सरकारी निर्णय तिब्र, खोपको गति सुस्त

काठमाडौं । सरकारले दैनिक न्यूनतम २ लाखलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त मात्रामा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । तर, खोप अभियानको गति भने निकै सुस्त छ । पछिल्लो १० दिनको तथ्यांक हेर्दा जम्मा २ दिन मात्रै २ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । सरकारले नै दैनिक २ लाख बढीलाई खोप लगाउने जनशक्ति र स्रोतसाधन रहेको बताउँदै आए पनि पछिल्लो १० दिनमा मंसिर १४ र १५ गतेबाहेक खोप लगाउनेहरुको संख्या २ लाखभन्दा कम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक २ लाखलाई खोप लगाउन सकिने बताउँछन् । ‘दैनिक दुई लाखलाई खोप लगाउन सम्भव छ। हामीले यसअघि पनि लगाइसकेका छौँ,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण तथा खोप शाखा प्रमुख डा. सागर दाहाल दाहालले भने । सरकारले पुस मसान्तसम्म लक्षित समूहको ६६ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। दैनिक १ लाख खोप लगाए मात्रै पनि उक्त लक्ष्य भेट्टाइसक्ने दाहाल बताउँछन् ।

सरकारले राखेको दैनिक २ लाख खोप लगाउने लक्ष्यका लागि खोप अपुग नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म २ करोड ७० लाख मात्रा खोप नेपाल भित्रिसकेको छ । हाल ५५ लाख खोप मौज्दात छ । ‘हामीसँग दैनिक २ लाखलाई लगाउन चाहिने खोप मौज्दात छ,’ अधिकारीले भने, ‘थप खोप पनि पाइपलाइनमा भएकाले समस्या छैन ।’ अधिकारीका अनुसार डिसेम्बर–जनवरीसम्म थप ३ करोड मात्रा खोप नेपाल आइपुग्नेछ ।

खोपविज्ञ डा. श्याम उप्रेतीले एक समय देशभर ५० हजार बुथबाट दादुराको खोप लगाइएको सम्झिँदै अब नागरिकलाई खोप केन्द्रसम्म ल्याउने योजना बुन्नुपर्ने बताउँछन् । ‘हाम्रो खोप लगाउने प्रणालीले दैनिक दुई लाख मान्छेलाई खोप लगाउन सकिन्छ तर त्यति मान्छे खोप केन्द्रसम्म ल्याउनुपर्यो। अबको ध्यान त्यता केन्द्रित गर्नुपर्छ,’ उनले भने ।

खोपका बारेमा थुप्रै मानिसहरु अझै पनि अलमलमा रहेकाले उनीहरुलाई यसको महत्व बुझाएर खोपकेन्द्रसम्म ल्याउनुपर्ने उनको भनाइ छ । सकेसम्म घरनजिक खोप केन्द्र बनाएर बढीभन्दा बढी नागरिकलाई खोप लगाउने मन्त्रालयको अबको रणनीति रहेको मन्त्रालयका सहप्रवक्ता समीरमणि अधिकारीले बताए । ‘मान्छे खोजेर लगाउने रणनीतिमा छौँ। पब्लिकको आवश्यकता अनुसार, जनप्रतिनिधिले भने बमोजिम खोप केन्द्र थप्दै लगेका छौँ,’ अधिकारीले भने, ‘घरनजिक खोप केन्द्र हुँदा सहजै खोप लगाउन आएको देखियो । त्यही अभियानमा अहिले हामी छौ ं।’

प्रतिक्रिया