जब पत्नीलाई विमानबाट समुद्रमा फ्याकिदिएँ . . .

न्यूयोर्क । यहाँका एक सर्जनले आफ्नी श्रीमतीको घाँटी थिची हत्या गरेको र उनको शवलाई विमानबाट बाहिर फ्याँकेको कुरालाई सनसनीपूर्ण तरिकाले स्वीकार गरेका छन् । उनले करिब ४० वर्षदेखि आफूलाई यसमा निर्दोष बताउँदै आएका थिए । रोबर्ट बिरेनबमले आफ्नी श्रीमती गेल काट्जको सन् १९८५ मा हत्या गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । आफू त्यतिबेला अपरिपक्व भएको र रिसलाई नियन्त्रण गर्न नसकेका कारण श्रीमतीको हत्या गरेको जानकारी दिए । ‘उनले मलाई कचकच नगरोस् भन्ने म चाहन्थेँ, त्यसैले उनलाई आक्रमण गरेँ ।’ काट्सको हत्या अभियोगमा बिरेनबमलाई सन् २००० मा नै दोषी ठहर गरिएको थियो । तर उनले श्रीमतीको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताउँदै आएका थिए ।

एक अनुभवी पाइलटसमेत रहेका बिरेनबमले आफूले श्रीमतीको घाँटी थिची हत्या गरेको, उनको शवलाई सानो विमानमा राखेको र विमान समुद्रमाथि पुगेपछि शव फ्याँकेको बताएका छन् । काट्जको शव कहिल्यै भेटिएन । बिरेनबमविरुद्ध मुद्दा चलाउने म्यानहटनका पूर्व जिल्ला अधिवक्ताले उक्त स्वीकारोक्तिमा आश्चर्य प्रकट गरेका छन् । ‘सुरुमा त कसैले मसँग ठट्टा गरेजस्तो लागेको थियो,’ डान बिबले भने । ‘म यसकारण चकित भएँ किनभने उनले आफ्नी श्रीमतीको हत्या गरेको भनेर स्वीकार्छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’

बिबले ती पूर्व प्लास्टिक सर्जनलाई ‘साइकोप्याथ’ को संज्ञा दिएका छन् । बिरेनबमले गेललाई सन् १९८० को सुरुवातमा भेटेका थिए । सुरुवाती भेटमा नै बिरेनबमले उनलाई म्यानहटन वरिपरि विमानमा सयर गराएका थिए । यसैकारण पनि गेल बिरेनबमबाट असाध्यै प्रभावित भएकी थिइन् । यद्यपि, गेलकी बहिनी एलेन काट्जले एबीसीसँगको कुराकानीमा बिरेनबम असाध्यै नियन्त्रण गर्ने खालको र हिंसात्मक रहे । एलेनले भनिन्, ‘मलाई एकदिन दिदीले फोनमा बिरेनबमले आफ्नो बिरालोलाई टोइलेटमा डुबाउन खोजेको बताइन् ।’

‘मैले त्यतिबेला दिदिलाई बबबाट तिमी टाढा रहनुपर्छ भनेर सुझाएकी थिएँ,’ एलेनले भनिन् । एलेन काट्जका अनुुसार एक रात गेलले बाल्कोनीमा चुरोट पिइरहेका बेला बिरेनबमले उनको घाँटी अँठ्याएका थिए । गेल काट्जले यसबारे प्रहरीलाई भनेपछि उनीविरुद्ध ऊजुरी लिइएन । रोबर्ट बिरेनबम एक सर्जन थिए, दक्ष स्किइर, सेफ र दक्ष पाइलटसमेत थिए । ‘यो घटना सन् २०२१ मा हुँदो हो त रोबर्ट बिरेनबमलाई तत्काल हत्कडी लगाइन्थ्यो,’ बिबले भने, ‘घटना सन् १९८३ को थियो, त्यतिबेला केही गरिएन ।’ ७ जुलाई सन् १९८५ मा उनी हराएपछि बिरेनबमले काट्ज झगडा गरेर घर छोडेर गएको परिवारलाई बताए । उनले भने जीवन बाँच्न छोडेनन् । अन्य महिलालाई डेट गरे, पार्टीमा सरिक भए । काट्जको् परिवारले आफ्नो शंका प्रहरीसमक्ष लिएर गए । त्यसपछि म्यानहटनको जिल्ला अधिवक्ताको कार्यालयले यो मुद्दा चलायो ।

प्रतिक्रिया