षडानन्द पुरस्कारको घोषणा

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा छात्रवृत्तिको घोषणा गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठाद्वारा २०७८ सालको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा षडानन्द छात्रवृत्तिको घोषणा भएको जानकारी दिएको हो । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार वैदिक संस्कृति संरक्षण र संवद्र्धनमा विशिष्ट योगदान गरेबापत गलेश्वर आश्रम देवघाट, तनहुँलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारी (१८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको यस पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ । यसैगरी शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत कनकाई नगरपालिका सुरुंगा, झापामा बसेर साहित्य र शिक्षाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने साहित्यकार कोमलप्रसाद पोखरेललाई ‘षडानन्द क्षेत्रीय पुरस्कार’ प्रदान गरिएको छ । भोजपुर दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको राशि ३५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

त्यस्तै, ‘षडानन्द उच्च माध्यमिक विद्यालय छात्रवृत्ति’ दिङ्ला, भोजपुरका ६ कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा मिलापमा राई र छात्र प्रशिक गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि जनही ५,००० रुपैयाँ रहेको छ । ‘षडानन्द संस्कृत छात्रवृत्ति’ कक्षा ६ का अनमोल गौतम, सुमन चर्मकार, सीताराम श्रेष्ठ, हेमकुमार बिशुंखे, जीवन विष्ट र राजेश सुनुवार, कक्षा ७ का जितेन्द्र कट्टेल, निकिता कटुवाल, यमुना दर्जी, सुदीप दर्जी, सरिता चर्मकार, प्रतीक्षा भुजेल, सुरज गिरी, निकेश भट्टराई, सोनाम तामाङ, पवन मगर, बालकुमार मगर, लेखबहादुर मगर, शोभा तामाङ र भीमकुमारी भुजेल तथा कक्षा ८ का प्रशान्त चापागाईं, बेबिना भट्ट, अस्मिता खतिवडा, शेषराज पौडेल, विकास कुइँकेल, विपन त्रिताललाई प्रदान गर्ने निर्णय भएको छ । यो छात्रवृत्तिको राशि दुई हजार रहेको छ । यी पुरस्कारहरु ब्रह्मचारी षडानन्दको १८७औँ जन्मजयन्तीका अवसरमा २०७८ मंसिर २२ गते प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया