डाक्टरविरुद्ध महिलाको उजुरी : मलाई जन्माउन किन सल्लाह दिएको ?

लण्डन । आफ्नो जन्मका लागि दोषी रहेको आरोपका साथ ब्रिटेनकी एक महिलाले आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी छन् । ती महिलाको दलिलका आधारमा मुद्दा सुनुवाइ गरेको अदालतले चिकित्सकलाई दोषी ठहर गर्दै जरिवानाको आदेश पनि दिएको छ । ब्रिटेनकी २० वर्षीय एभी टम्बसले आफ्नो जन्मका लागि आमालाई सल्लाह दिएको आरोपमा गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी हुन् । पेसाले ‘शोजम्पर’ रहेकी उनी विकलांग छिन् । आफ्नो यो शारीरिक अवस्थाका लागि आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक जिम्मेवार रहेको र उसकै गलत सल्लाहका कारण आफू शारीरिक रुपमा कमजोर हुनुपरेको एभीको दाबी छ ।

समाचार एजेन्सीहरुका अनुसार एभीमा ‘स्पाइनल डिफेक्ट’ छ । उनी कुनै बेला २४ घण्टासम्म पनि ट्युबको सहारामा बस्नुपर्छ । गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक फिलिप मिशेलका कारण आफू यो अवस्थामा पुगेको एभीको दाबी छ । आमालाई गर्भावस्थामा सही सल्लाह दिएको भए आफ्नो जन्म नै नहुने वा यो अवस्थामा आफू हुनु नपर्ने उनको तर्क थियो । एभीकी आमाले पनि आफूलाई त्यतिबेला चिकित्सकले सही सल्लाह दिएको भए बच्चालाई जन्म दिने थिइनँ भनेर अदालतमा बयान दिएकी छन् । यस्तो समस्या हुन्छ भन्ने सचेत गराएर चिकित्सकले आमालाई ‘फोलिक एसिड’ को खुराक लिन सुझाव दिएको भए परिस्थित अर्कै हुन्थ्यो भन्ने जिकिर पनि उनले अदालतमा गरिन् ।

उनको दलिललाई अदालतले पनि सही ठहर गरेको छ । बुधबार लन्डन हाइ कोर्टले एभीको दाबीलाई समर्थन जनाएको छ । अदालतले पीडित परिवारका लागि चिकित्सकले जरिवाना तिर्नुपर्ने ठहर गरे पनि त्यसको राशी खुलाएको छैन । यद्यपि एभीका कानुन व्यवसायीले जीवनभरको हेरचाहका लागि पुग्ने गरी अदालतले चिकित्सकबाट जरिवाना तिराउन सक्ने बताए ।

प्रतिक्रिया