इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय सत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र दसैँको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पुर्याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत शुक्रबार राति झिझिया नाँचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए ।

गाउँकै जनता नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया