इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । केही दिनअघि अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रभावित भएकाहरूको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री देउवाले इलाम र पाँचथरका बाढीपहिरो पीडित र स्थानीयसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले बाढीले सबैभन्दा बढी प्रदेश–१ को इलाम र पाँचथरमा क्षति पुर्याएको उल्लेख गर्दै तत्काल राहतको विषेश व्यवस्था गर्ने, अस्थायी र स्थायी बसोवासको व्यवस्थापन गर्ने कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । ‘यसपटकको बाढीपहिरोले सबैभन्दा बढी प्रदेश–१ को इलाम र पाँचथरमा क्षति पु¥याएको छ’ प्रधानमन्त्री देउवाले स्थानीय र पीडितहरूसँग भने, ‘आगामी मन्त्रिपरिषद्को बैठकमा पीडितका लागि विशेष राहतको कार्यक्रम ल्याउँछौँ ।’
भ्रमण टोलीमा प्रधानमन्त्री देउवासहित ऊर्जामन्त्री पम्पा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको सहभागिता थियो । अविरल वर्षासँगै २ कात्तिकमा आएको बाढीपहिरोबाट इलाममा १४ र पाँचथरमा ३० जनाको ज्यान गएको थियो । बेपत्ता हुनेको संख्या इलाममा तीन र पाँचथरमा चार जना रहेका छन् ।
इलाम
प्रतिक्रिया