प्रहरीमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको बताए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।’

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। अबसम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएका छन् । संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।

प्रतिक्रिया