भाइटीकाका दिन पनि वाग्मती सफाइ

काठमाडाै‍ं । तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन्। विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ। गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा माला खरेलले जानकारी दिए।

सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ। आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो।

महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ। चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ सथनमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वाग्मतीकै प्रभावले सफाइ भइरहेको छ। हाल उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ।

यसैगरी उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रुपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।

प्रतिक्रिया