बाँसुरीवादनमा चम्केका प्रताप

काठमाडौं । बाँसुरीवादक प्रताप केसीको व्यस्तता अहिले नेपालमा भन्दा बढी विदेशमा छ । उनी युरोपका विभिन्न मुलुकमा आफ्नो बाँसुरीवादनको प्रस्तुति दिइरहेका छन् । जनकपुरमा हुर्किएका उनले त्यही नै बासुरी वादनसँग नजिक हुन पाए । भारतको विहारमा स्व. फैमुल्ला खानसँग र त्यसपछि नेपालमा उस्ताद पूर्णबहादुर थापासँग बाँसुरीवादनको ज्ञान लिएपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । आमाको संगीतप्रति चासो भए पनि उनको बुवालाई चासो थिएन । आमाले घरमा नेपाली गीत गुनगुनाइरहने गरेको सुनेका प्रतापलाई त्यसले वाद्यवादनमा लाग्ने प्रेरणा मिल्यो ।

प्रतापले युरोपका विभिन्न देशमा बाँसुरीमार्फत नेपालको मौलिक धुन सुनाइसकेका छन् । संख्यात्मक हिसाबले उनले एसिया र युरोपका झण्डै २० देशमा बाँसुरी वादनकला देखाइसकेको सुनाए । प्रतापको अनुभवमा विदेशीले नेपालको लोकधुनलाई निकै मनपराउँछन् । आफ्नो धुनमा गायन नहुने भए पनि संगीतको सुरमा उनीहरु रमाउने गरेको प्रताप बताउँछन् ।

समाजसेवाप्रति उनको उत्तिकै लगाव छ । नेपालमा गएको २०७२ सालको विनाशकारी भूकम्पका समयमा उनकै पहलमा भारतका कलाकार रासिद खान, हरिहरण, उषा उत्तूब, तलत आजिज, लुइस एण्ड व्याण्ड मिलेर नेपालका भूकम्पपीडितका लागि कार्यक्रम गरेका थिए । उक्त कार्यक्रमवापत उठेको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । उनले कोभिड महामारीपछि विभिन्न ठाउँका अशक्त असहायलाई रासनपानी समेत उपलब्ध गराएका थिए । प्रतापले भक्तपुरको मानव कल्याण समाजमा रहेका अशक्त असाहयलाई विभिन्न सहयोग र पाटनमा रहेको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयका दृष्टिविहिनलाई आफ्नो आम्दानीको केही रकम सहयोग गरेका छन् । उनले नेपाल सरकारबाट २०७६ साल असोज ३ गते विभूषण पाउने घोषणा भए त्यो विभुषण २०७७ चैत २७ गते पाएका थिए ।

प्रतिक्रिया