बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ ।

औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन् ।

दैनिक दर्जनौँ बिरामी आउने गर्छन्, सबैले अस्पतालमा औषधि नहुँदा बजार गई किनेर ल्याउने गरेको बिरामीका आफन्त कुमार केसीले बताए । उनले भने, ‘मैले त सबै औषधि निःशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नुपर्यो, अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन ।’

स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मातहतमा रहेको छ । आर्थिक वर्ष २०७८–०८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ ।

कर्णाली प्रदेश सरकारको मताहतमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन् । स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारीअनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ ।

‘औषधि नहुँदा नसाबाट आषधि दिने बिरामीलाई सबैभन्दा बढी सास्ती भएको छ’, उनले भने, ‘औषधि छैन बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामी रिसाउनुहुन्छ, हामी मेडिकलमै उपचार गर्छौं उसो भएभन्दै फर्कनुहुन्छ ।’

एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ । एक्सरेको प्रिन्टरमा खराबी आउँदा हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने उनले बताए ।

सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ । कीटको अभावमा सबै खालको परीक्षण गर्न नपाइएको चिकित्सकले बताएका छन् । कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्नसमेत अप्ठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामी बताउँछन् । स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ । सिटामोलबाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सक बताउँछन् ।

विशेषज्ञसहित ९ जना चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच करारका चिकित्सकको भरमा छ । दरबन्दीमा एक नर्सबाहेक सबै करारमा छन् । करारमा कार्यरत नर्सको नवीकरणसमेत नगरिएकाले काम गर्न मुस्किल हुँदै आएको छ ।

जनशक्ति, औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताए । ‘नयाँ औषधि ल्याइएको पनि छैन, भनेको सबै औषधि पनि डोल्पामा पुर्याउन सकिँदैन कुरा यही हो’, उनले भने ।

प्रतिक्रिया