गाउँदेखि माथिसम्म कांग्रेसको सरकार : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई संबोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको बताउँदै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको जिकिर गरे । प्रधानमन्त्री देउवाले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईंहरूको हातमा छ ।’ उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने जनाउँदै आफूलाई पार्टी सभापतिमा जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे । उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’ प्रधानमन्त्री देउवाले गाउँदेखि माथिसम्म आउँदो सरकार कांग्रेसको हुने जिकिर गर्दै त्यसको जिम्मा आफूले लिने बताए ।
उनले अब तीनै तहमा कांग्रेसको सरकार हुने बताउँदै आफूलाई सभापतिमा जिताउन आग्रह गरे । उनले भने, ‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ । कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताए । उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । नेता पाौडेलले भने, ‘के कारण कम्युनिस्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि प¥यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।’ उनले गौरवशाली इतिहास, सिद्धान्त र संगठन भएको कांग्रेसले आफ्नो एजेण्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आगामी निर्वाचनमा पराजय गर्न सकिने बताए ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिको उपस्थिति रहेको थियो । कोरोना महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ देखिन्थ्यो । सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी भृकुटीमण्डपबाहिर पाँच ठूला डिस्प्ले राखिएको थियो । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै स्टेज बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिस्टम राखिएको छ । महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ । मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेता बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर अंकित प्रचार लोगो राखिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको थियो । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ । महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनमा भूपू सैनिक संघका स्वयंसेवकले भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ ।

प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ । उद्घाटन समारोह कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरेका थिए । समारोहमा कांग्रेस काठमाडौंका सभापति कृष्ण बाँनिया (सवुज) ले महाधिवेशनमा आएका नेता तथा कार्यकर्ता र पाहुनालाई स्वागत गरेका थिए । उनले नेपाली कांग्रेस जुन उद्देश्यले स्थापना भएको त्यो लक्ष्य प्राप्तिमा यस महाधिवेशनले शक्ति प्रदान गर्ने बताए ।

यसैबीच, महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन–पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहका बीच कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उद्घाटन गरेका थिए । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ । यस्तै दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उद्घाटन सत्रमा सार्वजनिक गरिएको छ । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो ।

उद्घाटन समारोहमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता रहेको थियो । महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुभकामना मन्तव्य दिएका थिए । यस्तै, भारतबाट भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिले समेत शुभकामना दिए ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी भएको कांग्रेसले जनाएको छ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।

१४औँ महाधिवेशनको अवसर पारेर भृकुटीमण्डपमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । नेविसंघ केयु मेडिकल कमिटीको समन्वयमा नेविसंघ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । महाधिवेशन उद्घाटनको अवसरमा एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको संख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने जनाइएको छ । यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिए । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ ।

यसैबीच, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको थियो । उद्घाटन सत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो । विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका थिए । काठमाडौं उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।

प्रचण्ड र माधवमाथि ओलीको व्यंग्य
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति दह्रोसँग घोचपेच कसे । अतिथि दलका रुपमा सबैभन्दा पछि बोलेका ओलीले सुरुमा कसैको कुरामा प्रतिवाद गर्न नचाहेको बताए । तैपनि उनले सम्बोधनका क्रममा प्रचण्ड र नेपालप्रति व्यंग्य कस्न भ्याए ।

 

समारोहमा सहभागी तीन कम्युनिस्ट पार्टीका नेताले संबोधनका क्रममा एकअर्काको नामै लिएनन् । सबैभन्दा पछि आएका ओलीले मञ्चमा उक्लिएर नमस्ते गर्दा माओवादी अध्यक्ष प्रचण्डले मुन्टो बटारे भने समाजवादीका अध्यक्ष नेपालले घोसे मुन्टो लगाएका थिए । सम्बोधनका क्रममा समेत तीनै नेताले एकअर्काको नाम लिन अफ्ठेरो परेपछि मञ्चमा उपस्थित सबै राजनीतिक दलका नेता भनेर टारे ।

एमाले अध्यक्ष ओलीले सुरुमै आफूले कसैको प्रतिवाद नगर्ने बताए पनि घोचपेच कसिहाले । उनले भने, ‘मलाई कसैको वाद प्रतिवाद गर्नु छैन, म मेरो राजनीति मेरै मञ्चमा आफ्ना कुरा व्यक्त गर्छु । मलाई मञ्चको कमी छैन । तर, केही साना दललाई कांग्रेसले औँलो समाउन दिएनन् भने के होला भन्ने पीर छ । सधैँ सुन्छु, सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?’ उनले देश बनाउन जाने कुरामा एमाले सधैँ कांग्रेसको साथमा रहेको जिकिर गरे । ओलीले भने, ‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको के संसदको अंग होइन ? संसदमा हामी साथमा छैनौं ? लोकतन्त्रको सवालमा हामी सँगै लडेका छौं । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन, देशलाई सही दिशामा लाने अभिभारा कांग्रेस र एमालेको काँधमा छ ।’ उनले फेरि प्रचण्ड र नेपालप्रति कटाक्ष गर्दै कतिपयलाई सरकारबाट हट्नु पर्ने हो कि भन्ने चिन्ता रहेको सुनाए । उनले सबैलाई साथमा लिएर चल्न कांग्रेसलाई सुझाव दिँदै अरूका नीतिमा होइन, आफ्नो नीतिमा अरुलाई हिँडाउन पनि सुझाव दिन भ्याए । ओलीले भने, ‘विगतमा देशका परिवर्तनमा कांग्रेस र एमाले जस्ता प्रमुख पार्टीले महत्वपूर्ण भूमिका खेले । अब पनि देशको राजनीतिलाई रक्षा गर्ने जिम्मा कांग्रेस र एमालेको काँधमा छ । राष्ट्रियता, लोकतन्त्रको रक्षा र विकास, सुशासन, स्थिरता, स्थायित्व, समाजिक न्याय र समानताका प्रश्नमा देशलाई अगाडि बढाउने कुरामा सहकार्य गर्न एमाले तयार छ ।’

यस्तै, ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् । उक्त समारोहमा लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए । उनले भने, ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ? भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलि बढी कुद्छ क्या ।’ ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि जिकिर गरे ।

एक्लै हिँड्ने अहंकार नगरौं : प्रचण्ड
उद्घाटन समारोहलाई संबोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेसका नेतालाई आग्रह गरेका छन् । उनले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको धारणा व्यक्त गरे । पाँच दलीय गठबन्धनबाट सत्ता साझेदारसमेत रहेका उनले भने, ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

प्रचण्डले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो ।’ २०४६ सालको जनआन्दोलन, बृहत शान्ति सम्झौता र ०६२÷६३ को सफलता एकताको परिणाम भएको भन्दै उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने जिकिर गरे । आमनिर्वाचनबाट पार्टी ठूलो भएपछि मनोगतवाद र अहंकार देखिने गरेको सुनाउँदै उनले आफूलाई २०६४ सालको संविधानसभा निर्वाचन जित्दा पनि त्यस्तै अनुभव भएको बताए । उनले थपे, ‘पार्टी ठूलो भएपछि मनोगतवाद, अहंकार र कुनै न कुनै दम्भ आउने र जनतासँगको सम्बन्ध कमजोर हुने तीतो अनुभव मैले गरेको छु ।’

प्रचण्डले प्रतिगमनविरुद्धको लडाईमा पनि एकता देखाएको स्मरण गरे । उनले भने, ‘प्रतिगमनविरुद्धको लडाइँमा हामीले एकता देखाएका छौँ । हामीले एकता प्रदर्शन गरेका छौँ । एकल पार्टी कहीँ पुग्दैन । सत्तामा पुगेपछि नेतृत्वपंक्ति राजनीतिक दलहरु बिग्रिने देखियो । अहंकार र दम्भ आउने तितो अनुभव गरेको छु ।’ उनले देशमा असहज परिस्थिति आउन लागेको पनि बताउँदै ‘देशमा असहज परिस्थिति आउने पो हो कि ! गणतन्त्रमाथि नै प्रश्न उठेका छन् । गत सालदेखि नै त्यस्ता खतरा मडारिइरहेका छन् । यो लोकतन्त्र र गणतन्त्रका निम्ति चिन्ताको कुरा हो ।’ उनले एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा सुरु हुने जनाउँदै देश बनाउने कुरामा सँगै जान अफ्ठ्यारो नमान्न आग्रहसमेत गरे ।

पूर्वराजालाई पार्टी खोल्न नेपालको सुझाव
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस महाधिवेशनमा शुभकामना मन्तव्य दिनेक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । उनले नेपालको संकेत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताए । नेपालले भने, ‘म नेपालको राजनीतिमा राम्रो संकेत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुनःराजतन्त्र फर्कन नसक्ने दाबी जिकिर गरे । उनले भने, ‘प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन् ।’ उनले पूर्वराजालाई संकेत गर्दै पार्टी खोल्न वा व्यापार गर्न सुझाव दिए । अध्यक्ष नेपालले भने, ‘पूर्वराजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा नेपाली जनताले गर्दै लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

‘नेताहरु गाउँ जाँदा जनताले चोर आयो भन्न थाले’ : लिङ्देन
काठमाडौं । नेपालका राजनीतिक दलहरु र तिनका नेता नराम्ररी बदनाम भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । उनले शुक्रबार कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिँदै अहिले देशको राजनीति लिक बाहिर गइसकेको बताए । उनले नेताहरु गाउँ जाँदा पनि चोर आयो भन्न थालेको जिकिर गरे । उनले भने, ‘अहिले सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबैलाई ठीक लगाउने कसले ? राजनीतिले । तर, राजनीति नै ठीक छैन । यसलाई ठीक लगाउने नेताले हो । तर उनीहरुले नै जनताबाट विश्वास गुमाएका छन् ।’

राप्रपा अध्यक्ष लिङ्देनले नेताप्रति जनताको विश्वास मरेको बताए । उनले भने, ‘नेताप्रति जनताको विश्वास मरेको छ । पार्टीका कार्यकर्ताले नेता बोलाउँदा गाली गर्न थालेका छन् । गाउँमा जाँदा नेता आएको थाहा पाउनेबित्तिकै कुन चाहिँ चोर आएछ भन्छन् । गाउँलेले हामीलाई नेता आएनन् भन्छन्, चोर आयो भन्छन् ।’

ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको स्थितिमा रहेका मुलुकका ठूला बामपन्थी दलका नेता कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका हुन् । विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि नेकपा (एमाले) को विभाजनपछि कम्युनिस्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका थिए । केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०आँैँ महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल गएका थिएनन् ।

यसैगरी मञ्चमा पछिल्लो पटक विभाजन भएको जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिएका थिए । जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका थिए । संयोग भन्नुपर्छ कांग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवससमेत परेको छ ।

प्रतिक्रिया