यू २३ एसियन छनौट आजदेखि : नेपाल टोलीको इरानसँग परीक्षा

बाली । ताजिकिस्तानमा बलियो इरानविरुद्ध सोमबार खेल्दै नेपाली युवा राष्ट्रिय टोलीले एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । छनोटको अघि इन्डोनेसियासँग शनिबार भएको खेल नेपाली टोलीले २–० ले गुमाएको थियो । युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले थोरै समयको तयारीका वावजुद टोलीले उच्च प्रदर्शनको प्रयास गर्ने दोहोराएका छन् । आइतबार प्रि म्याच कन्फ्रेन्समा उनले भने, हामीले तयारीका लागि थोरै समय मात्र पायौं । हामी केहि खेलाडी साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा थिए । त्यसका वावजुद पनि हामीले जति समय पायौं राम्रो गर्ने प्रयास गरेका छौं ।

छनोटमा स्तरीय टोलीसँग खेल्नु पर्ने उल्लेख गर्दै उनले थपे, ‘तीन वटै प्रतिद्वन्द्वी स्तरीय टोली हुन् । त्यो वास्तविकतालाई हामीले स्वीकार्नुपर्दछ । त्यसका वावजुद पनि हामीले राम्रो नतिजाको आशा राखेका छौं । हामी सक्दो राम्रो गर्नेछौं ।’ युवा टोलीका कप्तान अपर्ण कार्कीले अभ्यास सत्र राम्रो भएको उल्लेख गर्दै भने, .इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले पनि हामीलाई मद्दत पुगेको छ । हामीले आफ्नो कमजोरी थाहा पाउन अवसर मिलेको छ । हामी आफ्नो उत्कृष्ट दिनका लागि तयार छौं ।’

२३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीलाई समेट्दै महर्जनले यू–२३ टोलीको अन्तिम छनोट गरेका थिए । राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् ।

महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बरालमाथि भरोसा गरेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखिलाई पनि उनले मौका दिएका छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट कात्तिक ८ गतेदेखि १४ गते सम्म हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले इरानसँगै आयोजक ताजिकिस्तान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

प्रतिक्रिया