काठमाडौं । इटालीबाट तेह्र वर्षपछि जन्मभूमी फर्केका विकास मेराग्लियाले यसै महिना सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पक्का भएको छ । कात्तिक २९ गतेबाट सुरु हुने लिगमा उनी च्यासल युथ क्लबको जर्सीमा देखिनेछन् । विकास शुक्रबार औपचारिक रुपमा च्यासलमा आबद्ध भएका छन् । नेपाली मूलका इटालियन खेलाडी विकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा अनुबन्धन गरेको जनाएको छ । खेलाडी सर्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश व्यनजनकार र विकासले सम्झौता पत्रमा हस्ताक्षण गरेका छन् । सम्झौता १ वर्षको हुनेछ ।
इटालीमा व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू १६ राष्ट्रिय टोलीबाट समेत खेलिसकेको बताइएको छ । ए डिभिजन लिग खेल्नै लागि उनी यसै साता जन्मभूमी फर्केका थिए । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएयता पहिलो पटक स्वदेश फर्केका हुन् ।
विकासले इटालीको चर्चित क्लबमध्येको एक एटलान्टा र भेनेजियाकोको जुनियर टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेको जनाएको छ । च्यासलका अध्यक्ष व्यनजनकारले विकासलाई आफ्नो क्लबबाट लिग खेलाउन पाउँदा खुसी लागेको बताएका छन् । च्यासल तेस्रो पटक ए डिभिजन लिग खेल्ने तयारीमा छ ।
विकासले आफू नेपाल फर्कंदा सपना पूरा भएको अभिव्यक्ति दिए । ‘मैले नेपाल फर्केपछि सपना पूरा भएजस्तो लागेको छ । १३ वर्षअघि इटाली गएपछि म सधैं नेपाल कसरी फर्कने भन्ने सोच्थें । च्यासलले मलाई यहाँ ल्याएको छ । नेपाल फर्कंदा एकदम खुसी छु,’ विकासले भने ।
विकासले नेपालको राष्ट्रिय टोलीबाट खेल्नेबारे भने अहिले केहि सोचेका छैनन् । ‘मैले त्यसबारे केहि सोचेको छैन । अहिले क्लबमा आबद्ध छु र यसमा ध्यान दिएको छु । भविष्यमा त्यस्तो अवसर आउँछ भने पक्कै सोच्नेछु,’ उनले भने ।
विकासले आफू नेपाली फुटबलबारे पछिल्लो समय पछ्याएको र राम्रो स्तर रहेको बताए । उनले टोलीसँग प्रशिक्षण गर्दा नेपाली खेलाडी खेल मात्र नभएर निकै सहयोगी भावनाको रहेको बताए । च्यासलका अध्यक्ष ब्यन्जनकारले विकासलाई ल्याउने लामो समयको प्रयास सफल भएको बताए । ‘हामीले विकासलाई लामो समयदेखि पछ्याएका थियौं । कोरोना र उनको उमेर नपुग्दा यसअघि समस्या थियो । अन्तत्ः उनलाई अनुबन्ध गर्न सफल भएका छौं । क्लबले यस सिजन कुल २ करोडको बजेट अनुमान गरेको छ,’ उनले भने । च्यासलले यसअघि टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डिरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको छ । क्लबले यो सिजन युक्यानको किट प्रयोग गर्दैछ ।
प्रतिक्रिया