सुदूरपश्चिम १० विकेटले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १५ रन बनाए । रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका ४ खेलाडीले खातानै खोल्न सकेनन् ।

सुदूरपश्चिमका नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । जवाफी ब्याटिङ थालेको सुदूरले १२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । सुदूरका कप्तान खडक बहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे । नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।

सुदूर बागमती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अव मंगलबार टियुमा गण्डकीसँग खेल्नेछ । कर्णालीले लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो । प्रदेश १ सँग ७६ रन र गण्डकीसँग ३ विकेटले पराजित भएको थियो । कर्णालीले मुलपानीमा मंगलबार बागमतीसँग खेल्नेछ ।

प्रतिक्रिया