राप्रपा महाधिवेशन : मतदान राति १० बजेपछि मात्रै सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । शनिबार बिहान साढे ८ बजेबाट शुरु हुने भनिएता पनि मतदान ढिलो सुरु भएको हो । यतिबेला मतदानको क्रम जारी छ । सुरुमा अध्यक्षमा उम्मेदावारी दिएका नेताहरु कमल थापा र राजेन्द्र लिङ्देनले मतदान गरेका थिए ।

अध्यक्षका लागि भने कागजी मतदान हुनेछ भने अध्यक्ष बाहेकका पदका लागि भने इलेक्ट्रिक मतदान हुने बताइएको छ । राप्रपाको यो एकता महाधिवेशनबाट १४९ पदाधिकारी छानिनेछन् । जसजनाका लागि २७० जनाको उम्मेदवारी परेको छ । उनीहरुलाई ४ हजार ३८० प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिका अनुसार एक मतदातालाई सबै उम्मेदवारलाई भोट हाल्न कम्तिमा पनि २० मिनेट लाग्ने बताइएको छ । यो अवस्था हेर्दा मतदानको समय लामो लाग्ने देखिएको छ ।

मतदान राति करिब १० बजेसम्म रहने निर्वाचन समितिको भनाइ छ । मतदान सकिएको एक घन्टापछि मात्रै गणना सुरु हुने बताइएको छ । अनुमानित हिसाबले राति १० बजे मतदान सकिने र ११ बजेबाट मात्रै मत गणना सुरु हुनेछ । राप्रपाको केन्द्रीय नेतृत्वमा पूर्वअध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनको प्रतिस्पर्धा हुने छ । त्यस्तै चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना सदस्यका सदस्य चुनिनेछन् ।

प्रतिक्रिया