‘जुलुङ्गो’ लाई युनिसेफ अवार्ड

काठमाडौं । राजेशप्रसाद खत्रीले निर्देशन गरेको चलचित्र ‘जुलुङ्गो’ (अ स्केरक्रो) ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ (युआइएफएफ) मा ‘युनिसेफ आइरिस ७५’ अवार्ड हात पारेको छ । युनिसेफको अनुसन्धान कार्यालय इनोचेन्टीले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने विषयलाई कुशलतापूर्वक देखाइएका चलचित्रको उत्सव मनाउँदै आएको छ । इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टोबरसम्म भएको उक्त महोत्सवमा विश्वका २९ देशबाट ३९ वटा चलचित्र विशेष प्रदर्शन भएका थिए । बालबालिकाको अवस्थाबारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न महोत्सव गर्दै आएको हो । साथै संसारभरि बाल्यावस्थालाई विषयवस्तुको रूपमा अन्वेषण गरी प्रोत्साहित गर्न युआइएफएफले आइरिस अवार्ड स्थापना गरेको हो ।

दोस्रो संस्करणको महोत्सवमा एक सय १४ देशबाट कुल १७ सय चलचित्र प्राप्त भएको आयोजकले जनायो । युनिसेफको ७५औं वार्षिकोत्सवको सन्दर्भ परेर ‘युनिसेफ ७५ आइरिस’ संसारभरि मनाइने युआइएफएफको उत्कृष्ट सम्मान हो । अन्तर्राष्ट्रिय निर्णायक मण्डलीले स्वशिक्षा प्राप्त नेपाली चलचित्र निर्माता राजेशप्रसाद खत्रीद्वारा लिखित तथा निर्देशित ‘अ स्केरक्रो’ लाई शीर्ष पुरस्कारको लागि चयन गरेको हो । खत्री एक विद्यालयका शिक्षकसमेत हुन् । उनले चलचित्रमा किशोरीलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधालाई सही ढंगले चित्रण गरेका छन् । उनले दुर्गम गाउँको शिक्षक भएको हुनाले आफूले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको र उनीहरुका सपनालाई चलचित्रमा समेट्ने प्रयास गरेको सुनाए । उनले भने, ‘जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू, र उनीहरूको आँसुसँगै मेरा भावनालाई अनुभव गर्न सक्छु । ती सत्य कथाहरूलाई चलचित्रको माध्यमबाट प्रस्तुत गरी म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र ती कथा संसारका सबै भागमा पुग्ने आशा गर्दछु ।’

यस्तै, महोत्सवको निर्णायक मण्डलीले ‘ए स्केयरक्रो’ लाई भिजुअल सिम्बोलिजम र बालअधिकारसम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्वपूर्ण सन्देश भएको कारण चयन गरेको जनाएको छ । निर्देशक खत्रीको यस चलचित्रले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा समेत उत्कृष्ट लघुचलचित्रको अवार्ड हात पारेको थियो । यो चलचित्र कोरियाको बुसान फिल्म फेस्टिभलमा पनि लघुचलचित्र विधामा प्रतिस्पर्धामा रहेको थियो ।

यसैगरी महोत्सवमा बिजेता बनेको सर्वश्रेष्ठ चलचित्रमा सामन्था सेलिन ओकोथद्वारा निर्देशित ‘द गेम’ रहेको छ । नैरोबी बस्तीमा बसोबास गर्ने बालबालिकाको एक समूहद्वारा बनाइएको यस चलचित्रले उनीहरुलाई मनपर्ने खेल खेल्नका लागि गरेको दृढसंकल्प र रचनात्मकताको कथालाई देखाएको छ ।

सर्वश्रेष्ठ फिल्म (महामारीमा बाल्यवस्था) अवार्ड फरिद अहमदद्वारा लिखित र निर्देशित छोटो वृत्तचित्र ‘अन्तरा’ ले पाएको छ । यसले महामारीको कथालाई भनेको छ । कथा बंगलादेशको घना बस्तीमा बस्ने एक जना किशोरीको नजरबाट भनिएको छ । किशोर नायिकाले गुम्सिएको भावना व्यक्त गर्न सक्षम भएको कारण निर्णायक मण्डलीले यो चलचित्र चयन गरेको हो ।

सर्वश्रेष्ठ चलचित्र (खुला श्रेणी–गैरआख्यान) अवार्ड ओएभिन्द आम्लीद्वारा निर्मित र निर्देशित ‘बिइङ समवान एल्स’ वृत्तचित्रले पाएको छ । कमिक कनको लागि तयारी गर्दै गरेकी एउटी तेह्र बर्षीय पात्रलाई पछ्याउँछ र उनको असक्षमताको कारण उनलाई पर्ने प्रभावलाई प्रतिविम्बित गर्दछ । अटिजम भएका बालबालिकालाई बुझ्ने यो नौलो परिप्रेक्ष्य भएको कारण निर्णायक मण्डलीले यो छानेको जनाइएको छ ।

सर्वश्रेष्ठ फिल्म (खुला श्रेणी–आख्यान) तर्फ मार्टिना मात्ज्किनद्वारा लिखित र निर्देशित ‘द नेम अफ द सन’ ले प्राप्त गरेको छ । यो छोटो चलचित्र एउटा १३ वर्षीय ट्रान्सजेन्डर किशोरका बारेमा रहेको छ । जसमा छुट्टीमा आफ्नो बुबा र कान्छी बहिनीसित एउटा यात्रामा निस्कन्छ । यो नयाँ निकटताले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ । निर्णायक मण्डलीले यो चलचित्रमा बुबा र छोराबीचको सम्बन्धबारे गरिएको संवेदनशील चित्रणलाई प्रशंसा गर्दै छनोट गरेको हो ।

विशेष उल्लेख तथा निर्देशनतर्फ भिक्टर सिगुर्योन्सनद्वारा निर्देशित ‘आइल्याण्ड लिभिङ’ ले पाएको छ । आइसल्याण्डको पूर्वी फोजर्ड्सको पृष्ठभूमिमा निर्मित यस फिल्ममा एक जना किशोरले संगीतको शक्तिमार्फत् मित्र भेट्टाउँछन् । तर ग्रीष्म ऋतुको अन्त्यसँगै उनले सामाजिक अनुरूपता अनुसार आफ्नो व्यक्तित्वलाई स्थापित गर्न संघर्ष गर्छन् । दृश्यबीचको सूक्ष्म भावनात्मक परिवर्तनले यस प्रतिरोधलाई सुन्दरतापूर्वक कैद गरेको पक्ष निर्णायकलाई मन परेको जनाइएको छ । विशेष उल्लेख तथा लेखनतर्फ सन्तोष रामद्वारा लिखित र निर्देशित ‘प्रश्न’ ले पाएको छ । मौसमी उखु मजदुरहरू कामका बसाइँ सर्नाले उनीहरूको छोराको शिक्षामा बाधा पुग्छ । आर्थिक र जातीय यथार्थका बावजुद उनीहरूले एउटा बाटो खोज्छन् ।

आफ्नो सरलता र संसारभरिका लाखौं बालबालिकालाई प्रभावित गर्न सक्ने सन्देशका कारण यो छोटो चलचित्रलाई छनोट गरिएको हो । युआइएफएफ विशेष पुरस्कारबाट ‘इराकस लस्ट जेनरेसन’ लाई छानिएको छ । उत्तरपूर्वी सिरियामा हजारौं ‘आइएसआइएस’ का बालबालिकाविना कुनै विद्यालय, सेवा र अधिकार जीवन व्यतित गरिरहेका छन् । यो वृत्तचित्रले त्यस्ता बालबालिकासित भेट गराउँछ जो रेसिलियन्स र बदलाको परिस्थितिमा बाँचेर पनि आफ्नो भविष्य खोज्ने प्रयासमा छन् । वृत्तचित्रमा आधुनिक युद्धले बालबालिकामा हुने विनाशकारी प्रभावबारे पनि चित्रण छ ।

यस्तै, युआइएफएफ विशेष पुरस्कारबाट अपांगताबारे नयाँ दृष्टिकोण प्रदान गरेको ‘द सिटी विदिन’ लाई दिइको छ । यस चलचित्रले दृष्टिविहीन पात्रको कथा भन्छ । आफ्नो इटालियन नागरिकताको पर्खाइमा रहेको र बन्दाबन्दीको समयमा घरभित्र फसेको एउटा बालक तथा उनीहरूको घर भएको बोलोग्ना सहरबारे परिचय दिने यो आना डि मानिन्कोरद्वारा लिखित र निर्देशित चलचित्र हो ।

प्रतिक्रिया