जलेश्वर । सुंगुर डोर्याएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरीको गौशाला नगरपालिका–११ की ६५ वर्षीया लक्ष्मीनियाँदेवी डोमिनले बताए । जिल्लाको विभिन्न गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७० वर्षीया भुल्लीदेवी डोमिनले बताइन् । डालो बुन्दै गरेकी जिल्लाको लोहारपट्टी नगरपालिकाकी ५५ वर्षीया मरनीदेवी डोमिनले भनिन्, ‘कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुसी हुन्छौँ ।’
छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेंतकै चोयाबाटै बनाइएका डालो, नाङ्ला र टालुटपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुडा किन्नु पर्दछ । छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ५० वर्षीय शंकर डोमले आपूmहरू सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए ।
त्यस्तै जिल्ला सदरमुकाम जलेश्वरका ईन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकभरीमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने गरेको बताए । त्यसैगरी जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति २० देखि ३० हजार र प्रत्येक परिवारले दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।
अहिले गाउँ–गाउँमा डोम जातीका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । डोम परिवारका सबै बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । छठपर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ छ ।
प्रतिक्रिया