इजलास बहिष्कार गर्ने न्यायधीशको कार्यप्रति डिलएकाे असन्तुष्टि (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिलए)ले इजलास बहिष्कार गर्ने न्यायधीशको कार्यप्रति असन्तुष्टि जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यशैलीको विरुद्धमा न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् । ‘न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको सम्मानित कार्य र दायित्वबाट सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू पन्छिन सर्वथा मिल्दैन’, डिएलको विज्ञप्तिमा भनिएको छ, ‘न्यायिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत मूल्य मान्यता भन्दा बाहिर गई भए गरेका यस्ता कार्य तत्काल बन्द गरी सबै प्रकारका मुद्दाहरुको सुनुवाइ अविलम्ब गर्न हामी आह्लान गर्दछौं ।’

प्रधानन्यायाधीशले निकास दिनुपर्ने माग उठिरहेका बेला डिलएले उनको राजीनमा बारे केही बोलेको छैन । न्यायपालिकाको नेतृत्व तह र न्यायाधीशबाट न्यायपालिकाप्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल रोक्न माग गरिएको छ । न्यायिक कार्य सम्पादनमा पक्षबाट पनि बाधा व्यवधान गर्न नहुने डिलएको जोड छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीशहरुमा भागबन्डाको र सेटिङको प्रश्न उठ्नु दु्खद रहेको उल्लेख गर्दै संलग्नलाई कारबाहीको माग गरिएको छ। संविधानप्रदत्त निकायबाट चाँडो छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ । न्यायपालिकामा भ्रष्ट्राचार बढेको डिलएको ठहर छ । भ्रष्टचारमा संलग्नलाई न्याय परिषद्, बार काउन्सिल तथा संसद्‌बाट तत्काल छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया