आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस

चितवन । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल भाइरल नै भइरेहका छन् ।

निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा गालीगलौजमा समय खर्चनेको पनि कमी छैनन् । मानौ कि उनीहरु विपक्षी दलहरुसँग जित र पराजित भइरहेका छन् ।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो त्यो भन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन् ।

पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गाउँ तहदेखि नै चुनाव हुने गरेको छ । कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङले आफूले सात–आठवटा निर्वाचनमा प्रतिष्पर्धा र सम्पन्नगरेको भए पनि अहिलेको जस्तो नभएको बताए ।

उनले भने, ‘कांग्रेसको अहिलेको विधान परिवर्तन गर्नुपर्छ ।’ पैसा नहुने निर्वाचनमा भाग लिन नसक्ने अवस्था बनेको उनको बुझाइ छ । आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोष्टरसमेत नटाँसेको जनाउँदै उनले भने, ‘आन्तरिक निर्वाचन हारेपछि चोकचोकमा बसेर गालीगलौज गर्नु राम्रो होइन ।’

पार्टी नेता, कार्यकर्तामा अनुशासनका कमी भएकामा उनलाई चिन्ता छ । पूर्वराज्यमन्त्रीसमेत भएका कांग्रेस चिवतनका पूर्वसभापति शेषनाथ अधिकारीले पार्टीभित्रको आन्तरिक निर्वाचनमा तल्लोस्तरको गातिविधि भएको जानकारी दिए । पार्टीभित्रको निर्वाचन प्राविधिक पक्ष भएको जनाउँदै उनले यसमा हार–जित नहुने बताए ।

उनले भने, ‘यो छनोट हो, हार जित होइन ।’ साङ्गठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ छ । उनले भने, ‘सङ्गठनको नेतृत्व चयन मात्र हो भनेर बुझाउन जरुरी छ । प्रशिक्षण कमजोर भयो ।’ कांग्रेसको मर्म बुझाउन नसकिएको हो कि भन्ने उनमा चिन्ता छ ।

तत्कालिन संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरेले तडकभडक र बैमनश्यता हुन नहुने बताए । आफ्ना साथीलाई जित्दा र हार्दा धेरै खुशी र निरास हुनुपर्ने अवस्था आउन नहुने उनको बुझाइ छ ।

ठूलो पार्टी भएकाले धेरैका आशा पदमा हुनु स्वभाबिक रहेको जनाउँदै उनले आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुने गरी व्यवहार प्रदर्शन गर्न नहुने सुझाव दिए । विपक्षिहरुसँग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो वनाउने गरि गतिबिधि गर्नुपर्ने उनको राय छ ।

अर्का जिल्ला पूर्वसभापति टीकाराम न्यौपानेले पार्टीका नेता, कार्यकर्ता अनुशासित बन्न र पार्टीको आन्तरिक निर्वाचनमा आर्थिक चलखेल हुन दिन नहुने बताए । उनले भने, ‘यसरी नै अघि बढ्यो भने पार्टी कमजोर बन्छ ।’ पार्टीमा योगदान दिएकालाई जिम्मेवारीमा ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने उनको भनाइ छ । आन्तरिक निर्वाचन भड्किलो बन्न नहुने पूर्वसभापति न्यौपानेले बताए ।

झण्डै पाँच वर्ष ६ महिनापछि कांग्रेसको गाउँदेखि जिल्लासम्म निर्वाचन भइरहेको छ । गतको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसलाई अबको निर्वाचनमा पहिलो शक्ति बनाउनुपर्ने पुराना नेताहरु बताउँछन् । स्थानीय निर्वाचनको सङ्घारमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले असर पैदा गर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।

जिल्लाका पूर्वसभापति पछिल्लो समयको भड्किलो आन्तरिक निर्वाचनलाई व्यवस्थित गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन् । नेता, कार्यकर्तालाई बुझाउन नसक्दा आफ्नो क्षमताभन्दा फरक पदमा उम्मेदवारी दिने, भड्किलो प्रचार गर्ने, पराजित भएपछि गालीगलोजमा उत्रने गर्दा यसको प्रत्यक्ष असर विपक्षीसँग लड्ने निर्वाचनमा देखिन सक्नेमा उनीहरुको चिन्ता छ ।

प्रतिक्रिया