पनौती–११ नमुना वडाको रूपमा स्थापित हुँदै

काभ्रे । पनौती नगरपालिका–११, बल्थलीमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पोषिलो खाना व्यवस्थापनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिकाको बल्थलीमा रहेका गर्भवती तथा सुत्केरीहरप्रति चासो राख्दै बालमैत्री स्थानीय शासन वडा समितिले कार्यक्रम सञ्चालन गरेको थियो । बालमैत्री नगरपालिका घोषणा पश्चात बाल बचाऊँ अभियानलाई सघाउ पु¥याउनका लागि सुनौला हजार दिनसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो । गर्भवती भएदेखि सुत्केरी पश्चात बालबालिका दुई वर्षको नभएसम्म आमा र बच्चा दुवैको स्वास्थ्य र पोषणसँग सम्बन्धित रहेर स्वास्थ्य स्याहार गर्नुपर्ने सुनौला हजार दिनको अवधारणा र बालमैत्रीको बाल बचाउँ सूचकसँग मिट गर्दै गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पोषिलो खाना व्यवस्थापनमा व्यक्ति, परिवार, समाज र स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो ।

पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान लामाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा समिति, स्वास्थ्यचौकी कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती तथा सुत्केरीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले परिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोले गर्भवती र सुत्केरीलाई विशेष रूपमा ध्यान दिँदै पोषिलो आहाराको व्यवस्थापनमा समयमै ध्यान पु¥याउन सुझाव दिएका थिए । वडाध्यक्ष तारामान लामाले वडाका महिलाहरूका लागि वडा कार्यालयले विशेष रूपमा प्राथमिकता दिने विचार व्यक्त गर्दै गर्भवती महिलाहरूलाई कम्तीमा चारपटक गर्भ जाँचमा जोड दिन आग्रह गर्दै जाँच गर्न आउने गर्भवतीहरूलाई प्रत्येक सेड्युल भिजिटमा पोषिलो आहारा वितरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

बालमैत्री अभियानकर्मी तथा समुदाय परिचालक कोकिल गिरीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उनले बालमैत्री निर्देशिका २०७८ को बाल बचाउअन्तर्गत थप भएका सूचकहरूको बारेमा समेत जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । वडामा बाल संजाल र बालक्लबहरू गठन गरेर बालबालिकाहरूको अधिकारसँग सम्बन्धित रहेर बेलाबेलामा कार्यक्रम हुँदै आएको छ ।

कार्यक्रममा बल्थली स्वास्थ्यचौकी प्रमुख दिनमान गुर्मछानले सुनौला हजार दिनका बारेमा जानकारी गराउँदै बालमैत्री स्थानीय शासन वडा समितिले महिलाहरूको लागि चासो देखाएर यस्ता कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए । गर्भवती तथा सुत्केरीलाई पोषण र स्वास्थ्य स्याहारको महत्वपूर्ण भूमिका रहेको समेत जानकारी गराए । साथै बल्थलीवासी १८ वर्ष माथिका ८५ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको जानकारी गराए । साथै खोप लगाउन बाँकी रहेका नागरिकलाई छिटोभन्दा छिटो स्वास्थ्यचौकीमा गई खोप लगाउन आह्वान गरे ।

वडासचिव मिठाराम हुमागाईंका अनुसार गर्भवती र सुत्केरीका लागि वडा कार्यालयले अघिल्लो वर्ष पनि पोषण प्याकेज वितरण गरेको र यसले गर्भ जाँच बढ्ने विश्वास रहेकोसमेत बताए । स्वास्थ्यचौकीका अनमी सिमा भुसालले मातृमृत्यु विषयमा जानकारी गराउँदै आफ्नो टोलमा यस्ता घटना भएमा तुरुन्त जानकारी गराउनुपर्ने बताइन् । अहिले चलिरहेको राष्ट्रिय जनगणनामा समेत मातृमृत्युको विवरण समाविष्ट हुनेगरी तथ्यांक फारम भएको जानकारी गराइन् ।

प्रतिक्रिया