साहसिक खेल थप्दै ‘द हार्नेस प्रालि’

पर्वत । पछिल्लो केही वर्ष यता केही न केही नयाँ गतिविधिबाट चिनिँदै आएको पर्वत जिल्लामा फेरी नयाँ साहसिक खेल थपिएको छ । साहस र आँट भएकाहरूलाई लक्षित गर्दै यो खेल सञ्चालनमा आउन लागेको ‘द हार्नेस प्रालि’ले जनाएको छ । विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको विश्वकै दोस्रो लामो जिपलाइन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा ‘विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा आउन लागेको हो । बन्जी र जिपलाइनको बिचमा कालिगण्डकी नदीमाथि १४ सय ८० मिटर लामो सुपरम्यान जिपलाइन सञ्चालन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाले बताए ।

यो खेल निर्माण ८० लाख रूपैयाँको लगानीमा पिङ निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका निर्देशक बानियाले बताए । उनले भने, ‘जमिन बलियो पार्न फाउन्डेसनको लागि मात्र ५० लाख खर्च गरिएको छ, अन्य सामग्री जडानको काम हुँदैछ ।’ कात्तिकको दोस्रो सातामा नै यस खेललाई सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका थियौँ, तर विभिन्न प्राविधिक कुराहरूले गर्दा तेस्रो साता सञ्चालनमा आउने बानियाको भनाइ छ ।

१५ करोडको लगानीमा जिपलाइन निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । यसैको साथमा फेरि ८० लाखको लगानीमा हाइड्रोलिक स्विङ निर्माण भएको हो । यी विभिन्न साहासिक खेलले पर्वतको पर्यटनमा थप टेवा पुग्ने कम्पनीको विश्वास छ । यस्तै खालका पिङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालनमा आउन लागेको पिङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको निर्देशक बानियाँको दाबी छ ।

नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको प्रयोग गरेर तानेर छाड्ने खालको रहेकोमा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय मेसिनको प्रयोग गर्न लागिएको छ । यस खेलमा प्रयोग गरिएका सम्पूर्ण उपकरणहरू बिदेशबाट मगाएको कम्पनीले जनाएको छ ।

मेसिन निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चितपटक मात्रै मच्चिने र हरेकपटक पार गर्ने दुरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताए ।

‘यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन । एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्मको अवस्थामा सिधा हुन्छ,’ उनले भने, ‘यो पिङमा चिनियाँ प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौँ ।’

निर्माण कम्पनीका अनुसार पिङमा एकपटकमा चार जनासम्म बसेर खेल्न मिल्नेछ । पिङ निर्माण अन्तिम चरणमा रहेको र जिपलाइनको परीक्षणसमेत सफल भएकाले तेस्रो साताबाटै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुआत गर्ने तयारीमा कम्पनी रहेको निर्देशक बानियाले जानकारी दिए ।

प्रतिक्रिया