्भाव अभिबृद्धि गर्ने र स्थानीय संस्कृतिको संरक्षण तथा विकास गर्ने कार्यमा उत्प्रेरित गराइने छ,

परराष्ट्र सम्बन्ध

· नेपालको परराष्ट्र नीतिको मूल आधार राष्ट्रहित हुने र नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मूल नीति मानेर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई प्रेरित गर्ने नीति लिइने,

· नेपालले छिमेकी मित्रराष्ट्रहरुसंगको सुसम्बन्धलाई उच्च प्राथमिकता दिंदै नेपालको सर्वाङ्गिण विकासमा बृहत्तर अन्तर्राष्ट्रिय समुदायसंगको कुटनीतिक सम्बन्धलाई विस्तारित र विविधीकरण गर्ने नीति लाई प्राथमिकता दिने ।

· नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार वा परराष्ट्र नीति अवलम्बन गर्दा सार्वभौमिकता, बहुलवाद, स्वतन्त्रता, लोकतान्त्रिक प्रणाली, विधिको शासन, अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार तथा विश्वशान्तिका विश्वव्यापी मान्यता जस्ता लोकतान्त्रिक मूल्य,मान्यता र जनताका नैसर्गिक अधिकारलाई प्रमुख मापदण्ड निर्धारण गर्दै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धि,अभिसन्धि र अनुबन्धहरुलाई नेपाली कांग्रेसले परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रुपमा अनुशरण गर्ने ।

· नेपालले वैदेशिक सहयोगका सम्बन्धमा राष्ट्रिय सहमतिका आधारमा सबै दातृराष्ट्र तथा दातृ निकायहरुसंग समान मापदण्ड निर्धारण गर्ने नीति लिने,

· देशको आर्थिक विकासका लागि वैदेशिक सहयोग अभिबृद्धि गर्न आर्थिक कुटनीतिलाई नेपाली कांग्रेसले सर्वोच्च प्राथमिकता दिनेछ ।

· ऋण लिदा प्रतिफलको आँकलन गरेर र प्रतिस्पर्धाका आधारमा लिने तथा त्यस्तो ऋण सहयोगको उपयोगमा प्रतिस्पर्धाका आधारमा काम लगाउने नीति अबलम्बन गर्न सरकारलाई प्रेरित गर्ने । द्धिपक्षीय वा बहुराष्ट्रिय अनुदान स्वीकार गर्दा पनि समान मापदण्डका आधारमा स्वीकार गर्ने नीति लिन लगाइने छ ।

· नेपालसंग कुटनीतिक सम्बन्ध भएका मुलुकहरु र नेपाली कांग्रेस आबद्ध रहेको सोसलिष्ट इन्टरनेशनलका सदस्य राष्ट्रका समान विचार राख्ने राजनीतिक दलहरुसंग जनस्तरको सम्बन्ध विकास गरिने छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, सुवर्णसमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दै नेपाली कांग्रेसलाई देशको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आजीवन अनवरत संघर्ष गर्नुहुने गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि,सुशील कोइराला, शैलजा आचार्य,रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, भीमबहादुर तामाड.लगायतका नेताहरुको विशिष्ट योगदानलाई हृदयमा राख्नुभएका महामन्त्रीका उम्मेद्वार डा.महतले नेपाली कांग्रेसको आह्वानमा लोकतन्त्र स्थापना पुनस्थापना र प्रतिरक्षा गर्दा जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति श्रद्धासुमन पनि अर्पण गर्नुभएको छ र शहिद परिवारलाई सम्मान प्रकट पनि गर्नुभएको छ ।

नेपाली कांग्रेस महामन्त्रीका उम्मेद्वार
डा.प्रकाशशरण महतज्यूको
सचिवालय

प्रतिक्रिया