बहसमा पोखरेली जलरङ

कास्की । नेपालमा राजधानीपछि कलाका गतिविधि हुने नगरका रुपमा पोखरालाई लिने गरिन्छ । संस्थागत दृष्टिले पनि २०२५ सालपछि यहाँ कलाका विविध गतिविधि हुँदै आएको इतिहास छ । नेपाल ललितकला संस्था (नाफा २०२२) को स्थापनापश्चात् कलालाई क्षेत्रीय रुपमा विस्तार गर्ने लक्ष्यअनुरुप पोखरामा सिर्जनशील कलाकार समूहको २०२८ सालमा स्थापना भएको कलाकार गोपाल श्रेष्ठले बताए । उनका अनुसार यस संस्थाले पोखरामा कलाका गतिविधिसँगै जलरङमा दृश्यचित्रण गर्ने कामलाई गति दियो । नेपालमा कलालाई पर्यटनसँग जोड्दै त्यसलाई व्यवसायिकरण गर्नमा पोखरामा विकास भएको शैलीले महत्वपूर्ण भूमिका खेलेको छ । प्रकृतिको सामिप्यतामा रहेर कलाकारले बनाएका दृश्यचित्रमा जलरङको पोखरेली सुगन्ध थियो र अहिले पनि छ ।

वास्तवमा पोखरा र त्यसको वरिपरीबाट देखिने हिमाल, मौलिक ग्रामीण वास्तुकला तथा प्राकृतिक सौन्दर्यलाई पोखरेली कलाकारले चित्रमार्फत पहिलोपल्ट बाहिर ल्याउने काम गरे । हिमाल, मौलिक वास्तुकला तथा ग्रामीण जनजीवनले पोखरा र त्यस वरपरको यथार्थ वस्तुस्थितिलाई चित्रमा उतारेर पोखरेली कलाकारले कलाक्षेत्रमा नै नयाँ शैलीको विकास गर्न सफल भए । वास्तवमा माध्यमका दृष्टिले हेर्दा राज्यको केन्द्रिकृत सुविधा हुँदाहुँदै पनि जलरङमा पोखराले राजधानी काठमाडौंलाई उछिनेको मात्रै होइन व्यवसायिकरणमा महत्वपूर्ण भूमिका समेत खेल्न सक्यो । पोखरामा विकास भएको यो स्कुल नेपाली जलरङ माध्यमका निम्ति निकै विशिष्ट महत्वको रहन गएको छ । प्रयोगका दृष्टिले पोखरेली शैली वा स्कुलका रुपमा यसलाई लिनुपर्दछ । यसको श्रेय यस क्षेत्रमा रहेर निरन्तर साधना गर्ने कलाकारमै जान्छ । त्यसको अगुवाका रुपमा अग्रज कलाकार दुर्गा बरालको नाउँ अग्रस्थानमा आउँछ । यस्तै, यादवचन्द्र भुर्तेल, कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, हरेराम जोजिजु, आलोक गुरुङ लगायतका कलाकारले पोखरामा रहेर कलाकर्मलाई अगाडि बढाए । कलाकार भुर्तेलले २०२४ सालमा ललितकला महाविद्यालयमा अध्ययन गरेको सुनाए । कला अध्ययनसँगै उनले पोखरामा दृश्यचित्र बनाउने काम पनि गरे ।

३० को दशकपछि कलाकार बुद्धि गुरुङले निरन्तर रुपमा कलामा संलग्न रहँदै आए । उनले पोखरेली शैलीको विकासमा कलाकारको मिहिनेत निकै महत्वको रहेको बताए । बोल्ड प्याच शैलीमा काम गर्दै आएका गुरुङले पोखराले नेपाल जलरङमा नयाँपन दिनसकेको जिकिर गरे । हरेराम जोजिजुले त पोखरामा चलेको परम्परालाई नयाँ मोड दिन सफल भए । बराल, भुर्तेल, गुरुङ, जोजिजु लगायतका कलाकारले पोखरेली कला परम्परालाई विकसित गर्दै अघि बढे । कलाकार रमेश श्रेष्ठले पोखरेली कला परम्पराले नेपाली कलामा नयाँपन दिन सकेको धारणा व्यक्त गरे । उनले पोखरामा कलाकारले विशेष गरी जलरङमार्फत प्रकृति, संस्कृति तथा ग्रामीण जनजीवनलाई कलाकारले कलात्मक रुपमा चित्रमा प्रस्तुत गरेको बताए । कलाकार श्रेष्ठले ५० को दशकमा एक्यापमार्फत जलरङ कार्यशाला अभियान नै चलाएका थिए ।


अग्रज कलाकार आलोक गुरुङले पोखरेली कलापरम्पराले नेपाली कलालाई नयाँ उचाईमा लैजान सफल भएको सुनाए । चार दशक लामो कलायात्रामा उनले प्रकृति, संस्कृति तथा ग्रामीण परिवेशलाई चित्रमा उतार्दै आएका छन् । अग्रज कलाकार हरेराम जोजिजुले त जलरङमार्फत शैलीमा नयाँ मोड दिन सफल भए । उनले सांस्कृतिक, प्राकृतिक तथा सामाजिक विषयलाई नयाँ तरिकाद्वारा चित्रमा प्रस्तुत गरे । हरेरामले जलरङको मर्म र विशेषतालाई पोखरेली कलाकारले आत्मसात् गर्दै काम गरेको बताए । यसैगरी, पोखरामा २०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनापछि कला गतिविधिले तीब्रता पाउँदै गयो । यस संस्थाले निरन्तर कार्यशाला तथा अभियानका रुपमा दृश्यचित्रणलाई अगाडि बढायो ।

नेपाली जलरङमा बनेका कलामा विश्व भूमण्डीकरणको प्रभाव परेको सुनाउँदै आइडब्लुएस नेपालका अध्यक्ष तथा कलाकार एनबी गुरुङले विश्व परिदृश्यमा देखिएका सबैखाले अभ्यासहरु नेपाल पनि देखिएको बताए । उनले भने, ‘नेपाली विषय विशेषगरी ल्याण्डस्केप, पोट्रेट र डेलिलाइफ सबैखाले कलाकारले अभ्यास गरी राखेका छन् । वेट अन वेट र अन ड्राइ टेक्निकमा पनि सबैखाले अभ्यास भएका छन् । यसका बाबजुद पनि नेपाली जलरङमा मौलिक खालको नेपाली सुगन्ध भएका ल्याण्डस्केप र नेपाली जनले भोगेका विषय उठान पनि एकातिर भइराखेकै छन् यो खुसीको कुरा हो ।’ उनले पोखरेली जलरङले नेपाली कलामा नयाँपन दिन सकेको सुनाउँदै पछिल्लो समय खस्किँदै जान थालेकोमा चिन्ता व्यक्त गरे ।

यस्तै, युवा कलाकार शिव शिर्पालीले पोखरेली जलरङलाई ब्रान्डका रुपमा स्थापित गर्न पोखराका अग्रजदेखि नवोदित कलाकारले विशिष्ट योगदान दिएको बताए । उनले भने, ‘पोखरा पर्यटनका दृष्टिले महत्वपूर्ण स्थान भएकाले र यहाँको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक परिवेशसमेत कलाका लागि निकै अनुकूल हुनु कलाकारका लागि सुखद् पक्ष हो ।’ यसैगरी, पोखरामा रहेर काम गर्ने अन्य कलाकारमा क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, लोकप्रसाद गुरुङ, विश्व श्रेष्ठ, केदार पालिखे, महेन्द्रप्रसाद राजभण्डारी, पदम घले, सञ्जय गुरुङ, राजदूर जोशी, विश्वराज पराजुली, बाबुराम बस्ताकोटी, तिलकप्रसाद पुन, एनबी गुरुङ, मिलन शेरचन लगायतले पनि कला विकासमा विशिष्ट योगदान दिएका छन् । यस्तै, होग्रेथ भुर्तेल, प्रकाश श्रेष्ठ, शंकरलाल श्रेष्ठ, रिक गुरुङ, शरदचन्द्र अधिकारी, किशोर रानाभाट, कमल गुरुङ, एस कुमार श्रेष्ठ,  इशान परियार, सुर्य बराइली, राजु जिसी, मनोज तामाङ, दलबहादुर गुरुङ, झविन्द्र गुरुङ, ढाका भट्टराई, नगेन सिंह, ज्योति गुरुङ, सुष्मा जोशी, सोफिया गुरुङ, विश्व पराजुली, युवराज लामिछाने, एलिता गुरुङ, शारदा नेपाली, गोपाल दराई, देवेन्द्र गुरुङ, हेमकान्ती गुरुङ, निशान थापा, आकाश गुरुङ, महादेव शाही, सुदिन श्रेष्ठ, सुरेन्द्र अधिकारी, अमृत कार्की, रामबहादुर लामा, विकास श्रेष्ठ, भुपेन्द्र, हेमकान्ती गुरुङ, मीना गुरुङ, लक्ष्मी पुनलगायतका पोखरेली कलाकारले जलरङमा काम गरेर नेपाली कलालाई उचाईमा पुर्याउन निकै मद्दत गरेका छन् । पछिल्लो समय नयाँपुस्ताका कलाकार हेमकान्ती गुरुङले आफ्नो ग्यालरीमार्फत पोखरा केन्द्रित गरेर अन्तर्राष्ट्रिय प्रदर्शनी तथा कार्यशालाको तयारी गरिरहेकी छन् । विगत डेढ दशकदेखि कलाक्षेत्रमा सक्रिय कलाकार कमल गुरुङले पोखरा कलाक्षेत्रका लागि निकै उर्वरभूमि रहेको सुनाए । उनले काठमाडौं बाहिर पोखरामा पनि कलाकार कला विकासका लागि सक्रिय रुपमा लागिरहेको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रदेशको सहआयोजनामा कार्तिक ६ देखि ८ गतेसम्म पोखरामा भएको तीनदिने प्रयोगात्मक जलरङ चित्रकला विषयक कार्यशाला, गोष्ठी तथा प्रदर्शनीमा वर्तमान अवस्था र परिवेशका बारेमा बहस भयो । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पोखरेली कला परम्पराले नेपालकै कलालाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिएको बताए । प्राज्ञ सुषमा राजभण्डारीले पोखरेली कलापरम्परालाई अझै प्रभावकारी र विशिष्ट बनाउन सबै कलाकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।

जलरङ
पानीलाई घोलको रुपमा मिसाएर चित्र बनाइने विधिलाई जलरङका रुपमा चिनिन्छ । यो पारदर्शी हुन्छ अर्थात् चित्रसतहको स्पर्शभाव (टेक्सचर) सहित चित्रित विषयवस्तु उतारिन्छ । माध्यमका दृष्टिले पानीरङमा पारदर्शिता, सरलता, रङप्रवाह÷गतिशीलता र ताजापन हुन्छ । यसैकारण यस रङमा बनेका कलाकृतिप्रति कलापारखीको निकै आकर्षण रहेको देखिन्छ । पानीरङमा काम गर्दा सेतो रङ मिसाइँदैन र त्यसको स्थानमा कागज वा चित्रसतहको सेतो भागलाई छाडिन्छ । चित्रसतह वा कागजको सेतो भागलाई नै सेतो रङको रुपमा लिइन्छ । जलरङमा कालो रङको प्रयोगलाई समेत त्यत्ति उपयुक्त मानिँदैन । यी रङको प्रयोगले जलरङको मुख्य विशेषता वा मर्म मर्दछ ।

जलरङका चित्र बनाउन कलाकारमा धैर्यता, दक्षता तथा यसका विशेषताप्रति ज्ञान हुनुपर्दछ । यो अन्य माध्यमका दृष्टिले अलि गाह्रो माध्यम पनि हो । तर लामो अभ्यास र दक्षताले कलाकारले यस रङको मर्मलाई आत्मसात् गर्न सक्दछन् । जलरङमा चार वटा तत्व हुन्छन् । यी तत्वमा रङद्रव्य (पिगमेन्ट) जैविक, कृत्रिम वा खनिज आदि । यस्तै, गम (ग्लु) जसलाई अरेबिक गम पनि भनिन्छ । यसले रङद्रव्यलाई चित्रसतहमा अड्याउन महत्वपूर्ण भूमिका खेल्दछ । यसैगरी अर्को तत्वमा योजक वा एडिटिभ्स हुन्छ, जसले रङलाई टिकाउन मद्दत गर्दछ । त्यस्तै जलरङलाई वाष्पीकरण हुन दिने घोलक (सोलभेन्ट) अर्को तत्व हो । यसले रङलाई पातलो बनाउन र सुकिसकेपछि वाष्पीकरण हुन सघाउँछ ।

विशेषगरी दृश्यचित्र रचनामा यो माध्यम निकै उपयुक्त हुन्छ । कागज र रङको सहज उपलब्धताका कारण यसप्रति कलाकारको आकर्षण बढी नै छ । जलरङमा उज्यालोबाट गाढातिर काम गर्दै गइन्छ । एक्रेलिक, आयल र अन्य माध्यममा अध्याँरोबाट उज्यालोतर्फ काम गर्दै पूर्णता दिइन्छ । यस्तै, जलरङबाट चित्र बनाउँदा वास एण्ड ग्लेज, वेट इन वेट र ड्राइब्रस विधि अपनाइन्छ । यस्तै जलरङमा चित्र बनाउनका लागि आवश्यकतानुसार प्रकारका कागज बढी प्रयोग गरिन्छ ।

क) हट प्रेस्ड  ख) कोल्ड प्रेस्ड र ग) रफ प्रेस्ड

क) हट प्रेस्ड कागजको सतह चिप्लो खालको हुन्छ । चिप्लो हुने भएकाले चित्र बनाउँदा सुरुमा राखिएको रङ अर्को रङ लगाउँदा बाहिर निस्कने समस्या हुन्छ । यसमा आफूले रोजेअनुसारको रङ निकाल्न सकिँदैन ।

ख) कोल्ड प्रेस्ड कागज मध्यम खालको खस्रो सतह हुन्छ । जलरङमा काम गर्ने अधिक कलाकारले यो कागजलाई मनपराउँछन् ।
ग) रफ प्रेस्ड कागजको सतह कडा खस्रो हुन्छ । साथै रङ सजिलै ग्रहण नगर्ने किसिमको हुन्छ । जलरङ बनाउने कागजको १८५ ग्रामदेखि ६४० ग्रामसम्मका हुन्छन् ।

जलरङको विकास
जलरङको ऐतिहासिक पक्षलाई नियाल्ने हो भने युरोपको पुनर्जागरण कालसम्म पुग्नुपर्ने हुन्छ । साथै जर्मनीका कलाकार अल्ब्रेख्ट ड्युररलाई प्रारम्भिक कालका महत्वपूर्ण कलाकारको चिनिन्छ । उनले जलरङबाट विभिन्न जनावर, बनस्पति, पशुपंक्षी तथा भूदृश्यका चित्र बनाएका थिए । उनले जलरङको शैलीगत स्कुलकै विकास गरेका थिए । उनीपछि त्यसको अगुवाई जर्मनीमा हान्स बोलले गरे ।

वास्तवमा १७औँ शताब्दीमा बारोक समयमा कलाकारले चित्र सिक्नेक्रममा स्केच कपी गर्न वा साना साना डिजाइन बनाउन जलरङको प्रयोग गरिन्थ्यो । युरोपमा १८औं शताब्दीको उत्तराद्र्ध र १९औं शताब्दीको प्रारम्भताका जलरङलाई प्रमुख माध्यमका रुपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने बहस नै चल्यो । इंग्ल्याण्डमा कलाकृति संकलन गर्ने प्रचलन बढ्दै जान थालेपछि रोयल वाटरकलर सोसाइटी बनेको थियो । यो सोसाइटीले बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै कलाको प्रदर्शनी तथा बिक्री वितरण ग¥यो । युरोपमा यस्ता सोसाइटी थुप्रै बने । नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद, अभिव्यञ्जनावाद, घनवाद, अतियथार्थवाद, अमूर्तवाद, सामाजिक यथार्थवाद लगायतका विश्वमा विकसित भएका कलाका विभिन्न चिन्तन र शैलीमा काम गर्ने कलाकारले समेत जलरङ माध्यममा थुप्रै कला रचना गरेका थिए ।

नेपालमा जलरङ
नेपालमा जलरङ प्रयोग सुगौली सन्धीपछि भएको हो । यसअघि पनि पानीमा घुल्ने रङ अपारदर्शी रङमा नै कलाकारले चित्र रचना गर्दै आएका थिए । जब नेपाल र बेलायतबीच सुगौली सन्धी भयो तब जलरङमा काम गर्न थालिएको हो । यसपछि नेपालमा ब्रिटिसकालीन भारतीय प्रभावबाट नै कला परम्परा अघि बढेको देखिन्छ । ब्रिटिस शासकले खोलेका भारतका विभिन्न कलेजमा नेपालबाट कला अध्ययन गर्न जानेक्रम पनि बढ्दै गयो । त्यसको प्रभाव पनि नेपाली कलामा प¥यो भने अन्य देशमा अध्ययन गरेर फर्केका कलाकारले समेत नयाँ शैलीमा काम गरे । जसको फलस्वरुप जलरङमात्रै नभएर नेपाली कलामा समेत नयाँ गोरेटो कोरिँदै गयो । नेपाली कलामा पुरानो परम्परा, मान्यता र शिल्पविधिलाई छाडेर नितान्त पश्चिमा शैलीमा कला रचना गर्ने कार्यको प्रारम्भ भएको समय थियो । यसको अगुवा कलाकार राजमानसिंह चित्रकारले गरेको देखिन्छ । उनले हड्सनको अध्ययन अनुसन्धानका निम्ति चित्र बनाएका थिए । ती चित्र यथार्थपरक थिए । उनले सुरुमा (सन् १८२० को दशकमा) बिहार, चैत्य, मठ–मन्दिर तथा दरबारका स्केच बनाए । यसबेला जलरङको प्रयोगको सुरुवात् भएको देखिन्छ । कलाकार राजमानसिंह चित्रकार र उनको टोलीले ब्रायन हड्सनका हिमालयन अध्ययनका क्रममा थुप्रै कलाकृति बनाए । जानकारका अनुसार लगभग २००० स्केच र चित्रहरू अहिले पनि रोयल एसाइटिक सोसाइटी लन्डनमा सुरक्षित छन् । हडसनले त्यसवेला ११,००० भन्दा बढी जीवजनावर र पंक्षीका चित्र बनाउन लगाएका थिए भन्ने कुरा इतिहासविद् बताउँछन् । प्रायः रंगीन चित्र जलरङबाट बनाएको पाइन्छ । नेपालमा जलरङको प्रयोग गर्ने पहिलो कलाकार राजमान सिंह चित्रकार हुन् ।

भाजुमान चित्रकार जंगबहादुर राणाको वेलायत यात्रामा सन् १८५० (१९०७ साल) मा सामेल थिए । उनले बम्बई हुँदै बेलायत, पेरिस लगायतका ठाउँ घुम्ने अवसर पाए । त्यसक्रममा भाजुमानले वेलायत र पेरिसका कला संग्रहालय अवलोकन गर्ने अवसर पाए । मुलतः उनले त्यहाँबाट केही नयाँ शैली र सीप सिक्ने मौका पाए । नेपाल फर्केपछि उनले विशेषगरी राणाका मुहारचित्र तथा व्यक्तिचित्र बनाए । उनले जलरङमा केही चित्र बनाएका थिए । यसबीचमा कृष्णमान चित्रकारले पृथक काम लिएर आएका थिए भने अरू धेरैजसो कलाकार दरबारमा चित्रकारको नोकरीमा थिए । यस्तै, कलाकार धीर्ज नारायण, हनुमन्त सिंह चित्रकार, जीतनरसिंह चित्रकार, हर्कनारायण चित्रकार, भीमनाराण चित्रकार, पूर्णमान चित्रकार, बखतमान चित्रकार, चैत्ये चित्रकार, दीर्घमान चित्रकार लगायतले पनि थुप्रै चित्र बनाए ।

कलाकार चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले पहिलोपटक कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गर्ने अवसर पाए । उनीहरूले सिकेको पश्चिमा वस्तुवादी, यथार्थपरक कला धाराले नेपाली कला परम्परामा नयाँ युगको सुरुवात् भयो । परम्परावादी कला धारा यही कालदेखि पछाडि पर्न थाल्यो । मास्के र चित्रकारले नेपालमा यथार्थवादी कला बनाउन सुरुवात् मात्रै गरेनन्, थुप्रै कला विद्यार्थी पनि जन्माए । यी कलाकारको नेपाल प्रवेश नै नेपाली आधुनिक कलाको विकास र बिस्तारको सूत्रपात थियो । २००७ सालसम्म नेपालमा जहानियाँ राणाशासनको बोलवाला थियो । कलाकार उनीहरूकै आदेश र निर्देशनमा चल्नुपथ्र्यो । तसर्थ उनीहरूले मुहारचित्र, केही दृश्यचित्र तथा नेपाली जनजीवन झल्कने कलाकृति पनि बनाए । तेलरङसँगै यसवेला कलाकार जलरङमा समेत थुप्रै चित्र बनाएका थिए ।

०४६ सालसम्म आइपुग्दा नेपाली कलापरम्परामा विश्वमा चलेका विभिन्न धारको प्रयोग भएको देखिन्छ । त्यसयता राजनैतिक परिवर्तनपछि नेपाली कलाकारले स्वतन्त्ररूपमा कला सिर्जना गर्ने अवसर पाए । विश्वका हरेक कला गतिविधिले नेपाली कलाकारको ध्यान खिच्यो । साथै, नयाँ पुस्ताका कलाकार जुर्मुराउँदै उठे । कलामा नयाँ शिल्पविधि, चेतना, अवधारणा तथा दर्शन लिएर कलाकार देखापरे । ०४६ सालको परिवर्तनपछि सरकारीस्तरबाट कलाकारले सहयोग भने पाउन सकेनन् । त्यसैगरी, नेपालमा ०५० सालको दशकपछि उत्तरआधुनिक कलाभ्यास पनि भएको छ । ०४६ पछिको पुस्ताले नेपाली कलाकाशमा नवीनतम छापहरू छोड्न सफल भए । ०६० को दशकपछि नेपाली कला क्षेत्रमा सयौं कलाकार आफ्ना प्रतिभा लिएर आएका छन् । ललितकला क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्टस् तथा काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एण्ड डिजाइनबाट निस्केका थुप्रै प्रतिभासम्पन्न कलाकारले नेपाली कला क्षेत्रलाई निकै माथि पुर्याउन सफल भएका छन् ।

प्रतिक्रिया