दुई कृति सार्वजनिक

काठमाडाैं । साहित्यकार रणेन्द्र बरालीद्वारा लिखित ‘रातो बारुद’ तथा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सामूहिक संकलन गरी प्रकाशन गरेको कविता संग्रह ‘ज्योती स्पर्श’ कविता संग्रह बजारमा आएको छ । दलित साहित्य तथा संस्कृति प्रतिष्ठान एवं पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कृतिको विमोचन गरे । उनले कृतिमा सामाजिक, राजनीतिक, सांस्कृतिक विषयलाई आकर्षक ढंगले कवितामा समेटिएको विचार व्यक्त गरे ।

क्मलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको सो कार्यक्रममा ज्योती स्पर्श संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक महेश पौड्यालले कृतिमा समाजमा दमित आवाजलाई सशक्त रुपमा प्रस्तुत गरिएको धारणा व्यक्त गरे । यस्तै, रातो बारुद कविता संग्रहमाथि परिचर्चा गर्दै साहित्यकार मातृका पोखरेलले समाज रुपान्तरणका विषयलाई कवि बरालीले कलात्मक रुपमा कृतिमा उतारेको विचार व्यक्त गरे । सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री माननीय महेश्वर गहतराज ‘अथक’, नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेती, पूर्वराज्यमन्त्री,.जितु गौतम, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, पदम विश्वकर्मा साहित्य प्रतिष्ठानका अध्यक्ष पदम विश्वकर्माले उक्त कृतिमाथि मन्तव्य व्यक्त गरेका थिए । कवि बरालीले आफूले समाजका दमित आवाजलाई कवितामार्फत व्यक्त गरेको बताए । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका बरालीले सामाजिक रुपान्तरणका निम्ति अझै सशक्त आन्दोलन गर्नुपर्ने विचार व्यक्त गरे । दलितका विषयमा लेखिएका कवितामा नेपाली समाजको प्रतिबिम्बलाई कलात्मक रुपमा चित्रण गरिएको छ । प्राज्ञ बाबा बस्नेतले समाजलाई रुपान्तरण गर्दै दमित तथा हेपिएका वर्गको विषयलाई कविले कवितामार्फत सशक्त आवाज व्यक्त गरेको धारणा राखिन् ।

यस्तै, सो अवसरमा कविता प्रतियोगिताका बिजेता आधुनिक राष्ट्रिय मावि मकवानपुर, हेटौडाका विद्यार्थी सजित विश्वकर्मालाई प्रथम, मेलुङ दोलखा ग्याल्यासियर इन्टरनेसनल कलेजका राजु उवरकोटीलाई द्वितीय तथा आदर्श मावि स्याङ्जाका विविका रणपाललाई तृतीय पुरस्कार प्रदान गरियो । पुरस्कृतलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद तथा सम्मान पत्र प्रदान गरियो । यसैगरी तेह्रथुम आठराईका साहित्यकार रविमान लम्जेललाई ५० हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो ।

प्रतिक्रिया