प्रदेश सभापतिमा पराजित भएका भुपेन्द्रजंग शाहीले दिए यस्तो प्रतिक्रिया

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा पराजित भएका नेता भुपेन्द्रजंग शाहीले आफू विचलित नहुने बताएका छन् । उनले एक कार्यक्रम आयोजना गरेर आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै नआत्तिकन धैर्य गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

कर्णाली प्रदेशको नेतृत्वमा निर्वाचित टिमलाई आफ्नो पूर्ण सहयोग रहने र पराजित मानसिकता नबनाउने उनको भनाइ छ । निर्वाचनमा जित र हार स्वाभाविक रहेको बताउँदै गुटगत मानसिकताबाट माथि उठ्नुपर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफ्नो ध्यान केन्द्रित हुने शाहीले बताए । उनी संस्थापन पक्षका ललितजंग शाहीसँग पराजित भएका हुन् ।

उनले भनेका छनः

नेपाली कांग्रेसको संघीय संरचना पछिको प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । एक जीवन्त पार्टीमा नेतृत्व छनोट गर्नका लागि लोकतान्त्रिक अभ्यास निर्वाचन प्रक्रियामा जानु विधि सम्वत् हो । मैले सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको थिएँ । मेरो चाहना नै गुट बलियो नभई सिंगो कांग्रेस बलियो बनाउने हो । निर्वाचनमा जाँदा विजय वा पराजय स्वभाविक हो। कर्णाली प्रदेश सभापतिमा विजयी हुने ललितजंग शाही लगायत सम्पुर्ण पदाधिकारी हरुमा हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
निर्वाचन प्रक्रियामा पराजित हुँदा मैले प्रदेश सभापति पद गुमाएँ । तर मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ काङ्ग्रे समृद्ध कर्णालीको सपना गुमाएको छैन । कर्णालीका आम कांग्रेसजनहरूको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु । मलाई मत दिने सबै मतदाताहरूप्रति कृतज्ञ छु । तपाईहरूको ऋण तिर्नका लागि सँधै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।कर्णालीमा आगामी सबै तहका संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने ठुलो चुनौती छ । यो चुनौतीलाई सामना गर्न अबको दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ । यस अभियानमा प्रदेश कार्यसमितिमा विजयी भएका साथीहरू भन्दा अझै बढि सक्रिय भएर संगठन गर्ने अठोट गरेको छु । प्रदेश अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने कर्णाली प्रदेशका दश वटै जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, पार्टिका सम्पुर्ण नेता र कार्यकर्ता, निर्बाचन समिती र अग्रज नेताहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । तपाई हरुको हरेक सुख दुखमा सदैब साथमा रहनेछु।
जय नेपाल !
…………..
भुपेन्द्रजंग शाही
सभापति पदका प्रत्यासी
नेपाली कांग्रेस
कर्णाली प्रदेश

प्रतिक्रिया