मेस्सीको ‘डेब्यु’ गोलमा पीएसजीको जित

पेरिस । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली लिग वानमा डेब्यु गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३–१ ले पराजित गर्दै आफ्नो शीर्षता थप मजवुत बनाएको हो । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले एक गोल थप्दा एक गोल उपहार पाएको थियो । रान्डल कोलो मुआनीले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा गोलरक्षक केलर नाभास सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिन पुगेको थियो । उनले लुडोभिक ब्लासमाथि फउल गर्न पुगेका थिए । ७६औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भयो । मेस्सीको थ्रु बललाई क्लियर गर्ने क्रममा अपिआले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८७औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । मेस्सीले लिग वानमा पीएसजीका लागि ६ खेल खेल्दा पहिलो गोल गरेका हुन् । उनी यसै समरमा क्याटलान क्लब बार्सिलोना छाड्दै पीएसजी आएका थिए । यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको रेनेसलाई १२ अंकले पछि पारेको छ । पराजित नान्टेस १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया