सत्यमोहनलाई मानार्थ महाविद्यावारिधि

सुर्खेत । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गरिने भएको छ । मध्यपश्चिम विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला, साहित्य, समाज र इतिहासको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए । उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पु¥याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने जनाए । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजंगबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ ।

यसैबीच, ललितपुरमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्बिर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने ऊर्जामन्त्री पम्फा भुसालले बताइन् ।

दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको संग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पु¥याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन् । उनले भनिन, ‘मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्वको विषय रहेको छ ।’ उनले एउटै चित्रले जोशीका जीवनका बारेमा अनेकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको सुनाइन् ।

सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे । उनले भने, ‘योङ पिकासोजस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगेर यस्ता सिर्र्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।’ ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको आँैल्याए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गरे । उनले प्रदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रेलिकको प्रयोग गरेर कोरेको बताए । उनले भने, ‘चित्रकलामा भाग लिएका ११ देखि ७० वर्षसम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्यांकन गर्नुपर्छ भन्ने हामी चाहान्छाँै ।’ जोशीको चित्र बिक्री गरेर संकलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी गराए ।
कार्यक्रममा ललितपुरका साथै गोदावरी अनि महालक्ष्मी उद्योग वाणिज्य संघका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित व्यक्तिले जोशीको योगदानका विषयमा खुलेर प्रशंसा गर्दै सुस्वास्थ्य एवं दिघार्युको कामनासमेत गरेका थिए ।

प्रतिक्रिया