संरक्षणको पर्खाइमा थारू लोककला

आधुनिक संरचना र राज्यको दृष्टि नपुग्दा थारु लोककला विस्तारै लोप हुँदै जान थालेको छ । हजारौं वर्षदेखि प्रचलित यस्ता कलाप्रति राज्यको ध्यान नजाँदा नेपालमा मौलिक रुपमा विकास भएका कला लोप हुँदै जान थालेका छन् । लोककला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै जाने कला विधा हो । लोककलामा समाजमा प्रचलित संस्कार, धर्म, जनजीवन तथा प्राकृतिक लगायतका विषयलाई कलात्मक रुपमा रङ र रेखाद्वारा व्यक्त गरिन्छ । कला समाजमा राज्यद्वारा प्रवद्र्धित राजकीय कला, धर्म तथा यससँग सरोकार राख्ने निकायबाट संरक्षित धार्मिक कला र र लोक अर्थात् सामान्यजनले प्रवद्र्धन गर्दै आएको कलालाई लोककलाका रुपमा बुझ्ने गरिन्छ । नेपालमा विभिन्न जनजाति आदिवासीका आफ्नै मौलिक कला र संस्कृति रहेका छन् । यी कलाको अभ्यास नेपालमा निकै लामो समयदेखि चलिरहेको छ । विभिन्न जातजातिका कलाले जातीय पहिचान बोकिरहेको हुन्छ । परापूर्वकालदेखि समाजमा प्रचलित सामान्यजनले बनाउने कलालाई लोककला भन्ने गरिन्छ । नेपालमा थारु, मैथिली, पर्वते, नेवार, जैती, अवधी, मुस्ताङ्गी, भोटे, खाम, किराँत, सन्ताल, राजवंशी, मुगाली लगायतका लोककला प्रचलित छन् । यी कला परम्परा ती जातिको परम्परा, संस्कृति र जनजीवनमा आधारित रहेको पाइन्छ ।

नेपालको तराई मधेसमा बसोबास गर्ने थारु समुदायमा प्रचलित लोककला पछिल्लो समय राज्यको मूलप्रवाहीकरण समावेश भइरहेको पनि मौलिक रुपमा भने संरक्षणकै पर्खाइमा छ । थारु अध्येता अशोक थारुका अनुसार राष्ट्रियस्तरका कला प्रदर्शनी, कार्यशाला, सेमिनार, पुरस्कारमा समेत थारु लोककलाकारको सहभागिता बढ्दै गएको छ । उनले पछिल्लो समय आधुनिकताका नाममा थारु लोकपरम्परामा आधारित लोककला नाँसिदै जान थालेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘थारुको मौलिक पहिचान झल्किने लोककलाको विकास, प्रवद्र्धन तथा संरक्षणमा प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय, राज्य तथा सरोकारी संघ संस्थाले खोज अनुसान्धान गर्नुपर्दछ । साथै सशक्तिकरणमार्फत कला संरक्षण गर्ने अभियान नै थाल्नुपर्दछ ।’

थारु लोककला चाडपर्व तथा सस्ंकारजन्य कार्यका लागि बनाइने गरिन्छ । चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैना आदि कला थारु समाजमा प्रचलित रहेका छन् । यीमध्ये चित्र र मूर्तिकला विशेष महत्वका साथ बनाएको पाइन्छ । चित्र भित्ता, प्रस्तर, डेहरी, हस्तकलाका सामान, भूमि, भाँड, पट (कपडा), वास्तु, काठ, ढुंगा, कागज आदि माध्यममा बनाइन्छ । त्यस्तै मूर्तिकलामा प्रस्तर, काष्ठ तथा सेरामिक मूर्तिकला रहेका छन् ।

भूगोल र सामाजिक परिवेश अनुसार पूर्व, मध्य, पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिममा बसोबास गर्ने थारुका कलामा भिन्नता रहेको छ । थारू समाजमा अहिले प्रचलित चित्र पश्चिमतिर अष्टिम्की हो भने पूर्वतिर विवाहमा बनाउने कोहवर÷सितुवा र बाँसबसिनी चित्र हो । यी चित्रहरूको सामाजिक मान्यता र दृष्टिकोण फरक रहेको छ । त्यस्तै सुदूरपूर्वमा मोखकला बनाउने प्रचलन छ भने सूदूरपश्चिममा सजावटीय चित्र तथा उद्भृत मूर्ति बनाउने चलन रहेको छ । थारु लोककला यसप्रकार रहेका छन्ः क) अष्टिम्की ख) सितुवा÷कोहवर, ग) बाँसबसिनी, घ) संस्कारजन्य चित्र (च) सजावटीय चित्र÷मोखकला छ) शिकार चित्र आदि रहेका छन् ।


यस्तै, थारू समाजमा ढुंगामा मूर्ति कुद्ने परम्परा ज्यादै कम भेटिन्छ । विभिन्न देवदेवीलाई त्रि–आयमिक आकारमा ल्याउन बनाइने कला मूर्ति कला हो । थारू समाजमा मूर्ति कला तीन माध्यममा बनाइन्छ । थारू समाजमा प्रस्तर मूर्ति कुँदने परम्परा पुरानै हो । राजा दङ्गीशरणका पालामा प्रस्तर मूर्ति बनाइने प्रचलन थियो । राजा रत्नपारखुको पालासम्म ढुङ्गामा मूर्ति बनाएको पाइन्छ । त्यसपछि पनि यदाकदा प्रस्तरमा मूर्ति बनेको पाइन्छ । शिवलिङ्ग लगायत मुहार मूर्तिहरू, विभिन्न देवदेवताका मूर्तिहरू बनेका छन् । राजा रत्नपारखुद्वारा निर्माण गरिएको मन्ठो¥र्या मन्दिरमा रहेका ढुङ्गाका कलात्मक मूर्ति सुकौराकोट दरबार वरिपरि रहेका ढुङ्गाका मूर्ति आदि प्रसस्त भेटिन्छन् ।

काठमा मूर्तिकला बनाउने चलन थारू समाजमा पहिला चलेको पाइन्छ । हात्ती, घोडा, मयूर, बाघ लगायतका काठमा मूर्ति बनेको पाइन्छ । अध्येता अशोक थारुका अनुसार तराई क्षेत्रमा काठ सहजरूपमा पाइने भएकाले थारूहरूले काठमा मूर्ति बनाएको पाइन्छ । उनले भने, ‘ठन्ह्वामा पहिला काठका आर्कषक मूर्ति बनाइन्थ्यो । त्यसमा विभिन्न जनावरका आकृतिसँगै यौवनाहरूको यौनले भरिएका उत्तेजक मूर्ति बनाइन्थ्यो । त्यसैगरी इनारमा काठका प्रतीकात्मक मूर्ति बनाई पोखरीसँग विवाह गरिन्छ । त्यसो नगरे इनार अशुद्ध हुन जाने उक्ति रहेको छ । नयाँ इनार खनेपछि त्यसको नजिकै पोखरी खनी त्यससँग इनारको विवाह गरिन्छ । पञ्च पाण्डवको प्रतीकात्मक मूर्ति काठको बनाई पूज्ने प्रचलन दाङका थारूमा रहेको छ ।’

थारू समाजको पुरानो परम्परा सेरामिक कला हो । यो चलन कहिलेदेखि सुरू भयो त्यसको यकिन समय थाहा हुन सकेको छैन । अहिले थारू समाजमा सेरामिक कलाको प्रयोग अधिक मात्रामा भएको पाइन्छ । यस्तै, थारु समाजमा माटाका भाँडा, हात्ती, घोडा, बाघ, मयूर, जोखवा–जोखिनियाँ लगायत अन्य जनावरका माटाका मूर्तिहरू बनाइन्छ । विभिन्न प्रयोजनका लागि माटाका भाँडाको प्रयोग हुने गर्दछ । जाड बनाउने, देवदेवतालाई चढाउने, खाना पकाउने, पानी खाने, अन्य सामान राख्नका लागि तथा विभिन्न घरेलु प्रयोजनका लागि माटाका भाँडा बनाउने प्रचलन थारू समाजमा व्यापक रहेको छ । त्यस्तै मूर्ति पूजनका लागि माटाका मूर्ति बनाइने प्रचलन पनि पुरानै हो । प्रकृतिप्रेमी थारू जातिले जङ्गली जनावरका मूर्ति पूजा गर्नु उनीहरूलाई मित्रवत् व्यवहार गर्नका लागि पनि हो । माटाका घोडा, हात्ती, बाघ र जोखवा जखिनियाँ (यक्ष यक्षिणी)का प्रस्तर, काठ एवं माटामा बनाइने मूर्तिहरूको संक्षिप्त चर्चा गरौं : घोडा, हात्ती, मयूर, बाघ, जोखवा÷जखिनियाँ (यक्ष÷यक्षिणी) आदि ।

शरीरमा सियोको टुप्पाले खोपी बनाइने कलालाई गोडैना (गोद्ना÷टाटु) कला भनिन्छ । यो एकचोटि खोपेपछि जिन्दगीभर चित्रकृति शरीरमा रहिरहन्छ । थारू समाजमा विशेषगरी नारीले शरीरका विभिन्न भागमा यो कला बनाउने गर्दछन् । थारू समाजमा गोडैनाका विषयमा आफ्नै धारणा रहेका छन् । विवाहबाट पहिलोपटक बेहुली माइती घर गएपछि गोडैना बनाउने थारू समाजमा प्रचलन रहेको छ । शरीरका हात, गोडा, घाँटीमा गोडैना खोपाई, नवविवाहिता बेहुली घर जाने चलन रहेको छ । थारूलगायत पूर्वी तथा पश्चिमी तराईका जिल्लामा बसोबास गर्ने विभिन्न समुदायमा टाटुकला खोप्ने चलन रहेको छ । टाटुमा चन्द्र, सूर्य, मयूर, रूख एवं जंगललाई प्रतीकात्मक रूपमा बनाइन्छ ।

कार्तिक, मंसिर महिना धान थन्काउने समय हो । यसबेला खेतबाट धान काटिसकेपछि घरमा थन्काइन्छ । त्यसपश्चात् खेतमा धान नहुने र चराचुरूंगीको आहारमा कमी हुने हुनाले झुट्टीकलाको प्रचलन चलेको हो । धानका बाला उनेर कलात्मक रुपले हात्ती, चरा, घोडा आकारका झुट्टी कला बनाइ घरको छानाको छेउमा झुण्ड्याइन्छ । धानका बालाको कलात्मक कला नै झुट्टी कला हो । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले परम्परादेखि प्रचलित कतिपय थारु लोककला लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । मैथिली कलाकार एससी सुमनले थारु लोककला नेपालको विशिष्ट कला भएकाले यसको विकासका लागि खोज अनुसन्धान तथा सशक्तिकरणको आवश्यकता रहेको विचार व्यक्त गरे । थारु लोककलाको संरक्षण, संर्वद्धन तथा प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय, राज्यका तीनै तहले गहन ढंगले काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

प्रतिक्रिया