यस्ता छन, मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।

यसैगरी सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीले विभिन्न देशमा रिक्त राजदूत नियुक्ति चाँडै गरिने पनि बताए ।

प्रतिक्रिया