मनाङमा ‘उचाई’

मनाङ । बलिउड चलचित्र ‘उचाई’ को नेपालका विभिन्न स्थानमा छायांकन भइरहेको छ । यो चलचित्रको छायांकन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकेर चलचित्र टोली मनाङ आएको हो । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने निर्माण पक्षले जनाएको छ । सो चलचित्र अभिनेता अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । नेपालमा अमिताभ भने आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी नेपाल आउन नसकेको ‘मुभिमेकर’ का एक सदस्यले बताए ।

छायांकनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । चलचित्र चार जनाको मित्रताको कथामा आधारित छ । जसको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । निर्माण पक्षका अनुसार अभिनेता अमिताभको नक्कल (डुप्लिकेट) को भूमिका राजा चौधरीले निभाइरहेका छन् । सुरज बडजात्याको निर्देशनमा बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले चलचित्रको निर्माण गरिरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन तालिका रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्रि ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारी दिए ।

चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन् । हिमाली भेगमा छायांकनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । कोरोना कहर र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायांकन भइरहेको छ । गुरुङले माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिने जनाएको बताए । जिल्लामा चलचित्र छायांकनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायांकारको टोली आएको थियो । यस चलचित्र छायांकनले कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया