प्रदेश १ मा नयाँ मुख्‍यमन्त्रीको लागि राजेन्द्र राईद्वारा दाबी पेश

काठमाडौं । प्रदेश १ मा पाँच दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेको छ । प्रस्तावित मुख्‍यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेर दाबी पेश गरेको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनको लागि मंगलबार दिउँसो १ आवहन गरे लगत्तै पाँच दलीय गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनको लागि आजै दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ ।

विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका छन् ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्रीको पद सम्हालेका भीम आचार्यले पदबाट राजीनामा दिएपछि राजेन्द्र राईले दाबी पेश गरेका हुन् ।

प्रतिक्रिया