चिराइतोको मूल्य बढ्दा किसान हर्षित

बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चार÷पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको छ । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । यति बेला विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । मूल्य राम्रो पाएको र गाउँमा नै व्यापारी आउन थालेपछि किसान उत्साही भएका हुन् ।

गत वर्ष आठदेखि १० हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन २६ देखि २८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको किसान एकराज विष्टले जानकारी दिए । उनले भने, ‘केही वर्ष अघिबाट मूल्यमा गिरावट आइरहेको थियो । यसवर्ष मूल्यमा वृद्धि भएको छ । अहिले घरबाट नै प्रतिमन २६ देखि २८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।’ यस अघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिकखेती छाड्दै गएका थिए । तर यस वर्षबाट मूल्य बढेपछि उनीहरू यसको विस्तारमा जुटेको उनले सुनाए ।

उनले भने, ‘११ रोपनी बारीमा चिराइतोखेती गरिरहेको छु । मूल्य बर्सेनि वृद्धि हुनको साटो घटेका कारण मनमा उत्साह कम थियो, तर यस वर्ष केही भए पनि मूल्य बढेको छ । म जस्ता किसानमा खुसी थपिएको छ । गतवर्ष मैले प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गरेको थिए ।’ परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मूल्य पनि ठिकै रहेको विष्टले बताए ।

‘निरन्तर खेती गरिरहेकोले एक न एक दिन राम्रो मूल्य पाउनेमा म आशावादी थिए । मेहनत अनुसारको मूल्य त छैन तर अहिले पाएको मूल्य अन्यबालीको तुलनामा ठिकै छ, निरन्तर रूपमा खेती गरिरहेको छु, । यस वर्ष केही राम्रो मूल्य लिन पाएँ,’ उनले भने । विष्ट जस्तै यहाँका अन्य किसान पनि उचित मूल्य पाउँदा खुसी छन् । आफूले गरेको लगानी र मिहिनेतअनुसार मूल्य पाउँदा उनीहरूमा उत्साह बढेको हो ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय किसान देवबहादुर विष्टले जानकारी दिए । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको विश्वास छ ।

उनले भने, ‘यसको महत्व धेरै छ । पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीले व्यावसायिकखेती गरिरहनुभएको छ । सोचेजस्तो मूल्य नपाए पनि विदेशमा गएर दुःख गर्नु भन्दा यो आम्दानी पनि राम्रै छ ।’ मनको थोरै मूल्य भए पनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रूपमा राम्रै रहेको उनीहरू बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसानको आसा छ ।

स्थानीय पदम बस्नेतले भने, ‘हाम्रो ठाउँमा धेरै किसान यसको खेतीमा आवद्ध छौँ । उत्पादन पनि राम्रो छ । यसको बजारीकरणको लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।’ विशेष गरेर १ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयले पनि यस्ता ठाउँको छनोट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग समेत गर्दै आएको छ ।

यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यावसायीको भनाइ छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । यहाँका किसान अन्य खेतीभन्दा चिराइतो खेतीमा आकर्षित छन् । तर, अगिल्ला वर्षका मूल्यले भने उनीहरूको उत्साह घटेको थियो ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रूपमा मानिन्छ ।
जिल्लामा गतवर्ष ३३ हजार ४ सय केजी चिराइतो उत्पादन भएको सो कार्यालयले जनाएको छ । खेती विस्तारका लागि जिल्लाको माथिल्लो भेगका किसानलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले भने, ‘चिराइतोसँगै अन्य जडीबुटीको खेती विस्तारको लागि कार्यालयको तर्फबाट विभिन्न सहयोग गरिरहेका छौँ । किसानले चिराइतोखेती विस्तारमा रुची देखाउने गरेका छन् ।’

यहाँका दुई स्थानीय तहका चार वडालाई चिराइतो पकेट क्षेत्रको रूपमा निर्धारण गरेर खेती भइरहेको छ । जडीबुटी खेतीको लागि राम्र्रो क्षेत्र मानिएको टेम्केमैयुङ गाउँपालिकाको १ तिम्मा, ५ खावा र भोजपुर नगरपालिका– ३ गुप्तेश्वर र ४ शिद्धेश्वरलाई चिराइतो पकेट क्षेत्र निर्धारण गरेर यसको खेती विस्तार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयले चिराइतोको खेती विस्तारका लागि ६ ओटा जडीबुटी फर्मलाई सात केजी चिराइतोको बीउ वितरण गरेको सहायक डिभिजन वन अधिकृत डम्बर भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘यहाँको हावापानी हेर्दा माथिल्लो भेगमा चिराइतो खेतीको निकै राम्रो सम्भावना छ । हामीले पकेटक्षेत्र नै निर्धारण गरेर किसानलाई प्रोत्साहन गरिरहेका छौँ । गतवर्ष विभिन्न फर्मलाई सात केजी चिराइतोको बीउ दिएर थप विस्तार गर्न सहयोग गरेका छौँ ।’ जिल्ला जडीबुटी फोकल समितिको निर्णय अनुसार आम्चोक र हतुवागढी क्षेत्रमा टिमुुरखेतीको लागि पकेट क्षेत्र तोकिएको छ ।

कार्यालयले जडीबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणका अनुदान गर्दै आएको जनाएको छ । कार्यालयका अनुसार किसानको माग र आवश्यकताको आधारमा अनुदान दिँदै आएको छ । साथै सहकारीसँगको सहकार्यमा जडीबुटी संकलन केन्द्रसमेत स्थापना गरिने जनाइएको छ । त्यसो गर्न सकियो भने किसानलाई राहत हुने र खेती प्रति उनीहरूको उत्साह बढने देखिन्छ ।

मूल्यमा उतारचढाव आए पनि विभिन्न खाले जडीबुटीका खेतीमा भने वृद्धि नै हँुदै गइरहेको वन कार्यालयको भनाइ छ । वन कार्यालयका अनुसार यहाँको साल्पासिलिछो गाउँपालिकामा चिराइतो, लोक्ता र षडानन्द नगरपालिकाको माथिल्लो भेगका क्षेत्रलाई पनि चिराइतोसँगै सतुवाखेतीलगायत जडीबुटीका लागि उपयोगी मानिन्छ ।

यस क्षेत्रमा वन कार्यालयको अगुवाइमा चिराइतो, सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायतका जडीबुटीको खेती विस्तार भइरहेको छ । स्थानीय तहमा रहेका सामुदायिक, कवुलियत र साझेदारी वनलाई लक्षित गरेरसमेत खेती विस्तारको योजना बनाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया