महिला हिंसा विरूद्धको विश्व अभियान किन ?

सीता ओझा

हिंसा भन्नाले जो कोही मानिसलाई विनाकारण अपमान, हेलाँ होचो, गालीगलौज, कुटपिट, जबर्जस्ती गर्नु÷मानिसको इच्छा विपरीत कार्य गर्नु, गराउनु, गर्न प्रेरित गर्नु, विनाकारण मन दुखाउनुलाई भनिन्छ । महिलामाथि हुने वा गरिने सबै खाले अपमानजनक व्यवहार, चित्त दुखाउने काम, हेराइ, हुर्काइ र दैनिक व्यवहारमा गरिने विभेद र अपमान कुटपिट बलात्कार आदि महिलामाथि हुने र गरिने महिला हिंसाका घटनाहरू हुन् । प्रत्येक वर्ष यस्ता अभियानहरूका नाराहरू तय गरिन्छ । यस पटकको महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा (क्यिनबल) ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त गरौँ !’ Orange the world end violence against women now भन्ने नारा तय गरिएको छ । नारा अनुसारको कार्यक्रम तय होस् भन्ने ध्येयले यस्ता नाराहरू तय गरिने गरिन्छ ।

यस्ता हिंसाका घटना कहाँ र कसरी हुने गर्छन् ?
घरपरिवारभित्र, समुदाय र कार्यालयको काममा महिलाको स्थान, परिचय अस्तित्व अस्वीकार गर्दा, हेलाँ अपमान र विभेदपूर्ण व्यवहार गर्ने कारण हिंसा गरिन्छ÷ हुनेगर्छ । विशेषगरी महिलाको भूमिका र अस्तित्वप्रति विश्वास नगर्ने कारण पनि महिला हिंसामा पर्ने गर्छन् । महिलाहरू परिवारभित्र पतिले पत्नीलाई अपमान, कुटपिट गर्नु गराउनुदेखि, नजिकको नातासम्बन्ध, छिमेकीबाट प्रायः हिंसा र बलात्कारमा परेका भेटिन्छन् ।

त्यस्तै विद्यालयका शिक्षक, विद्यार्थी, मित्र, कार्यलयको काममा नजिक रहने सहयोद्धा, पदीयदायित्वमा वरिष्ठतम् व्यक्तिबाट पनि महिलामाथि हिंसा हुने गर्छ÷ गरेको छ । यस्तो घटनालाई कार्यस्थलमा हुने हिंसा हुनेगर्छ परिवारभित्र अमैत्री वातावरण, नाता सम्बन्धमा परिचय, स्थान, मान र पहिचानको अस्वीकारको कारण, व्यापारी दृष्टिकोणले, विज्ञापनमा महिला छनौट गरेर, विज्ञापनमा महिलाको नग्न तस्बिर राखेर, कार्यक्रमको स्वागतमा, खानाको सेवा र स्याहारसुसारमा महिलालाई प्रयोग गरेर पनि महिलामाथि नजानिँदो तरिकाले हिंसा गरिरहेको भेटिन्छ ।

महिला हिंसाका घटना कहाँ कहाँ हुने गर्छन् ?
एकान्तमा, एक्लै पारेर, माया गरेको देखाएर, खानेकुरा, पोसाक आदिमा लोभ्याएर, जागिरको प्रलोभमा पारेर, आपराधिक काममा सरिक गराउन बाध्य पारेर, सामाजिक प्रतिष्ठा बनाएर, नियमित चियो र चासो गरेर हिंसा गरिन्छ ।


हिंसामा को को पर्ने गरेका छन् ?
विशेषगरी महिला, बालबालिका, अशक्त, ज्येष्ठ, अल्पसंख्यक, लोपोन्मुख र गरिबीमा परेका नागरिक व्यक्तिहरूलाई समाजका संम्रान्त तथा पद, शक्ति र स्रोतले सम्पन्न भएको ठान्ने व्यक्तिले आफूभन्दा कमजोरहरूलाई फरक र विभेदकारी व्यवहारमार्फत हिंसा गरिरहेका हुन्छन् ।

कहाँ कहाँ हुने गर्छ ?
आफ्नै घरपरिवारभित्र पिताले छोरी, ससुराले बुहारीलाई बलात्कार गरेको पतिले पत्नीलाई अपमान, हेलाँ होचो र कुटपिट गरेर, सासूले बुहारीलाई व्यवहार र बोलिचालीमा अपमानजनक व्यवहार देखाएर, बुहारीले सासूमाथि अपमान र घृणा गरेर यस्तै विभिन्न नाता र सम्बन्धभित्र, समुदायका समूह, गुठी इत्यादिमार्फत, शक्ति संरचना र साधन स्रोतको परिचालनमा ठगी गरेर या सहभागी नगराएर हुने अपमान या अमर्यादित व्यवहारमार्फत हिंसा गर्छन् ।

राजनीतिक दल र संगठनहरूमा महिलालाई जिम्मेवारी, सहभागिता, अवसर, अविश्वास आदि महिला भएको कारण पर्ने हेपाइ हो । राजनीतिक नेतृत्वको हेपाइको कारण पनि महिलाहरू राजनीतिक्षेत्रमा हिंसामा पर्ने गरेका छन् । महिलाले काम गर्ने कार्यस्थलमा कामको सिलसिलासँग जोडिएर कार्य गरिरहँदा, सँगै हिँड्नु पर्दा, अनेकौँ फरक व्यवहार तथा आग्रह राखेर गरिने बोलीचाली तथा फरक व्यवहार पनि महिलामाथि हिंसा हुने गर्छ ।

देवालय, धर्भशाला र मन्दिरहरूमा विभिन्न बहानामा महिलामाथि शोषण गर्ने गरेको पाइन्छ । जस्तै सन्तान प्राप्तिको विषय जोडेर, अन्धविश्वासका प्रचलनमा सरिक गराएर, गलत परम्पराको थालनी गराउन बाध्य पारेर, वास र गाँसका काममा प्रवेश गराएर पनि महिलामाथि हिंसाका घटनाहरू भएको भेटिने गरेको छ । व्यापारिक महलहरूमा विज्ञापन तथा अन्य व्यवसाय मनोरञ्जनात्मक काममा प्रयोग गरेर यौनिक व्यवसायमा जवरजस्त सरिक गराएका घटनाहरू पनि प्रसस्तै भेटिएका छन् ।

शैक्षिक संस्थाहरूमा बालिकामाथि हुने यौनजन्य तथा अन्य दुव्र्यवहार पनि बालिकामाथि भएका हिंसात्मक घटनाहरू नै हुन् । धर्म, संस्कृति, संस्कारका नाममा हुने गरेका बलि, देउकी, झुमा, कुमारी, छाउजस्ता प्रचलन पनि महिलामाथि हुने गरेका हिंसाका घटनाहरू हुन् । यस्तै कला, साहित्य र सिर्जनासँग जोडिएर बज्ने गीत र साहित्यले महिलालाई यौनिक मनोरञ्जनात्मक पात्र बनाउने विषयले पनि महिलामाथि हिंसा गरेको छ । महिलाको यौनिकताको अर्थ, सुन्दरता, पहिरनसँग जोडेर प्रसस्तै हिंसाका घटना भएको हामीले भन्ने गरेका छौँ ।

महिला हिंसाको अभियान कहिलेबाट सुरू भयो ?
झण्डै ६१ वर्षअघि ल्याटिन अमेरिकाको डोमिनक गणराज्यका एकै परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तात्कालीन सरकारले सन १९६० नोभेम्बर २५ को दिन त्रिभुजो तानाशाही सरकारले निर्ममतापूर्वक सामुहिक हत्या गरेको थियो । त्यही हत्याको विरूद्धमा सन १९८१ देखि त्यो हिंसाको विरूद्धमा विरोध गर्न थालियो ।

सन १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको अधिकारसँग जोडेर अभियानको रूपमा मजाउन थालिएको हो । यो अभियान डिसेम्बर १० को दिन सकिन्छ । डिसेम्बर १० लाई विश्वभर मानवअधिकार दिवसको रूपमा मनाउने गरिन्छ । महिला हिंसा विरूद्धको यो अभियानले महिलाको मानवअधिकारको संरक्षण गर्छ । महिलाको शान्ति, सुरक्षा र बाँच्न पाउने र हकअधिकारसम्बन्धी अधिकार महिलाको मानवसँग जोडिन्छ । त्यसैले १० डिसेम्बरको दिन महिला हिंसा विरूद्धको यो अभियानको समापन गरिने गरिन्छ । नेपालमा यो अभियान सन् १९९७ देखि गैरसरकारी संस्थाहरूले अभियानको रूपमा कार्यक्रम गर्न सुरुआत गरेको हो । अहिले यो अभियानमा १ सय ४० देशहरूका ३ हजार ७ सय संस्थाको सहभागिता रहेको छ ।

यो अभियान किन गर्न आवश्यक छ ?
महिला हिंसाको बारेमा सचेत हुन, सचेतना जगाउन, महिलासम्बन्धी नीति नियमको प्रभावकारी कार्यान्वयन र दबाब, महिलाको सुरक्षाको अवस्था बलियो बनाउन । हिंसा नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्न, महिलाको स्वतन्त्रताको हक कायम गर्न, प्राप्त महिला अधिकार र सुरक्षाको प्रत्याभूति गर्न गराउन यो अभियान गर्न अनिवार्य देखिन्छ । त्यसैले आजदेखि विश्वव्यापी रूपमा यो अभियान १६ दिनसम्म मनाइन्छ । कुनै पनि महिलाले कुनै प्रकारको हिंसा भोग्नु नपरोस् भन्ने यसको उद्देश्य हो ।
लेखकः महिला अध्ययन केन्द्रको अध्यक्ष हुन् ।

प्रतिक्रिया