एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

काठमाडौं । ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग ४–० गोलले पराजित भएको हो । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने चार गोल आएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा अनुभवी टोलीलाई मैदान उतारेका थिए । आयुष घलान, मनिष डाँगी र अभिषेक रिजाललाई स्ट्राइकरमा उतारेको थियो । उनीहरु तीनै जना सिनियर टोलीका सदस्य पनि हुन् ।

यसैगरी मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदम्बे र एरिक विष्टलाई प्रारम्भिक टोलीमा मैदान उतारिएको थियो । डिफेन्डर सुरज ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बू थिए । ठकुरी, अर्याल र श्रेष्ठ पनि सिनियर टोलीकै सदस्य हुन् । अनुभवी युवा टोलीले इरानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा इरान पूर्ण रुपमा हावी भएको थियो ।

यस जितसँगै समूह ‘बी’मा रहेको इरानले तीन अंक जोडेको छ। इरान समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । नेपालले अब दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अन्तिम खेलमा लेबनानसँग आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछ। यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुनेछ ।

प्रतिक्रिया