स्थानीय तहबाटै मतदाता नामावली संकलन गरिदैं

इलाम । आगामी निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलनको तयारी सुरु गरेको छ । फोटोसहितको नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत आयोगले इलामसहित देशभर स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलनको तयारी गरेको हो । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै इलाममा पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलनको तयारी गरिएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन अधिकृत देवीचरण फुएलले जानकारी दिए । पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म ५ वटा स्थानीय तहको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिनेछ । पहिलो चरण माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम गरिने हुनेछ ।

दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म ४ वटा स्थानीय तह रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रहेको इलाम नगरपालिकामा भने त्यहीबाट नियमित रुपमा फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ ।

मतदाता नामावली दर्ताका लागि १६ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित आफ्नो स्थानीय तहको केनद्रमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्नेछन् । जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले मतदाता नामावली संकलनलाई सफल बनाउन सरोकारवाहरुलाई आग्रह गरेका छन् । मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ ।

प्रतिक्रिया