मत-विमत

जनअपेक्षा र १०औँ महाधिवेशनका तीन कार्यभार

सौर्य अनलाइन २०७८ मंसिर ८ गते ७:२२ मा प्रकाशित

टोपबहादुर बिसी

जोगी हुनलाई राजनीति गरेको होइन भन्ने मान्यता राख्ने, लाभका पदहरू मात्र चहार्दै हिँडने, संगठन विस्तारभन्दा नेताहरूको घरदैलो चहार्ने, घरआँगन मात्र ढुकेर बस्ने, घिउ तेल र सेकुवा सुकुटी ओसार्ने कुरामा विश्वास गर्ने, कमिसन र च्याँखे दाउमा लिप्त हुने, व्यक्तिगत स्वार्थका लागि जति नांगो हुन पनि तैयार हुने, आफ्नो घर वरिपरि छरछिमेकी र आफ्ना प्रतिष्पर्धीलाई तमासा देखाउन कार्यकर्ताको र भक्तजनको घुइँचो लगाएर आफ्नो देवत्वकरण गर्न खोज्ने, आफ्नो व्यक्तिगत सम्बन्ध फलानो नेतासँग छ भनी मनोवैज्ञानिक त्रास फैलाउने उद्देश्यले फोटो पोस्ट्याउने, पार्टीभित्र गुट समूह निर्माण गरी दबाब दिने, निर्णय प्रक्रियामा अस्वभाविक प्रभाव पार्नेजस्ता क्रियाकलापले अन्ततः संगठन र पार्टीलाई दक्षीणपंथी अवसरवादको खाडलमा पुर्ने खतरा देखापरेको छ ।

कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्षपछि नेकपा (एमाले) १०औं महाधिवेशनको संघारमा छ । हरेक ४ देखि ५ वर्षे कार्यकालको सालाखाला हिसाबले पनि अहिले करिव १४/१५ औं महाधिवेशन हुनुपर्ने थियो तथापि १०औँ महाधिवेशनको आयोजना गर्न पाउनु पनि हाम्रा लागि गौरवको विषय बनेको छ । सभा, साधारणसभा, सम्मेलन, अधिवेशन, महाधिवेशन पार्टी तथा कुनै पनि संस्थाको लागि पुनर्ताजगी गर्ने इतिहासको समीक्षा गर्ने र विगतबाट शिक्षा लिँदै पुनः शक्ति र ऊर्जा हासिल गरेर भावी योजनाका साथ गुणात्मक ढंगले अगाडि बढ्ने र परिवर्तित समयको अगुवाई गर्ने एउटा महत्वपूर्ण अवसर हो । यसकारण नेकपा एमालेको यस १०औँ महाधिवेशनलाई पुनः शक्ति आर्जन गर्ने र संगठन सुदृढीकरण गर्ने महत्वपूर्ण पर्व र अवसरको रूपमा लिनुपर्छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको २००६ साल वैशाख १० पछि पहिलो र दोस्रो महाअधिवेशन करिब चार÷चार वर्षको फरकमा, तेस्रो महाअधिवेशन पाँच वर्षपछि, चौथो महाधिवेशन २६ वर्षपछि (पञ्चायती कालमा प्रतिबन्ध) पाँचाैं महाधिवेशन करिव तीन वर्ष मै, छैटौँ महाधिवेशन पाँच वर्षमा सातौँ महाधिवेशन पाँच वर्षमा, आठौँ महाधिवेशन ६ वर्षमा, नवौँ महाधिवेशन करिव ६ वर्षमा र अहिले १०औँ महाधिवेशन करिब ७ वर्षमा सम्पन्न हुँदै छ । पञ्चायती प्रतिबन्धित काल बाहेकको ४२ वर्षमा १०औँ महाधिवेशनको आयोजना करिब चार वर्षे कार्यकालको हिसाबले सालाखाला ठिकै समय हो । विश्व कम्युनिस्ट इतिहास र नेपालमा रहेका अन्य कम्युनिस्ट पार्टीको तुलनामा मूल प्रवाहमा रहेको एमालेले आफ्नो आन्तरिक जीवनमा गरेको राम्रो लोकतान्त्रिक अभ्यास हो ।

आज आमनेपालीको ध्यान नेकपा एमालेको १०औं महाधिवेशनमा छ । अधिकांश राजनीतिक पार्टीहरूले सम्मेलन अधिवेशनहरू गर्छन् तर कतिपयको त कहिले गर्छन अत्तोपत्तो हुँदैन । तर एमालेको आशन्न १०औँ महाधिवेशनले राजनीतिमा खासै चासो नराख्नेहरूको पनि ध्यानार्कषण गर्न सफल भएको छ । एमाले पंक्तिको लागि महत्वपूर्ण पर्व यो महाधिवेशनलाई देशविदेशबाट समेत अत्यन्तै चासोको साथ हेरिएको छ । विगतको समीक्षा गर्ने पाठ सिक्ने र आगामी दिनको लागि मार्गदर्शन गर्ने र सोही मार्ग दर्शनअनुसार चल्न सक्ने सशक्त नेतृत्व छनौट गर्ने महाधिवेशन को मूल कार्यभार हो । पार्टीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने मूल नाराका साथ प्रथम विधान महाधिवेशन सम्पन्न गरी १०औँ महाधिवेशनमा होमिएको छ । वास्तवमै पार्टीभित्र सांगठनिक अराजकता र अवसरवादविरुद्घ जेहाद छेड्नुपर्ने अपरिहार्य छ । अब नेपालमा जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता छ । महाधिवेशनमा नारा दिनै पर्ने एउटा परम्परा, अभ्यास र औपचारिकता त होला तर यो केवल औपचारिकता मात्र होइन यो एउटा प्रतिवद्घता हो, संकल्प हो अनि सपथ पनि हो । आज नेकपा एमालेसँग आठ लाख औपचारिक र करिब तीन लाख अनौपचारिक क्षेत्रका गरी लगभग ११ लाख पार्टी सदस्यहरू छन् ।

जतिजति सदस्य संख्या बढिरहेको छ उतिउति संगठन विस्तार भइरहेको छ र संगठन विस्तार सँगसँगै संगठनात्मक अराजकता पनि बढिरहेको छ । संस्थागत जिम्मेवारी लिन मरिहत्ते गर्ने तर संस्थागत ढंगले काम नगर्ने, सामूहिक नेतृत्वको मर्म नबुभ्mने व्यक्तिगत हैकम चलाउने, मनोमानी गर्ने, संस्थागत छलफल र निर्णयमा विश्वास नगर्ने, भएका निर्णय पनि कार्यान्वयन नगर्ने, लत्याउने, नियमित बैठक र छलफल नचलाउने, विधि र विधानभन्दा बाहिर गएर संगठन निर्माण गर्ने वैधानिक ढंगले पार्टी संरचना निर्माण नगर्ने, भएका स्थापित संरचना पनि खलबल्याउने र भत्काउने, नेतृत्वलाई खुइल्याउने, लाञ्छना मात्र लगाउने, आप्mनो स्वार्थमा मात्र संगठन चलाउन खोज्ने, सामुहिक र संस्थागत मूल्य मान्यताको न्यूनतम मर्म समेतको पालना नगर्नेजस्ता अनेकाँै प्रवृत्तिले संगठनात्मक अराजकतालाई प्रोत्साहन पक्कै गर्दछन् । यस्ता खालका स्वभाव, व्यवहार र आनिबानी भएका सबैतहका जिम्मेवार कमरेडहरूले आफू आत्माआलोचित हुन, सच्चिन र सच्याउन जरुरी छ । जनवादी केन्द्रीयताको न्यूनतम विधि र प्रणालीलाई मात्र पनि आत्मसात गर्नसके धेरै हदसम्म संगठनात्मक अराजकतालाई न्यूनीकरण गर्न सकिन्छ ।

महाधिवेशनको अर्को दोस्रो कार्यभार हो अवसरवाद विरुद्घको लडाइँ । आज पार्टीभित्र अवसरवादी चरित्र झांगिँदै गएको छ । पार्टीभित्र कामभन्दा अवसरलाई मात्र प्राथमिकता दिने, यो पार्टीमा लागेर मैले के पाएँ र के पाउँछु मात्र भन्ने मनोरोग पाल्ने, जोगी हुनलाई राजनीति गरेको होइन भन्ने मान्यता राख्ने, लाभका पदहरू मात्र चहार्दै हिँडने, संगठन विस्तारभन्दा नेताहरूको घरदैलो चहार्ने, घरआँगन मात्र ढुकेर बस्ने, घिउ तेल र सेकुवा सुकुटी ओसार्ने कुरामा विश्वास गर्ने, कमिसन र च्याँखे दाउमा लिप्त हुने, व्यक्तिगत स्वार्थको लागि जति नांगो हुन पनि तैयार हुने, आफ्नो घर वरिपरि छरछिमेकी र आफ्ना प्रतिष्पर्धीलाई तमासा देखाउन कार्यकर्ताको र भक्तजनको घुइँचो लगाएर आफ्नो देवत्वकरण गर्न खोज्ने, आफ्नो व्यक्तिगत सम्बन्ध फलानो नेतासँग छ भनी मनोबैज्ञानिक त्रास फैलाउने उद्देश्यले फोटो पोस्ट्याउने, पार्टीभित्र गुट समूह निर्माण गरी दबाब दिने, निर्णय प्रक्रियामा अस्वभाविक प्रभाव पार्नेजस्ता क्रियाकलापले अन्ततः संगठन र पार्टीलाई दक्षीणपंथी अवसरवादको खाडलमा पुर्ने खतरा देखापरेको छ ।

पार्टीले मलाई के दिएको छ र भन्दै हुँकार गदैै अवसरका लागि दलबदल गर्ने, राजनीतिक अस्थिरता मच्चाउने र व्यक्तिगत स्वार्थ र लाभका लागि संस्थागत संरचनामाथि डोजर चलाउने पार्टी निर्णय नमान्ने र सहयोद्घामाथि आरोप प्रत्यारोप लगाउँदै प्रतिक्रियावादीसँग साँठगाँठ गर्ने सबै प्रकारका अवसरवादविरुद्घ विजय हासिल गर्न सक्ने नेतृत्व छनौट आजको महत्वपूर्ण कार्यभार हो । अब नेकपा एमालेका प्रत्येक सदस्यले हरेक परिस्थितिलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्न र बुझ्न जरुरी छ । हरेक वस्तुमा विपरीत ध्रुव हुन्छ । कणकणमा सिर्जनात्मक द्वन्द्व हुन्छ । यसलाई हरेक व्यक्तिले सामना गर्नु अपरिहार्य छ । हामी कम्युनिस्ट पार्टीका सदस्यहरूले यी सबै जीवन जगतका पक्षहरूसँग जुध्न सक्छु र समाजलाई रूपान्तरण र सिर्जनात्मक परिर्वतन गर्न लाग्नेछु भन्ने सपथ खाँदै सबै नागरिकको समृद्घ र सुखी जीवनका लागि राज्य सत्ता प्राप्त गरी जनता र देशको लागि यो जीवन बलिदानी दिनेछु भनेर टाउकोमा कफन बाँधेर मैदानमा उत्रेका हुन्छन् । तर आजको परिवेस फरक छ । अबको पुस्तालाई अनि अबको नेतृत्वलाई कफन बाँध्न आवश्यक छैन, बन्दुकको नालबाट सत्ता प्राप्तगर्न पर्ने चुनौती पनि छैन ।

वादशाहलाई घोडाबाट खसाल्नै पर्ने चुनौती पनि छैन । केबल पार्टी, देश र जनताप्रतिको निःस्वार्थ भावना निष्ठा र प्रतिवद्घता मात्र भए पुग्छ । जबजको आधारभूत मर्म बुझिदिए पुग्छ, जनताको छोरो हुँ कुनै पनि पद प्रतिष्ठा प्राप्त हुँदा आफूलाई अलग संसारबाट आएको भन्ने नसम्झिदिए पुग्छ, सत्तामा हुँदा आफ्ना विगत सम्झिदिए पुग्छ । जनताझै आफ्नो दैनिकी सरल र स्वभाविक बनाइदिए पुग्छ । समाजका हरेक व्यक्तिप्रति उनीहरूको सबै समस्यामा थोरै मात्र पनि पार्टी र सरकारको ध्यान पुगेको छ भन्ने अनुभूति गराए मात्र पनि पुग्छ । समाजको अपेक्षा के छ ? समाजको सोच, आशा र अपेक्षा मेरा पनि हुन् वा मेरा सब चाहना यो समाजका पनि हुन् । समाजका आवश्यकता र चाहनाअनुसार हामी चल्नुपर्छ भन्ने मात्र पनि हेक्का राखिदिए समाजवादको आधारभूत जग स्थापना गर्न सकिन्छ । जनताले एमालेसँग तुरुन्तै विगतमा नारा लगाएजस्तो काँगडा र टिस्टा मागिरहेको छैन, सबै असमान सन्धी खारेज गर भनेर दबाब पनि दिएको छैन, चिनियाँ कम्युनिस्ट पार्टी झैँ विश्व साम्राज्यसँग पौठे जोरी खेल भनिरहेको छैन, उत्तर कोरीयाली कम्युनिस्ट पार्टी झैं विश्वमा अलग पहिचानको माग गरिरहेको छैन । न त अहिले नै शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, वास, कपासको पूर्ण निःशुल्क ग्यारेन्टी गर भनेको छ । न अन्तरिक्षमा नेपाली यान पठाइहाल्ने चाहना छ, न त मंगल ग्रहमा नेपालीको वस्ती बसाई हाल भन्ने चाहना छ । केही छैन, छ त केवल सामान्य व्यावहारिक चाहना छ । बस नेता कुनै देउता र दानव नै नभई समाजको असल चरित्रको छोरा होेस् भन्ने चाहेको छ । गफै गरेजस्तो सबै सम्भव त कति होला नहोला तर मिलेसम्म निःस्वार्थ प्रयास र प्रयत्न गर भन्ने चाहना राखेको छ ।

पद र प्रतिष्ठा पाउन आफ्नो धरातल र समाज न भुलोस् हाम्रो संस्कृति, मूल्य मान्यता न पहिचान न भुलोस् भन्ने नेता चाहेको छ । बस यति मात्र पाए पनि मख्ख पर्ने हाम्रो नेपाली समाजलाई हामी समाजका अगुवाहरूले के कहाँ छोडिरहेका छौँ, कहाँ भुलिरहेका छौँ ? कहाँ चुकिरहेका छाैं ? यति सामान्य कुरा मात्र पनि हेक्का राखे कार्यकता, नेता र हाम्रो संगठन अनि पार्टी आमजनता माझ स्थापित हुन सक्छ । जनताको बीचमा हाम्रा नेता कार्यकर्ता स्थापित भए जबजको मार्ग दर्शन के हो र समाजवादको आधार कहाँ गएर तयार हुन्छ भनेर न त ठूला ठूला मोटा किताब पल्टाउनै पर्छ न त पिएचडी डिग्री नै आवश्यकता पर्छ न त पद प्रतिष्ठाका लागि कोही कसैको चाकडी नै गर्न आवश्यक पर्छ । जनताको चाहना र समयको माग केही चमत्कारै गर्न सक्ने नेतृत्वको खाँचो छ, तथापि अहिले चमत्कारै गर्न नसके पनि त्यही नियमित काम फरक र सवल ढंगले सम्पादन गर्न सक्ने नेतृत्व छनौट गर्न सक्ने आँट, शाहस, र इच्छाशक्ति प्राप्त होस्, महाधिवेशन प्रतिनिधिहरूलाई मेरो हार्दिक शुभकामना ।
(महाधिवेशन प्रतिनिधि, दैलेख)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय