सर्वोच्चमा गोला प्रक्रियाबाट तोकियो मुद्दाको पेसी

काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो  । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् ।

‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी उक्त अधिकार खोसेका हुन् ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।

प्रतिक्रिया