एमाले अब सबै ठाउँमा प्रतिपक्ष

काठमाडौं । संघ र प्रदेश सबैको नेतृत्व गुमाएपछि नेकपा (एमाले) ठूलो दल भएर पनि सबै ठाउँमा प्रतिपक्ष भएको छ । एमालेलाई सरकारबाट हटाउन त्यही पार्टीबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भूमिका खेलेका छन् । एमालेलाई सडकमा पुर्याउने निर्णायक काम नेपाली कांग्रेसले गर्यो । असार २८ मा संघीय सरकारबाट हटेपछि सुरु भएको एमालेको सत्ता बर्हिगमन कात्तिक १५ गते प्रदेश १ सम्म आइपुग्दा करिब टुंगिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सोमबार आएको राजीनामासँगै अब एमाले संघ र प्रदेश तहका सबै सरकारबाट प्रतिपक्षमा पुगेको छ ।

तत्कालीन नेकपा विभाजित भएपछि सुरु भएको सत्ता बहिर्गमनको श्रृंखला सकिएर सातै प्रदेशमा एमाले प्रतिपक्षमा पुगेको हो । तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको फुटको श्रृंखलाले एमालेलाई सत्ताबाट निकालेको हो । प्रतिनिधि सभा विघटनको विवाद चलिरहँदा २०७७ फागुन २३ गते नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेले सत्ता गुमाउन थालेको थियो । माधवकुमार नेपालले यही भदौ १ गते विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएपछि बागमती र प्रदेश १ सरकार एमालेले गुमाएको थियो ।

त्यसअघि उनले २०७८ वैशाख २६ मा राजीनामा दिएका थिए । उनले त्यसबेला प्रतिपक्षीले राखेको अविश्वासको प्रस्तावमाथि छलफल हुनु एक दिनअघि राजीनामा दिएका थिए । त्यसबेला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । राजीनामा दिएपछि उनी गण्डकीकोे ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री भएका थिए । तर उनले विश्वासको मत प्रमाणित गर्न नसकेपछि २०७८ जेठ २९ गते गण्डकी प्रदेश सरकारबाट बाहिरिनुपरेको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत गुमाएपछि नेपाली कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । गठबन्धनबाट कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ गते मुख्यमन्त्री बने । त्यसको एक महिनापछि असार २८ गते संघीय सरकारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरिनु प¥यो । २०७८ जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस, माओवादी, जसपा, एमालेकै माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका थिए ।
उनीहरु प्रतिनिधि सभा पुनःस्थापना हुनैपर्ने मागसहित रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । दोस्रो पटक गरेको संसद् विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेश दियो ।

त्यसपछि ओली सत्ताबाट बाहिरिएर बालकोट पुगे भने असार २९ मा देउवा प्रधानमन्त्री भए । ओलीलाई हटाएपछि केन्द्रमा गठबन्धन बनाएका पाँच दलले सातै प्रदेशमा भागबण्डा गरेर सत्ता चलाउने समझदारी गरे । त्यही समझदारी अनुसार लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी २०७८ साउन २८ गते मुख्यमन्त्री बने । जहाँ ओलीका एकजना विश्वासपात्र शंकर पोखरेल मुख्यमन्त्री थिए । उनले पनि बहुमत सिद्ध गर्न नसकेपछि २०७८ साउन २६ गते सत्ताबाट बाहिरिनुपरेको थियो ।

त्यसपछि त्यहाँ पनि विपक्षी गठबन्धनका कुलप्रसाद केसी साउन २८ गते मुख्यमन्त्री भएर सत्ता सम्हालिरहेका छन् । झण्डै दुइतिहाई जनमतसहित २०७४ फागुन ३ गते संघीय सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीले पूरा कार्यकाल सत्ता चलाउनै नपाई बिदा हुनुपरेको थियो । २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुईपटक गरिएको संसद विघटनले ओलीले संघीय सरकार मात्रै होइन प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी गरी चारवटै सरकार गुमाए ।

२०७४ मंसिरमा भएको प्रदेश र संघीय संसदको निर्वाचनमा माओवादी केन्द्रसँग कार्यगत एकता गरेपछि दुई पार्टीले संघीय संसदमा १ सय ७४ र प्रदेश तहमा ३ सय ५२ सदस्य जितेका थिए । त्यही आधारमा संघदेखि प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा नेकपाको बहुमतको सरकार थियो । तर, २०७७ वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने राजीतिक दलसम्बन्धी अध्यादेश ल्याए । त्यसले नेकपाभित्रको विवाद उत्कर्षमा पु¥यायो । त्यही विवादले उग्र रुप लिँदै गएपछि ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरिदिए ।

प्रतिनिधिसभा विघटनको विवाद बढ्दै गएर ओली र प्रचण्डले अलग अलग पार्टीको अभ्यास गरिरहेका बेला सर्वोच्चले नेकपा नै खारेज गरिदियो । अदालतको फैसलाबाट पुरानै अवस्थामा फर्किएको एमालेबाट २०७८ भदौ १ गते माधवकुमार नेपालसहितका केही नेताहरु बाहिरिए ।
उनीहरुले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि बाँकी प्रदेशमा पनि सरकार गुमाएको एमाले अब देशभर प्रतिपक्षी भूमिकामा पुगेको छ । एमालेको विभाजनका कारण बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई २ भदौमा मुख्यमन्त्री बनाइएको थियो ।

उनले पनि लामो समय सत्ता चलाउन पाइनन् । कुनै बेलाका उनकै सहयात्री राजेन्द्र पाण्डेले १२ कात्तिकमा शाक्यलाई विस्थापित गरिदिए । विभाजनअघि माधव नेपाललाई साथ दिएकी उनी विभाजनपछि एमालेमै बसिन् । एमालेमै बसेवापत अध्यक्ष ओलीले मुख्यमन्त्री बनाएका थिए । तर उनी केबल ७१ दिन मात्रै सत्तामा रहिन् ।

उता प्रदेश १ मा पनि एमाले सचिव भीम आचार्यको सत्ता यात्रा ६८ दिनमै टुंगियो । आचार्य तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई विस्थापित गर्दै भदौ १० मा मुख्यमन्त्री भएका थिए । यससँगै एमाले अब केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी दल बनेको छ । २०७४ को निर्वाचनमा ओली र पुष्पकमल दाहाल प्रचण्डले अबको ५० वर्ष कम्युनिष्टले शासन चलाउने घोषणा गरेका थिए । जुन घोषणा उनीहरुकै विवादका कारण केही वर्षमै दुर्घटनाग्रस्त हुन पुग्यो । यसको फाइदा कांग्रेसले उठाउन पाएर केन्द्रदेखि प्रदेशसम्म सत्तारुढ बनेको छ ।

प्रतिक्रिया